|

भक्तपुर : इतिहासविद् र संस्कृतिविदहरूले भक्तपुरको भाज्या पुखु (पोखरी) काठमाडौंको रानीपोखरी भन्दा पाँच सय वर्ष पुरानो भएको दाबी गरेका छन्। उनीहरुले काठमाडौंको रानीपोखरी भाजु पोखरीले परिचित भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित भाज्या पुखुको नक्कल भएको दाबी गरेका छन्।

भक्तपुर नगरपालिकाको सोमवार आयोजना गरेको ऐतिहासिक भाज्या पोखरी जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदनसम्बन्धी अन्तरक्रियामा इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले १२ औँ शताब्दीमा बनेको भाज्या पोखरीको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै इतिहास विज्ञानसम्मत हुने र अध्ययन–अनुसन्धानले रानी पोखरी र भाज्या पोखरीले एकले अर्कोलाई हेर्ने ऐनाको रूपमा प्रस्तुत भएको बताए। 

भाज्या पोखरी काठमाडौंको रानी पोखरीभन्दा करिब पाँच सय वर्ष पुरानो अनुसन्धानले देखाएको बताउँदै प्रा. डा. श्रेष्ठले पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रस्ट पारे।

‘भाज्या पुखुको अन्वेषण र उत्खनन हुनु अघिसम्म हामीलाई पनि लागेको थियो कि वास्तुशैली उस्तै मिलेकाले कान्तिपुरको रानीपोखरी (ने.सं.७९०÷वि.सं.१७२७))बाट प्रेरित भएर भाज्या पुखु बनेको हुनुपर्छ। तर भाज्या पुखु रानीपोखरीभन्दा पनि करीब पाँचसय वर्ष पुरानो देखिन आयो’, उनले भने, ‘नेपालमण्डलको राजनैतिक विभाजनपछि स्वतन्त्र राज्यका रूपमा देखापरेका तीन मल्लराज्यबीच एकले अर्कोलाई उछिन्ने कलाकृति बनाउने प्रतिस्पधा चल्यो। कान्तिपुरको रानीपोखरी पनि त्यस कुराको एउटा सुन्दर उदाहरण हो। राजनीतिले राज्यलाई विखण्डन गर्न सक्छ, संस्कृति र संस्कारलाई होइन।’

आफ्नो मूल बासस्थानका उच्चतम देवीदेवताहरूका प्रतिरूपहरूलाई ललितपुर र कान्तिपुरका मल्ल राजाहरूले आ–आफ्नो राज्यमा प्रतिष्ठापित गर्दै लग्ने क्रममा राजा प्रताप मल्लले आफ्नो पुर्खाको मूल थलोको भाज्या पुखुलाई हेरेर त्यस्तै, तर त्यो भन्दा  दुई गुना ठूलो हुने गरी रानीपोखरी बनाएको प्रा. डा. श्रेष्ठले दाबी गरे।

प्रा.डा. मोहनमूर्ति पन्थले भाज्या पोखरीको मौलिक र विशिष्ट स्थान रहेको उल्लेख गर्दै १२औँ शताब्दीका मौलिक शैलीमा निर्मित विभिन्न ठाउँको वस्तुहरुको सोधखोज गरी त्यसको आधारमा पोखरी र पोखरीबीचको मन्दिर निर्माण अघि बढाउनु पर्ने बताए।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भाज्या पुखुको अन्तिम प्रतिवेदन प्राप्त भएपछि पुस्तक प्रकाशन गर्न आग्रह गर्दै सम्पदा संरक्षणसँगै भाषिक संस्कार र संस्कृति उजागर गर्ने अनुसन्धानमा जोड दिनुपर्ने बताए। कार्यक्रममा पुरातत्त्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहालले पुरानै आकारप्रकारका इँटा बनाउन लगाई मौलिकता जोगाउनेतर्फ ध्यान दिनु उचित भएको सुझाव दिए। 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सिद्धपोखरी जीर्णोद्धारको अनुभवलाई ध्यानमा राखी पानी चुहिने सम्भावना भएका पोखरीका छेउमा कालोमाटो भर्ने र पोखरीको बिच भागमा भएको मन्दिरबारे अध्ययन–अनुसन्धानमा ध्यान दिएको बताए। प्रमुख प्रजापतिले भाज्या पुखु काठमाडौंको रानी पोखरीबाट प्रभावित भएर भाजु कसले बनाएको किंवदन्ती भए पनि भाज्या पोखरी काठमाडौंको रानी पोखरीभन्दा करिब ५०० वर्ष पुरानो देखिएको प्रतिवेदनमा उल्लेखित बुँदाबारे थप छलफलको आवश्यकता रहेको बताए। 

ऐतिहासिक भाज्या पोखरी जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदनले भाज्या पोखरीको नयाँ इतिहास सुरु हुने बताउँदैं प्रमुख प्रजापतिले अध्ययन–अनुसन्धानबाट पत्ता लागेअनुरुप गुणस्तरीय ढंगले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रमका प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सरकारहरूले सम्पदा संरक्षणमा ध्यान नदिंदा वा संरक्षण नगर्दा कयौं सम्पदाहरू लोप भइसकेको बताउँदैं पोखरी, पाटी–पौवा, सत्तललाई समेत निजी बनाउने र सार्वजनिक सम्पदाहरू तथा पर्ति जग्गाहरू किबचेन हुन थालेकोमा आपत्ति जनाए. सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार खर्चिलो र चुनौतीको विषय भएको भन्दै सांसद सुवालले मानव सभ्यताको विकासलाई जोडेर भाषा, सभ्यता र वास्तुकलाको संरक्षण आवश्यक भएको बताए।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नगरभरका पोखरी पुनःनिर्माण र जीर्णोद्धारको थालनी गरेको जानकारी दिँदै भाज्या पुखुको प्रारम्भिक प्रतिवेदनअनुरूप यसको पुनर्निर्माण कार्य अगाडि बढ्ने बताइन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भविष्यमा भक्तपुर विश्वको मौलिकता बोकेको सहर र अध्ययन अनुसन्धानका लागि उपयुक्त सहरको रूपमा विकास हुने धारणा राखे।

कार्यक्रममा पुरातत्व विभागका पूर्वनिर्देशक लक्ष्मणराज ज्ञवाली, गुठी संस्थानका निर्देशक मीनराज चौधरी, पुरातत्व विभागका प्रमुख हरि सुवेदी, प्रेमसिंह बस्न्यात र दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका प्रतिनिधि कल्पना प्रजापति, भक्तपुर नगरपालिका ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भाज्या पोखरीको ऐतिहासिक पक्षको संरक्षणमा जोड दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.