|

डोल्पा : धेरै मानिसले आफ्नो प्रगतिसँगै मानवीय धर्मसमेत भुल्छन्। कतिपयले आफू जन्मेको गाउँठाउँलाई चटक्कै माया मार्छन्। अझ दुर्गम ठाउँमा त जानसमेत नपरोस् भन्छन्। 

तर समाजमा यस्ता पात्र मात्र कहाँ छन् र! त्यस्तै अपवाद पात्र हुन् डा. मेलिना हमाल। उनी डोल्पामा जन्मिइन्। विद्यालय तह यहीँ पढिन्। समयक्रमसँगै उनी चिकित्सक बनिन्। अहिले यहीँ आएकी छन्। डोल्पालीको घाउमा मल्हम लगाउँछिन्। दर्दमा सहारा बनेकी छिन्।

आफ्नै जन्थलोको सेवा गरौँ भन्ने चाहना राखेर उनी डोल्ला आएकी हुन्। 'मलाई त आफ्नै जन्मथलो प्यारो लाग्छ। त्यसैले यहीँ आएको हुँ',उनले भनिन्। उनी बिरामीको सेवामा रमाउँछिन्। पेशाले चिकित्सक। अहिले जिल्ला अस्पताल डोल्पामा कार्यरत छिन्।

बिस २०५० साल मङ्सिर १३ गते त्रिपुरासुन्दरी नगरपालिका १ मा जन्मिएकी हमालले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उनको एमबीबीएस पढाइ पूरा गरिन्।

करिब ६ वर्षको अध्ययनपछि उनी डाक्टर बनेकी हुन्। पढाइ पुरासँगै जिन्दगीको सपना पूरा भएको उनले बताइन्। पिता हेमराज हमाल र माता कमला हमालको कोखबाट जन्मेकी उनको पढाइ सरकारी छात्रवृत्तिबाट पूरा भएको हो।

'छोरीलाई कलिलै उमेरमा बिहे गरेर धेरै सन्तान जन्माएकै कारणले धेरैजसो महिलाहरू पाठेघर खस्ने समस्याबाट ग्रसित छन्। अब यस्ता कुप्रथाको अन्त्य गर्न अभियान नै चलाउनु पर्छ।'

'मेरो सपना सानैदेखि डाक्टर बन्ने र दुर्गमबासीको सेवा गर्ने थियो। पढाइ पूरा गरेर शहर बजारमै रुमल्लिने थिएन', हमालले मन खोलिन्, 'बरु दुर्गमका नागरिकहरूको जिल्लामै कसरी स्वास्थ्य उपचार गर्न सकिन्छ भनेर पढाइ सुरु गरेदेखिनै सोच्थेँ।'

उनलाई दुर्मकै दुखले यहाँसम्म पुर्‍याएको हो। उनी जिल्ला अस्पताल आएको धेरै भएको छैन। जिल्ला अस्पतालमा रहुञ्जेल केही न केही सकारात्मक परिवर्तन गरेर देखाउने उनको अठोट छ। हिजोआज उनको दैनिकी बिरामी जाँचमै बित्छ। बिरामीको उपचारमा दिनरात नभनी खट्ने गरेकी छिन्। 

उनले भनिन्- 'बिरामी जाँच्दा–जाँच्दा ड्युटी सकिएको पत्तो पाउँदैन। बिरामीको चाप धेरै भयो भने खाना खान समेत भुल्छु।

हप्तौँ हिँडेर विकट बस्तीहरूबाट बिरामी आउँछन्। आफ्नो ड्युटी सकियो भन्दै क्वार्टरमा गएर सुत्न पनि मन लाग्दैन उनलाई। इमानदारीपूर्वक उपचार गर्नु चिकित्सक धर्म सम्झिन्छिन्। कार्यालय समयमा मोबाइलको स्विचअफ गर्छिन्। 'ओपीडीमा बिरामी जाँच गरिरहेको बेला कुनै पनि प्रकारको तनाव नहोस् भनेर मोबाइल स्विचअफ गर्ने गरेकी हुँ',उनले भनिन्।

दुर्गम जिल्लाहरूमा बस्ने अधिकांश नागरिक उपचारको अभावमा रोग पालेर बस्ने गरेको उनले बुझेकी छन्। त्यस्ता नागरिकको उपचार गर्न पाउँदा उनलाई निकै खुसी अनुभूत हुने गर्छ। 

डोल्पाजस्तै कर्णालीका अन्य जिल्लाका नागरिकले समेत स्तरीय स्वास्थ्य उपचार पाउन सकेका छैनन्। चिकित्सक सेवाकै क्रममा डोल्पा बाहेकका कर्णालीका अन्य जिल्लाहरूमा समेत जाने उनको चाहना छ।

स्वभाविक रुपमा अस्पतालमा विभिन्न किसिमका बिरामी आउँछन्। त्यसमध्ये पन्ध्र-बीस वर्ष उमेरभित्रका युवती आमा बन्ने गरेका पनि उनले भेट्ने गरेकी छिन्। उनले भनिन्, 'कम उमेरमै विवाह एउटा समस्या नै हो। पुरातनवादी समाजको कुप्रथाको पराकाष्ठा यी चेलीहरूले भोग्नु परेको छ।' पारिवारिक तथा सामाजिक दबाबका कारण सानैमा बिहे हुने गरेको उनले बुझेकी छन्।

उनको मनमा गढेको अर्को समस्या हो लैङ्गिक विभेद। डोल्पाका कतिपय बस्तीहरूमा अझै पनि छोरा र छोरीबीच विभेद छ। अर्काको घरमा बिहे गर्ने जात भन्दै छोरीलाई शिक्षाबाट वञ्चित गरेको देख्दा उनको मन खिन्न हुन्छ। उनले भनिन्- 'छोरीलाई कलिलै उमेरमा बिहे गरेर धेरै सन्तान जन्माएकै कारणले धेरैजसो महिलाहरू पाठेघर खस्ने समस्याबाट ग्रसित छन्। अब यस्ता कुप्रथाको अन्त्य गर्न अभियान नै चलाउनु पर्छ।'

जिल्ला अस्पताल डोल्पालाई अझै सुविधा सम्पन्न बनाउनुपर्ने आवश्यकता उनले देखेकी छन्। उनको भोगाइ छ- 'अस्पतालमा दैनिक सयौँ बिरामी उपचारका लागि आउने गर्दछन्। चार जना एमबीबीएस डाक्टर कार्यरत छौँ। जनशक्तिमात्र होइन प्रविधि पनि अपर्याप्त छ।'

उपचारको लागि जिल्लाका विकट गाउँबस्तीबाट सर्वसाधारण आउने गर्छन्। त्यसमध्ये जटिल समस्या लिएर आउने बिरामी कमै हुन्छन्। धेरैजसो सिटामोलको खोजी तीन चार दिन हिँडेर जिल्ला अस्पतालसम्म आइपुग्छन्। सरकारले प्रत्येक गाउँबस्तीहरु स्वास्थ्य चौकी खोलेको छ। तर ती स्वास्थ्य चौकीहरूमा कि त स्वास्थ्यकर्मी भेटिदैनन्। स्वास्थ्यकर्मी भेटिए पनि औषधि भेटिँदैन।

डा‍. हमाल दुर्गममा स्वास्थ्य सेवा विस्तारमा सरकारले ध्यान दिन आवश्यक भएको बताउँछिन्। उनले भनिन्- 'सुगमका जिल्लामा पाइलैपिच्छे सुविधासम्पन्न अस्पताल बनाइएका हुन्छन्। तर दुर्गममा डोकोमा बिरामी बोकेर अस्पताल ल्याउनुपर्छ। धेरै रोगको औषधि सिटामालेनै हुन्छ। तर त्यो पनि उपलब्ध हुँदैन।' त्यसैले दुर्गममा सर्वसुलभ स्वास्थ्यसेवा हुनुपर्ने उनको बुझाइ छ।

जिल्ला अस्पताल डोल्पालाई अझै सुविधा सम्पन्न बनाउनुपर्ने आवश्यकता उनले देखेकी छन्। उनको भोगाइ छ- 'अस्पतालमा दैनिक सयौँ बिरामी उपचारका लागि आउने गर्छन्। चार जना एमबीबीएस डाक्टर कार्यरत छौँ। जनशक्तिमात्र होइन प्रविधि पनि अपर्याप्त छ।'

उनले जिल्ला अस्पतालमा विभिन्न उपकरणहरूको अभाव भएको अनुभव सुनाइन्। बिजुली बत्ती भरपर्दो छैन। खानेपानी भरपर्दो छैन। अस्पताल आफैँ रोगीजस्तै छ। अस्पतालको उपचारमा कसैको ध्यान नपुगेको उनको ठम्याइ छ। उनले भनिन्- 'विभिन्न उपकरण नभएर पनि अस्पतालमा कार्यरत चिकित्सकहरूले आफ्नो दक्षता प्रयोग गर्न पाएका छैनन्।'

यसरी पुरा भयो डाक्टर बन्ने सपना

डोल्पाको एक विकट गाउँमा जन्मेर पचास लाख रुपैयाँभन्दा बढी खर्च गरेर डाक्टर पढ्न पाउनु सजिलो पक्कै छैन। त्यसमा पनि पुरातनवादी सोचमा गाँजिएको समाजमा छोरीले डाक्टरी पढाइ पूरा गर्नु सानोतिनो कुरा होइन। चुलोचौकोमै सीमित डोल्पाली महिलाको पहिचान तोड्दै डाक्टर बनेर हमालले डोल्पाली महिलाको नाम उचाइमा पुर्‍याएको स्थानीय महिला नेतृ दिलमाया विष्टले बताइन्।

हमालले थुप्रै चुनौतीबीच एमबीबीएस पढाइ पुरा गरिन्। उनले प्राथमिक तहको शिक्षा घरनजिकै रहेको त्रिपुरा माध्यमिक विद्यालय काटियाँचौरबाट पुरा गरिन्। माध्यमिक तह छिमेकी गाउँमा रहेको जनप्रभा माध्यमिक विद्यालयमा पढिन्।

शिक्षित अभिभावक भएकै कारण विद्यालयमा पढाइ–लेखाइ अरू भन्दा अब्बल थियो। प्राथमिक तहका पाँच कक्षासम्म उनी सँधै प्रथम भइन्। अभिभावकले उनलाई पढाइमा ध्यान दिन जोड दिन्थे। त्यसैले खेल्न र बरालिन कमै पाउँथिन्। घरमा धेरैजसो समय अध्ययन गरेरै बिताउनु पर्थ्यो। उनले २०६६ सालमा डिस्टिङ्सन ल्याएर एसएलसी पास गरिन्।

कक्षा १ देखि एमबीबीएससम्म प्रथम श्रेणीमा पास गरिन्। एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौं गइन्।किनभने सानैदेखि डाक्टर बन्ने सपना थियो। त्यसको पहिलो प्रस्थान विन्दु बन्यो काठमाडौं यात्रा। घर सल्लाह गरेर उनी डाक्टर बन्ने सपनाको पोको बोकेर बुवासँगै काठमाडौं पुगिन्।  बिस्तारै राजधानीको परिवेशमा घुलमिल भइन्। केही समयपछि ललितपुरकाे जाउलाखेलस्थित क्यास्पियन भ्याली कलेजमा भर्ना भइन्।

'मेरो सपना डाक्टर बन्ने थियो। अरु विषय लिएर डाक्टर बन्न पाउँदैन थिए। त्यसो त मैले मूल विषय विज्ञान लिएँ। दुर्गममा पढेको एक विद्यार्थीले विभिन्न जिल्लाका मेधावी विद्यार्थीसँग प्रतिस्पर्धा गर्नु पक्कै सजिलो थिएन। तै पनि मैले हार मानिनँ', उनले आफ्नो यात्रा सम्झिइन्, 'विज्ञान विषयमा आफैँमा अन्य विषयमा भन्दा गाह्रो रहेछ। तर पनि निरन्तरको मेहनतले सजिलै पहिलो डिभिजनमा २०६८ सालमा कक्षा ११ र १२ पास गरेँ।'

त्यसपछि उनी लक्ष्यतर्फ बढिन्। सरकारी छात्रवृत्ति एमबीबीएसको तयारीमा जुटिन्। केही समयपछि मेडिकल कलेजहरूबाट सरकारी छात्रवृत्ति कोठामा डाक्टर पढ्न आवेदन खुल्यो। छात्रवृत्ति कोटामा नाम निकाले सपना पुरा हुने। आफ्नै खर्चमा पढ्न आर्थिक रुपले कठीन हुने। तर अठोट भने निःशुल्क कोटामा नाम निकाल्नुपर्छ भन्ने थियो।

उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फारम भरिन्। तयारीमा जुटिन्। मेहनत गरिन्। छात्रवृत्तिमा नाम निकालिन्। उनले भनिन्, 'अन्ततः मेरो आसा र सपनामा कुठाराघात भएन। एकै पटकमा छात्रवृत्तिमा नाम निक्लियो। त्यो दिन मेरो संसारकै सबैभन्दा खुसीको दिन जस्तो लाग्यो। किनकी मेरो सपनामात्रै नभई सिङ्गो परिवारको सपना जोडिएको थियो।'

पढाइ पूरा गरिन्। सेवाका लागि डोल्पा आइन्। तर उनले आफ्नो खुशी परिवारसँग लामो समय बाँड्न पाइनन्। उनलाई डाक्टर बनेर दुर्गममा सेवा गर्न प्रेरित गर्ने उनका बुबाले केही महिनाअघि संसार छाडे। उनी बुबाको मार्गदर्शनलाई आदर्श मान्दै गरिव तथा असहायको सेवामा तल्लीन छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.