|
प्रतीकात्मक फोटो

धनगढी : केही समयअघि कैलाली, धनगढीका व्यापारी भवानीसिंह भण्डारीको फेसबुक ह्याक भयो। उनको फेसबुकबाट अश्लील तस्बिर र स्टाटसहरू पोस्ट भए। उनका साथीहरूलाई पनि त्यही फेसबुकमार्फत आपत्तिजनक तस्बिरहरू पठाइयो। भण्डारीले भने, ‘श्रीमती र म सँगै हुँदा मेरो फेसबुकबाट श्रीमतीलाई म्यासेज आयो, हामी दंग पर्‍यौँ। त्यति नै बेला कसैले मेरो फेसबुक चलाएको शंका लाग्यो र हामीले प्रहरीलाई निवेदन दियौँ।’

त्योभन्दा पहिले धनगढीका अर्का व्यापारी श्याम विष्टको फेसबुक पनि ह्याक भएको थियो। विष्टको फेसबुक एकाउन्ट प्रयोग गरेर उनका साथीहरूलाई रिचार्ज कार्ड माग गरिएको थियो। यस विषयमा विष्टले धेरै पछि थाहा पाए। ‘एकजना भाइले दाइ अस्ति तपाईंलाई २ हजारको रिचार्ज पठाइदिएको थिएँ भनेपछि बल्ल मैले मेरो फेसबुक ह्याक भएको थाहा पाएँ’ विष्टले सुनाए।

उनले यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिए। निवेदन दिएको ६ महिना बितिसक्दा पनि उनको फेसबुक कसले प्रयोग गर्‍यो र त्यसबाट कति रकम ठगी भयो भन्नेबारे प्रहरीले पत्ता लगाउन सकेको छैन। ‘मैले पहिलेको एसपी सापलाई जानकारी गराएको थिएँ। उहाँले बुझ्दै छु भन्नुहुन्थ्यो’ विष्टले भने, ‘अहिले एसपी फेरिनुभएको छ, मेरो विषयमा के भइरहेको छ मैले जानकारी पाएको छैन।’

त्यही समयमा उसु खेलका प्रशिक्षक रतन खातीको पनि फेसबुक ह्याक भएको थियो। उनले पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दर्ता गराए। उनको विषयमा पनि प्रहरीले केही पत्ता लगाउन सकेको छैन।

२५ दिन पहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा साइबर क्राइमको निवेदन दर्ता गराएका भण्डारी हुन् या ६ महिना पहिलेका विष्ट र खाती सबै अहिलेसम्म कसले कसरी फेसबुक ह्याक गर्‍यो भन्ने विषयमा अनविज्ञ छन्। व्यापारी भण्डारीको फेसबुक त अहिले पनि ह्याक भइरहेको छ। उनले भने, ‘महिनौँ पहिलेबाट अरूले आफ्नो फेसबुक चलाएको थाहा पाएपछि मैले नयाँ फेसबुक खोलेँ। त्यो पुरानो मेरो फेसबुक एकाउन्ट अहिले पनि निसान मगरको नाममा सञ्चालन भइरहेको छ।’

प्रहरीमा निवेदनको चाङ थपिँदै

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै कैलालीमा साइबर अपराधका घटनाहरू बढ्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा पछिल्लो ७ महिनायता १३ वटा साइबर अपराधसँग सम्बन्धित  निवेदन दर्ता भएका छन्।

यस्ता घटनासँग सम्बन्धित निवेदनहरू बढिरहेको प्रहरी तथ्यांकमा उल्लेख गरिएको छ। आर्थिक वर्ष ७१/७२ मा ८ वटा निवेदन परेको  जिल्ला प्रहरी कार्यालयमा ०७२/०७३ मा १३ वटा, ०७३/०७४मा १५ वटा र गत आर्थिक वर्षमा १६ वटा निवेदन दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा मात्रै पछिल्लो ५ वर्षको अवधिमा ६५ वटा साइबर अपराधसँग सम्बन्धित निवेदन दर्ता भएका छन्। अधिकांशमा फेसबुक ब्लक गर्नेबाहेकको कारबाही भएको छैन।

निरीह प्रहरी

साइबर अपराधमा अनुसन्धान मात्रै होइन जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दासमेत दर्ता हुँदैन। काठमाडौं जिल्ला अदालतबाहेक अन्य क्षेत्रमा साइबर अपराधसँग सम्बन्धित मुद्दा दर्ता नहुने भएका कारण यसमा संलग्नहरू सहजै उम्किने गरेको प्रहरी आफैँ स्वीकार्छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले साइबर अपराधमा आफूहरूलाई अधिकार नभएको बताए। उनले भने, ‘हामीलाई अधिकार भएको भए अनुसन्धान गर्ने थियौँ। पीडित आउनेबित्तिकै हामी यहाँ मुद्दा दर्ता गर्न मिल्दैन, काठमाडौं जिल्ला अदालत जानुहोस् भन्छौँ।’

उनले जिल्ला प्रहरी कार्यालयले पीडितलाई कानुन सहजता मात्रै गर्न सक्ने बताए। उनले भने, ‘पीडितलाई सम्बन्धित निकायमा जान अनुरोध गर्छौं तर, उताबाट पक्राउ गरेर पठाउन भनेको व्यक्तिलाई हामी पक्राउ गरेर पठाउँछौँ।’

साइबर अपराधसँग मुद्दा दर्ता गर्न झन्झटिलो प्रक्रिया भएका कारण अधिकांश अपराधहरू पत्ता नलाग्ने गरेको प्रहरीको भनाइ छ। उनले आफूहरूलाई यो अधिकार दिए यस्ता घटनाहरू नियन्त्रण गर्ने दाबी   गरे। ‘झन्झटिलो हुँदा पीडित आफैँ त्यहाँसम्म जान चाहँदैनन्’ प्रहरी प्रमुख तिम्सिनाले भने, ‘भोलि हामीले मुद्दा दर्ता गर्न पाउने र यहाँबाट अनुसन्धान गर्न मिल्ने गरी अधिकार प्रत्यायोजन गरेर आयो भने हामी पनि लाग्नेछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.