मन्त्रीको राजीनामा माग

|

जनकपुरधाम : प्रदेश-२ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको प्रश्नपत्र बाहिरिएपछि सडकदेखि सदनसम्म तातिएको छ। एसइईको प्रश्नपत्र लगातार दुई दिन बाहिरिएपछि विद्यार्थी सडक आन्दोलनमा उत्रेका छन् भने सदनमा प्रदेशसभा सदस्यले प्रश्नपत्र बाहिरिएको विषयमा संघीय सरकार र प्रदेश सरकारको चर्को आलोचना गरेको छ।

बुधवार अनिवार्य विज्ञान र बिहीबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि विज्ञान विषयको परीक्षा रद्द र सामाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा विद्यार्थी सडकमा आन्दोलन गरिरहँदा संसदमा सत्ता पक्षका सांसदले संघीय सरकारलाई दोष थुपार्दै शिक्षा मन्त्रीको राजीनामाको माग गरेका थिए भने प्रतिपक्षका सांसदले प्रदेश सरकारको आलोचना गरेका थिए।

प्रदेश-२ मा तेस्रो अधिवेशनअन्तर्गत शुक्रबार बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद मञ्जु कुमारी यादवले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र मन्त्रीको कारण प्रश्नपत्र बाहिरिएको भन्दै सामाजिक विकास मन्त्री नवलकिशोर साहको राजीनामा माग गरेका थिइन्। ‘कसरी प्रश्नबाट आउट भयो, त्यसको विषयमा छानबिन हुनुपर्छ। दोषि छुटनु हुँदैन', उनले भनिन् 'तर, आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्ने सामाजिक विकास मन्त्रीले राजीनामा दिनुपर्छ।’

यसैगरी सत्तापक्ष राष्ट्रिय जनता पार्टी नेपालकी प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले संघीय सरकारको शिक्षा मन्त्रालयको निरीहताका कारण प्रश्नपत्र बाहिरिएकोले नैतिकताको आधारमा राजीनामा दिन माग गरेको थिइन्। 

यता प्रश्नपत्र बाहिरिएको विरोधमा एसइई दिइरहेका विद्यार्थीले जनकपुरधामको मुख्यमन्त्री कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका थिए। आफूहरूको भविष्यसँग खेलवाड गरिरहेको भन्दै उनीहरूले मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको राजीनामा माग गरेका थिए। सोही क्रममा प्रहरी र स्कुले प्रदर्शनकारी विद्यार्थीबीच दोहोरो ढुंगा हानाहानसमेत भएको थियो।

संघीय सरकारले जिम्मा लिनुपर्छ : मन्त्री

यता प्रदेश २ सरकारले संघीय सरकारका शिक्षा मन्त्रीको राजीनामा माग गरेको छ। एसइई सञ्चालन संघीय सरकार मातहत रहेको भन्दै प्रश्नपत्र बाहिरिने घटनामा संघीय सरकारले जिम्मा लिनुपर्ने प्रदेश सरकारको भनाइ छ। संघीय सरकारको निकायबाट प्रश्नपत्र बाहिरिएको भन्दै प्रदेश सरकारले संघीय शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेको हो।

यता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रश्नपत्र बाहिरिने घटनामा प्रदेशको कुनै संलग्नता नरहेको दाबी गरेका छन्। उनले भने, ‘हामीले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेका छौँ, प्रदेशबाट प्रश्नपत्र बाहिरिएको देखिएन्। प्रदेश सरकारलाई बदनाम गर्न माथिबाटै षड्यन्त्र भए जस्तो छ।’

कानुनमन्त्री यादवल भने, ‘प्रदेशका सबै प्रहरी कार्यालयहरूबाट परीक्षा सुरु हुनु एक घन्टाअघि मात्र परीक्षा केन्द्रहरूमा प्रश्नपत्र पठाइएको थियो। तर, प्रश्नपत्र राति नै बाहिरिएको छ। प्रदेशको कमजोरी देखिएको छैन्।’

छानबिनको जिम्मा सिआइबीलाई

संघीय सरकारले प्रदेश २ मा एसईई परीक्षाका दुई विषयका प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनाको छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई दिने भएको छ। प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएर परीक्षा रद्द भएको विषयमा शिक्षामन्त्री पोखरेलको नेतृत्वमा बसेको सम्बन्धित निकायका प्रमुखसहितको बैठकले तीन निर्णयसमेत गरेको छ।

मन्त्रालयकाअनुसार प्रश्नपत्र सार्वजनिक भएको घटनाको छानबिन गर्ने जिम्मा सिआइबीलाई दिने, चार घण्टाभित्र देशका सबै परिक्षा केन्द्रहरू अनुगमन गर्ने र तत्काल प्रतिवेदन पेश गर्ने र शुक्रबार ६ बजे प्रतिवेदनसहित बैठक बसेर आवश्यक निर्णय गर्ने, तेस्रो निर्णयमा विद्यार्थीलाई संयमित हुन अपील गर्ने निर्णय भएको छ। बैठकमा सुरक्षा निकायका प्रतिनिधिको पनि सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.