|

जनकपुरधाम : जनकपुरधाममा भएको बम विष्फोट काण्डमा दोषी ठहर गर्दै पूर्वमन्त्री संजय कुमार साह (टक्ला)लाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। झण्डै ६ वर्षअघि जनकपुरधामको रामानन्दचोकको रामानन्दद्वारमा भएको बम विष्फोटमा दोषी ठहर गर्दै तत्कालीन सांसदसमेत रहेका साहलाई जिल्ला अदालत धनुषाले बिहीबार जन्मकैदको फैसला सुनाएको हो।

अदालतबाट जन्मकैदको सजाय पाउनेमा सञ्जय साह ’टक्ला’सहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेश कुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेका छन्। हाल यी सबै कारागारमा विभिन्न मुद्दाहरूमा कारागारमा सजाय काटिरहेका छन्। 

विस २०६९ साल वैशाख १८ गते भएको विस्फोटमा जनकपुरधाम पाँच जनाको मृत्यु भएको थियो भने, १८ जना घाइते भएका थिए। विस्फोटमा रंगकर्मी कालाकार झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दास र रञ्जु झाको मृत्यु भएको थियो। उनीहरूले मिथिला राज्यको माग गर्दै रामानन्दचोकको रामानन्दद्वारमा धर्ना दिँदै आएको बेलामा बम विष्फोट भएको थियो।

धनुषा जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए। पूर्वराज्यमन्त्री साह २०६४ सालको चुनावमा विजय गच्छदार नेतृत्वका तत्कालीन फोरम लोकतान्त्रिक पार्टीबाट धनुषाको क्षेत्र नं. ४ बाट विजयी भएका थिए। यसैगरी, दोश्रो संविधानसभा चुनावमा राजेन्द्र महतो नेतृत्व सद्भावना पार्टीको तर्फबाट धनुषा क्षेत्र नं. ३ बाट विजयी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.