कस्ता कस्ता व्यक्ति छन् त आवेदन दिनेहरूमा

|

उदयपुर : पूर्ण रूपमा नेपाल सरकारको स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक बन्न १५ जनाको आवेदन परेको छ। गएको माघदेखि महाप्रबन्धकविहीन भएको उद्योगमा वाणिज्य तथा आपूर्ति उद्योग मन्त्रालयले खोलेको विज्ञापनमा १५ जनाको आवेदन परेको हो। 

मन्त्रालयका अनुसार महाप्रबन्धक पदमा आवेदन दिनेहरूमा रामबाबु साह, धुर्मुस देवकोटा, विनोद अधिकारी, अनिलकुमार झा, रामधिन यादव, मनप्रसाद न्याउपाने, शम्भुप्रसाद घिमिरे, डाक्टर जनकबहादुर चन्द, टेकबहादुर राउत, तारानाथ पौडेल, हरेराम फुयाँल, रामदेव यादव, रामसागर यादव, परमेश घिमिरे र उद्धवप्रसाद तिमिल्सिना रहेका छन्। 

दुईजना सरकारी सिमेन्ट उद्योगमा कार्यरत कर्मचारी

आवेदन दिनेमध्ये रामबाबु साह र धुर्मुस देवकोटा सरकारी सिमेन्ट उद्योगमै कार्यरत कर्मचारी हुन्। हेटौंडा सिमेन्ट उद्योगको खरिद विभागका प्रमुख साह हुन् भने देवकोटा उदयपुर सिमेन्ट उद्योगका ११ औँ तहका प्रशासन प्रमुख कर्मचारी हुन्। ‘मैले सिमेन्ट उद्योग चिनेको छु। सिमेन्टले मलाई चिनेको छ', साहले भने, ‘मन्त्रीको आग्रहमा उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा आवेदन दिएको हुँ।’ यसैगरी देवकोटाले २७ वर्षदेखि उदयपुर सिमेन्ट उद्योगमा काम गरेको अनुभवसहित महाप्रबन्धक बने नेतृत्व गर्न सक्ने दाबी गर्छन्।

‘हामी उदयपुर सिमेन्ट उद्योगमा भएका धेरै साथीहरूसँग सल्लाह गरेर आवेदन दिएको हुँ,’ देवकोटाले भने, ‘सरकारी उद्योगलाई थप मजबुत बनाउँदै लाने योजना छ, म त्यहाँको लोकल नै हुँ।’

महाप्रबन्धक झा पुन दोहोरिने प्रयासमा

आवेदन दिने १५ जनामध्ये अनिलकुमार झा पुन दोस्रोपटक महाप्रबन्धक बन्ने प्रयासमा छन्। झा २०६६ देखि ०६८ सालम्मको दुईवर्षे अवधिमा महाप्रबन्धक बनिसकेका हुन्। झा महाप्रबन्धक ‘म पुरानो महाप्रबन्धक पनि हुँ,’ उनले भने, ‘मैले पहिला सोचेअनुसार काम गर्न पाइनँ। अब एकपटक मौका पाउँछु कि भन्ने आसमा छु।’

मन्त्रीसँग संवैधानिक आयोगमा मागेको, उद्योगमा आवेदन दिन लगाए 

महाप्रबन्धकमा आवेदन दिनेमध्ये रमाधीन यादव रिटायार्ड निजामती कर्मचारी हुन्। उनी सहसचिव हुन्। थाहा खबरको कुराकानीमा उनले भने, ‘माननीय वाणिज्य आपूर्ति उद्योगमन्त्री मातृका यादवसँग संवैधानिक आयोगमा काम गर्न इच्छा राखेको थिए। उहाँले नै उदयपुर सिमेन्ट उद्योगमा आवेदन दिन लगाउनुभयो।’

'पार्टीकै सरकार भएकाले आवेदन दिएँ' 

आवेदन दिनेहरूमध्ये टेकबहादुर राउत, परमेश घिमिरे र रामदेव यादवले पार्टीकै सरकार भएकाले महाप्रबन्धको लागि आवेदन दिएको थाहा खबरको कुराकानीमा बताएका छन्। राउत उदयपुरकै त्रियुगा जनता बहुमुखी बहुमुखी क्याम्पसमा प्राध्यापक हुन् भने घिमिरे पूर्व-नेकपा एमाले उदयपुरका जिल्ला सचिव हुन्। उता यादव मन्त्री मातृका यादवको निर्वाचन क्षेत्रकै पूर्व-नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन्।

‘पहिला उदयपुर सिमेन्टको व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि पनि पूर्व-एमालेबाट सिफारिसमा परेको व्यक्ति हुँ। एमालेको कार्यकर्ता पनि हुँ,’ राउतले भने, ‘पार्टीकै सरकार भएकाले महाप्रबन्धकको लागि आवेदन दिएको हुँ।' यता मन्त्री मातृकाकै निर्वाचन क्षेत्रका यादव पनि पूर्व माओवादी केन्द्रकै कार्यकर्ता भएकाले आवेदन दिएको बताउँछन्। ‘पार्टीमा सहयोग गरेको छु’, उनले भने, ‘महाप्रबन्धक बन्छु भन्ने आशाले दिएको हुँ। बैंकिङ क्षेत्रमा लामो समयमा काम गरेको मान्छे हुँ।’ 

घिमिरेले बायोडाटा पुगेकाले आवेदन दिएको बताए। ‘सिमेन्ट उद्योगभन्दा पनि मेरो पहिलो प्राथमिकता पार्टी हो’, उनले भने, ‘पार्टीले दिएको जिम्मेवारअनुसार काम गर्नेछु।’

निजी सिमेन्टका म्यानेजरदेखि एन्जिओका जागिरेसम्मको आवेदन

महाप्रबन्धको लागि आवेदन दिनेहरूमा विभिन्न क्षेत्रमा अनुभव संगालेका उम्मेदवारहरू रहेका छन्। विनोद अधिकारी सर्वौत्म सिमेन्टका सिनियर जनरल म्यानेजर भएको बताउँछन्। यसै गरी हरेराम शर्मा नेपालकै एक गैरसरकारी संस्था वा एनजिओमा कार्यरत कर्मचारी भएको बताउँछन्। ‘म एक एनजिओमा कार्यरत कर्मचारी हुँ,’ उनले भने, ‘बायोडाटा पुगेकाले फर्म भरेको हुँ, उगोलाई आवश्यक पर्ने धेरै ज्ञान मसँग छ।’

तारानाथ पौडेल नेपाल सरकारको सिंचाई विभागमा ३० वर्ष काम गरेका सिभिल इन्जिनियर हुन्। यता शम्भुप्रसाद घिमिरेले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रसँग जोडिएर काम गरेको दाबी गर्छन्। मनप्रसाद न्याउपाने, डाक्टर जनकबहादुर चन्द, रासागर यादव, उद्धवप्रसाद तिम्सिना समेत रहेका छन्।

यी हुन् ०४४ देखि ०७५ सम्मका महाप्रबन्धक 

उदयपुर सिमेन्ट उद्योग २०४४ सालमा स्थापना भएको हो। अहिले ३१ वर्ष भित्र २२ जना महाप्रबन्धकले काम गरिसकेका छन्। 

लवकुमार देव ०४४ देखि ४८ सम्म

गोपाल सिंह थापा ०४८ देखि ०५२ सम्म

मदनप्रकाश परियार ०५२ देखि ०५३ सम्म

किरणराज पौडेल ०५३ देखि ०५३ सम्म दुई महिना

मदनप्रसाद परियार ०५४ देखि २०५५ सम्म

देवेन्द्रप्रसाद सिटौला ०५५ देखि ०५५ सम्म पाँच महिना

तेजकान्त झा ०५५ देखि ०५७ सम्म

अशोकप्रसाद मल्ल ०५७ देखि ०५९ सम्म 

कृष्णकुमार थपलिया ०५९ देखि ०५९ सम्म आठ महिना

प्रर्वणलाल श्रेष्ठ ०५९ देखि ६० सम्म तीन महिना

कृष्णकुमार न्याउपाने ०६० देखि ०६० सम्म दुई महिना

अशोकप्रसाद मल्ल ०६० देखि ६२ सम्म

नरेन्द्रराज बस्नेत ०६२ देखि ०६२ सम्म ढेडमहिना

सर्वोजितप्रसाद महतो ०६२ देखि०६२ सम्म तीन महिना

तेजकान्त झा ०६३ देखि ०६४ सम्म

कृष्णचन्द्र झा ०६४ देखि  ०६५ सम्म

उद्धवबहादुर कार्की ०६५ देखि ०६६ सम्म

अनिलकुमार झा ०६६ देखि ०६८ सम्म

सुरेन्द्र चौरासिया ०६८ देखि ०७० सम्म

विश्वराज कोइराला ०७० देखि ०७० सम्म तीन महिना

नवलकिशोर साह ०७० देखि ०७१ सम्म निमित्त

सुरेन्द्रकुमार पौडेल ०७१ देखि २०७५ सम्म र ०७५ माघसम्म

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.