लेखा अधिकृतको कोठाबाट २४ लाख ९२ हजार बरामद

|

बारा : बारा–पर्साको मालपोत कार्यालयमा अख्यितारको टोलीले निगरानी बढाएको छ। टोली यहाँ बसेर कार्यालयको गतिविधि र कर्मचारीको निगरानीमा जुटेको हो। सोही क्रममा शंकास्पद व्यक्तिलाई समेत नियन्त्रणमा लिइरहेको छ।

मालपोत कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिइसकेको टोलीले सोमबार तीन जनालाई नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार टोलीले अहिले पनि यी जिल्लामा खटेर सुक्ष्म अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै क्रमममा तीन जनालाई नियन्त्रणमा लिएर मंगलबार काठमाडौं पठाएको छ।

भूमि सुधार तथा मालपोत कार्यालय कलैयामा पुगेको टोलीले कार्यालयका लेखा प्रमुख युगलकिशोर ठाकुरसँग दुई घण्टासम्म सोधपुछ गरेको कार्यालय प्रमुख राजेश्वरी त्रिवेदीले जानकारी दिए। ‘छलफलपछि टोलीसँगै ठाकुरजीको कोठामा गएको थाहा छ,’ प्रमुख त्रिवेदीले भने–‘सञ्चारमाध्यमबाट नियन्त्रणमा लिएर काठमाडौं लगिएको बुझेको छु।’

लेखा अधिकृतको कोठामा २४ लाख ९२ हजार

टोलीले लेखा प्रमुख ठाकुरको डेराबाट २४ लाख ९२ हजार रकम बरामद गरेको छ। आयोगबाट खटिएका प्रहरी निरीक्षक लक्ष्मण खड्को टोलीले  लेखाप्रमुख ठाकुरलाई सोमबार साँझ श्रोत नखुलेको २४ लाख ९२ हजार नगद रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

अनुसन्धानकै लागि भन्दै आयोगले सिमरा मालपोतका सुब्बा सत्रुर्द्धन पटेल, प्रमुख गुप्ताका निजी सवारी चालकलाई पक्राउ गरी उनको घरबाट कलैया र सिमरा मालपोत कार्यालयका दुई बोरा कागजपत्रहरूसमेत नियन्त्रणमा लिएको छ।

मालपोत कार्यालय सिमराका प्रमुख गुप्ताको अनुसन्धानका क्रममा उनले गरेका गैह्कानुनी गतिविधिहरू पर्साको वीरगञ्ज, बाराको कलैया र सिमरा मालपोत कार्यालयसँग जोडिएकाले छ।

राजस्व व्यक्तिको खातामा

नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने करोडौँ रकम मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ता र मालपोत कार्यालय कलैयाका लेखा प्रमुख युगलकिशोर ठाकुरको संयुक्त बैक खातामा जम्मा भएको भेटिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा प्रमुख  ठाकुरलाई पक्रउ गरेपछि अनुसन्धानका क्रममा सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने रकम गुप्ता र ठाकुरको बैंक खातामा भेटिएको हो।

कलैया मालपोत  कार्यलयका लेखाप्रमुख ठाकुरले यसअघि २०७५ पुष मसान्तसम्म सिमरा मालपोत कार्यालयको लेखा प्रमुखको समेत जिम्मेवारी सम्हाल्दै आएका थिए। अनुसन्धानका क्रममा ठाकुर र गुप्ताको  मिलेमतो भेटेपछि आयोगले उनीहरूको बैक खातासमेत चेकजाँच गरेको थियो।

 गैह्रकानुनी क्रियाकलापमा ठाकुर र गुप्ताको अत्यन्त निकटको सम्बन्ध  देखेपछि बैंक खाता चेक जाँच गर्दा नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने करोडौँ  रुपयाँ  ठाकुर र गुप्ताको  व्यक्तिगत खातामा जम्मा भएको भेटिएको आयोगले जनाएको छ।

सिमरा प्रमुख फरार

मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्तालाई अख्तियारले खोजिरहेको छ। उनी कार्यालय आउन छाडेका छन्। उनले प्रयोग गर्दै आएको मोबाइलसमेत 'स्वीच अफ' छ। प्रमुख गुप्ता भारततर्फ लागेको अख्तियार टोलीको आशंका छ। ‘प्रमुख गुप्तालाई खोजिरहको छौँ’, अख्तियार स्रोतले भन्यो–‘फेला पर्नसाथ नियन्त्रणमा लिन्छौँ।’

अनुसन्धानका क्रममा लेखाप्रमुख ठाकुर रमालपोत कार्यालय सिमराका प्रमुख गुप्ताले लेखापढी व्यवसायी र जग्गा जग्गा दलालहरूसँग मिलेर   गैरकानुनी रूपमा जग्गा बेचबिखन गरी अकुत सम्पत्ति आर्जन गरेको भेटिएको आयोगले स्रोतको दाबी छ।

प्रशासनको चासो

मालपोत कार्यालय सिमरामा किर्ते कागज बनाएर जग्गा बेचबिखन गिरोहको सक्रियता बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले पनि छानबिन तथा कारवाहीको माग गर्दै फागुन २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको थियो। सोही पत्रका आधारमा आयोगको केन्द्रीय टोलीले फागुन ३० गते सिमरा मालपोत कार्यलयमा छापामारी अनुसन्धानका लागि सम्पूर्ण कागजपत्र अख्तियारको नियन्त्रणमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.