दुर्गादेवीलाई निवेदन फिर्ता लिन मानवअधिकारकर्मीको दबाब [भिडियो]

|

काठमाडौं : निर्मला बलात्कार र हत्या प्रकरणमा प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा दर्ता भएको मुद्दा बदर गर्न माग गर्दै निर्मलाकी आमा दुर्गादेवी पन्तले अर्को निवेदन दिएकी छिन्।

निर्मलाकी आमाले प्रहरीले केही सामान्य कमजोरी गरेको तर नियतवश प्रहरी अधिकारीहरूले प्रमाण नै नष्ट नगरेकाले मुद्दा फिर्ता गरिपाऊँ भनेर निवेदन दिएको अदालत स्रोतले जनाएको छ।

तर, मानवअधिकारकर्मी इन्द्र अर्याल लगायतको समूहले निर्मलाकी आमा दुर्गा देवीलाई निवेदन फिर्ता लिन घरमै पुगेर दबाब दिएको भिडियो सार्वजनिक भएको छ। निर्मलाकी आमाले प्रहरीविरुद्धको मुद्दा फिर्ता लिन निवेदन दिएपछि प्रहरीहरूलाई पनि कारबाही हुनपर्ने भन्दै उक्त निवेदन फिर्ता लिन उक्त समूहले दबाब दिएको हो।

यसअघि फागुन २३ मा निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तलाई यातना दिएको प्रमाण सुरक्षित नराखेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलीपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। कञ्चनपुर प्रहरीका अनुसार निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका दिलीपसिंह विष्टलाई प्रहरी हिरासदमा रहँदा यातना दिएको हत्या स्वीकार गर्न लगाएको आरोपमा एसपी विष्ट, तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्का त्यस्तै तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरू हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध समेत मुद्दा दायर भएको थियो।

हाल एसपी विष्ट र डिएसपी जिसी बाहेकका ६ जना कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका छन्।

साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। हालसम्म प्रहरीले निर्मलाको हत्यारा पत्ता लगाउन सकेको छैन। हाल निर्मला हत्याको अनुसन्धान अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.