|

काठमाडौं : '१० हजार फाइन तिरिसकें तर अझैसम्म स्मार्टकार्ड हात परेको छैन' मीनभवनस्थित यातायात व्यवस्था विभागमा भेटिएका मनिराज खतिवडाको गुनासो हो यो। दुई वर्षअघि जारी भएको सवारी चालक अनुमतिपत्र(स्मार्ट कार्ड) अझसम्म नपाउँदा यसअवधिमा आफूले ट्राफिकलाई बिलमा नमान्दा १० हजार बढी जरिवाना तिरिसकेको उनले दुखेसो पोखे।

यस्तै, एक वर्ष अघि लिएको सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड नपाएर निकै समस्या भएको हीरा काजी महर्जनले बताए। यातायात व्यवस्था विभागले स्मार्ट कार्ड दिनमा लापरबाही गरेको उनले आरोपसमेत लगाए। यस्तै समस्या भोग्नेमा धादिङको सुरेश कुमार श्रेष्ठ पनि छ। उनले सवारी चालक अनुमतिपत्र लिएको १२ महिना भइसक्यो। तर, स्मार्ट कार्ड पाएका छैनन्। सवारी चालक अनुमतिपत्र लिएको कार्यालय एकान्तकुना पुग्दा त्यहाँबाट यातायात व्यवस्था विभाग मिनभवन पठाएको उनले बताए। 'उनले भने, लाइसेन्स लिएको १२ महिना भइसक्यो अझै स्मार्ट कार्ड पाएको छैन', उनले थपे, लाइसेन्स लिएको कार्यालय एकान्तकुना पुग्‍दा यातायात व्‍यवस्था विभाग मीन भवन पठाउँछ, चारपटक विभाग पुगेँ तर अझै कार्ड हात परेको छैन।' चारपटक विभाग पुग्दा एक–एक हप्ता समय मात्र पाएको  तर स्मार्ट कार्ड नपाएको उनले दुखेसो पोखे।

अनुमति पत्र र स्मार्ट कार्ड वितरणमा कुनै समस्या छैन : प्रवक्ता उपाध्याय

समयमै स्मार्ट कार्ड नपाउँदा सेवाग्राही सास्ती भोग्न बाध्य छन्। तर सवारी चालक अनुमति पत्र र स्मार्ट कार्ड वितरणमा कुनै समस्या नभएको यातायात व्यवस्था विभागको भनाइ छ। यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायका अनुसार हालसम्म १३ लाख १५ हजार सवारी चालक अनुमतिपत्र जारी भएको र आठ लाख ५५ हजार स्मार्ट कार्ड वितरण भइसकेको छ। करिब २६ हजार स्मार्ट कार्ड प्रिन्टमा बिग्रेको पनि उनले  बताए। प्रिन्टमा बिग्रेको कार्ड पुन: छाप्‍न विभागका महानिर्देशकले निर्णय गर्नुपर्ने भएकोले यो विषयमा आफूले केही गर्न नमिल्ने प्रवक्ता उपाध्यायले सुनाए।

उनले भने, ‘सवारी चालक अनुमतिपत्र बिग्रेकोलाई पुन: छाप्नका लागि विभागका महानिर्देशकले निर्णय गर्ने हो,’ उनले थपे, 'सवारी चालक अनुमतिपत्र बिग्रेको विषयमा विभागसँग कुनै सरोकार छैन यसका लागि स्मार्ट कार्ड जारी भएको कार्यालयमै सम्पर्क गर्नुपर्छ।'

विभागका महानिर्देशक कुमारप्रसाद दहालले भने बिग्रेका स्मार्ट कार्ड मन्त्रिपरिषदबाट निर्णय भएपछि मात्र छाप्न मिल्ने र हतार भए पुनः ५ सय राजस्व तिरेर सवारी चालक अनुमतिपत्र लिन सकिने बताए। सरकारबाट निर्णय नभएसम्म बिग्रेको सवारी चालक अनुमतिपत्र लिन जनताले कुर्नैपर्ने उनले सुनाए। सम्झौताअनुसार बिग्रेको स्मार्ट कार्डको रकम मालिका कम्पनीले नतिरेसम्म अर्को कार्ड पुन: नछापिने पनि उनले प्रस्‍ट पारे।

सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुनाका प्रमुख शेतप्रसाद उप्रेतीले आफूहरूको काम विभागबाट आएको सवारी चालक अनुमतिपत्र दिने मात्र भएको बताए। विभागबाट नआएको वा बिग्रेको विषयमा आफूहरूले केही गर्न नसक्ने उप्रेतीले सुनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.