म्याग्दी खण्डको काम सुचारु

|

पर्वत : रुख काट्ने आदेश नपाउँदा निर्माण कार्य प्रभावित भएको दाना-खुर्कोट कालीगण्डकी प्रशारण करिडोरको काम सुचारु भएको छ। म्याग्दी र पर्वतका डिभिजन वन कार्यालयमा रुख कटान आदेशको फाइल रोकिदाँ राष्ट्रिय प्राथमिकता प्राप्त प्रशारण लाइन आयोजना प्रभावित बनेकोमा म्याग्दी जिल्लाको काम भने रुख कटान आदेश पाएसंगै सुचारु भएको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए। 

करिडोर अन्तर्गत २२० केभी क्षमताको म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्म प्रसारण लाइन निर्माणका अक्रममा आयोजनाले वन क्षेत्रमा ओगट्ने क्षेत्रफल बराबरको सट्टा जग्गा उपलब्ध गराउनुपर्ने सम्झौता कार्यान्वयन नगरेकाले कटान आदेश पाउन ढिलाई हुँदै आएको थियो। आयोजनाले सट्टा जग्गा उपलब्ध गराउन नसके बिरुवा रोप्न र हुर्काउनको लागि लाग्ने खर्च समेत हिसाब गरी सट्टा जग्गाको मूल्य उपलब्ध गराउन पाउने भएपछि डिभिजन वन कार्यालय म्याग्दीले आयोजना निर्माणको क्रममा पर्ने रुख कटानको लागि आदेश दिएको हो।

रुख कटान आदेशको फाइल रोकिदाँ राष्ट्रिय प्राथमिकता प्राप्त प्रशारण लाइन आयोजना काम प्रभावित बनेको थियो। म्याग्दीमा ३० वटा टावर निर्माण हुने वन क्षेत्रको २.५८ हेक्टर जग्गा उपभोग गर्न दिने सरकारको निर्णय अनुसार डिभिजन वन कार्यालयले रुख कट्ने अनुमति दिएको हो। म्याग्दीका ११ वटा सामुदायिक वनमा पर्ने चार हजार २०८ वटा रुख काट्ने आदेश दिएको डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले बताए।

 म्याग्दी जिल्लामा पर्ने रुख कटानको लागि अनुमति पाएपनि पर्वत जिल्लाको लागि भने आयोजनाले रुख काट्ने अनुमति पाएको छैन। आयोजना प्रमुख घोषका अनुसार पर्वतमा पनि कटान आदेशका लागि पहल भइरहेको छ। ‘आयोजनाले पहिलो चरणमा सट्टा जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।’ घोषले भने, ‘आदेश पाएसँगै म्याग्दीमा काम शुरु गरिसकेका छौँ। पर्वतमा पनि आदेशको लागि आवश्यक पहल भइरहेको छ।’ 

नेपाल विद्युत प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रीय ग्रिडमा जोड्नका लागि दाना र खुर्कोटमा सब स्टेशन राखेर ३९ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरिरहेको छ। एशियाली विकास बैंक (एडिबी) को सहयोगमा सन् २०१६ मा प्रसारण लाइन र सब स्टेशन निर्माण गर्न दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो।

हालसम्म आयोजनाको ७५ प्रतिशत काम पूरा भएको छ। खुर्कोटदेखि नवलपरासीको बर्दघाटसम्म दोस्रो चरणमा प्रसारण लाइनको पूर्वाधार बनाउने तयारी भइरहेको पनि बताइएको छ। 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.