|

अर्घाखाँची : वर्षौँदेखि खानेपानीबाट समस्या भोग्दै आएका अर्घाखाँचीको विकट क्षेत्र सिद्धारा लौरीका सर्वसाधारण यतिखेर निकै निकै खुशी छन्। कुवा पँधेरामा पुगेर एक गाग्रो पानी भरेर घरमा ल्याउन घण्टौँ  बिताउन बाध्य उनीहरू घरमै धारा जोडिएपछि हर्षित भएका हुन्।

पश्चिम नेपाल ग्रामिण खानेपानी संस्थाको ९० प्रतिशत र शीतगंगा नगरपालिकाको १० प्रतिशत गरी करिब एक करोड आर्थिक सहयोगमा गाउँमा खानेपानी पुगेपछि खुश भएका हुन्। जिल्लाको दुर्गम क्षेत्र सिद्घाराको लौरी, जौबारी, छहरे सोलार लिफ्ट खानेपानी योजनाबाट ५७ घर धुरी लाभान्वित भएको खानेपानी निर्माण समितीका अध्यक्ष दुर्गाबहादुर बिकले बताए। तल खोलाबाट करिब साढे तीन सय मिटर उचाइमा रहेको बस्तीमा सोलारले पानी तानेर गाँउमा ल्याइएको हो। 

पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र नगरप्रमुख सूर्यप्रसाद अधिकारीले संयुक्त रूपमा खानेपानीको उद्घाटन गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता रायमाझीले सिद्धाराको छरिएको बस्तीमा विकास गर्नुभन्दा खेतीयोग्य जमिन छनोट गरी छरिएको बस्तीलाई एकीकरण गर्नुपर्ने बताए।

नगरप्रमुख सूर्यप्रसाद अधिकारीले त्यहाँका नागरिकको खानेपानीको समस्या हल भएको देख्दा खुशी लागेको बताए। वडाध्यक्ष भीम केसीले लामो समयपछि भए पनि चुनाव ताका बोलेका कुरा पूरा भएको दाबी गरे। जिल्ला समन्वय समितिका उपसंयोजक ऋषिबहादुर रेश्मी मगरले गाँउमा पानी आएपछि सपना पूरा भएको बताए ।

घर घरमा धारा जोडिएका कारण समय बचत हुने भन्दै आयआर्जनको काममा लाग्ने स्थानीयले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.