|

काठमाडौं : उपत्यकाका विभिन्न ठाउँमा दिनदिनै हुने चोरीका घटना समान्य बन्दै गएका छन्। तर, शुक्रबार प्रहरीले व्यापारिक घरानाका पोद्धार समूहको नाम लिएर दिनभर रेकी गर्ने र राति आफ्नै गाडी, ट्याक्सी र मोटरसाइकल प्रयोग गरेर चोरी गर्ने एक भारतीय समूहलाई पक्राउपछि सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भई हाल काठमाडौं पुरानो बानेश्वर डेरा गरी बस्ने ३५ वर्षीय पारस प्रसाद, ३२ वर्षीय सन्तोष पोद्दार र रामेछाप सुनापाती–५ घर भएका ३२ वर्षीय ओमराज श्रेष्ठ रहेका छन्। समूहका अन्य चार जना भने फरार रहेको प्रहरीको भनाइ छ। उनीहरूलाई प्रहरीले फागुन २८ मा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले जानकारी दिए।

उनीहरूले चोरी गरेका बाथरुम तथा धारामा प्रयोग गरिने सामान, चाँदीका विभिन्न किसिमका भाडाकुँडा ९ किलो ५ सय ग्राम र पचास हजारभन्दा बढी नगद रुपैयाँ तथा सामान चोरी गर्ने प्रयोग भएको बा १४ च ७२६९ नम्बरको भ्यान, बा १ ज ११९३ नम्बरको ट्याक्सी र बा ८० प १५४० नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ। एसपी सिंहका अनुसार उनीहरूले चोरी गरेको सामानको मूल्य ७० लाख बराबरको रहेको बताए।

यसरी परे प्रहरीको फन्दामा

काठमाडौं धुम्बाराहीस्थित दीपक श्रेष्ठको घरमा रहेको कर्णप्रसाद चौलागाईले सञ्‍चालन गरेको रिजन इन्टरप्राजेज हार्डवेयर पसलबाट फागुन २१ गते साँझ ८: ३० मा चोरी हुन्छ। सटरमा प्रयोग गरेको ताल्चा नै फोडेर उनीहरूले चोरी गरेका थिए। चौलागाईंको पसलबाट चोरी गर्ने समूहले विभिन्न कम्पनीका धारा तथा अन्य हार्डवेयरका सामग्री लिएका थिए।

चोरी गरेका सामान ट्याक्सीमा हालेर लगेको उजुरी चौलागाईंले  दिएपछि प्रहरीले अनुसन्धानलाई गम्भीरताका साथ लियो। घटनाको अनुसन्धानमा महाराजगंजका प्रहरी नायव उपरीक्षक (डिएसपी) फणिन्द्र प्रसाई आफैँ लागेका थिए। प्रसाईंले २१ गते ८:३० बजे उक्त रुट हुँदै चलेका ट्याक्सीको निगरानी गरे उक्त समयमा चलेका ट्याक्सीलाई सिसी क्यामेरामा हेरे। प्रसाई‌ंका अनुसार उक्त समयमा १० वटा ट्याक्सी चलेको पाएपछि १० ट्याक्सीको नम्बर हेर्दै चालकसम्म पुगे।

१० वटा ट्याक्सी चालकलाई प्रहरी कार्यालयमा बोलाएर अनुसन्धान गर्दा बा१ज ११९२ नम्बरको ट्याक्सी चालकमाथि शंका लागेपछि उनलाई नियन्त्रणमा लिएका थिए। पछि अनुसन्धान गर्दै जाँदा उनको बयानअनुसार काठमाडौं महानगरपालिका-३१ डेरा गरी बस्ने पारसप्रसाद र सन्तोष पोद्दार रहेको खुलेको हो।

प्रहरीका अनुसार पारस प्रसादको समूह चार वर्षदेखि चोरीमा संलग्न रहेको खुलेको छ। चोरीमा प्रयोग भएका भ्यान, ट्याक्सी र मोटरसाइकलसमेत उनीहरूकै रहेको प्रसाईंले बताए।

यस्तो थियो चोरीको काइदा

प्रहरीका अनुसार उक्त समूहले उपत्यकाका विभिन्न ठाउँमा रहेका हार्डवेयर ज्वेलर्स लगायतका पसलहरूमा दिनभर ग्राहक बनेर जाने गर्थे। विभिन्न वहानामा पसलभित्रै पसेर सामानको रेकीसमेत गरेर फर्किने गरेका थिए। अनि राति फोड्न सजिलो पसलहरूमा भ्यान, ट्याक्सी र मोटरसाइकलमा ताल्चा फोड्ने औजार लिएर जाने गरेको प्रहरीको भनाइ छ। चोरीपछिको सामान ट्याक्सी र भ्यानमा राखेर गोदाममा पुर्‍याउने गरेको डिएसपी प्रसाईंले बताए। पारसप्रसाद बस्ने घरनजिकै चोरीका सामान राख्ने गोदामसमेत बनाएको प्रहरीको भनाइ छ।

प्रहरीले गोदामबाटै उक्त सामान बरामद गरेको हो। डिएसपी प्रसाईंका अनुसार उनीहरूले चोरी गरेरै काठमाडौंमा घडेरीसमेत किनेको खुल्न आएको र यसबारे थप अनुसन्धान भइरहेको बताए। चोरीमा संलग्नमाथि संगठित चोरी र डकैती मुद्दा दर्ता गरी अनुसन्धान गरिने प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.