डडेल्धुरा : यो जिल्लामा दुई नगरपालिकासहित सात वटा स्थानीय तह छन्। गन्याधुरा गाउँपालिका डडेल्धुराका सात स्थानीय तहमध्ये एक हो। साबिक असिग्राम गणेशपुर, मष्टामाडौं र कैलपालमाडौं गाविस गाभेर गन्यधुरा गाउँपालिका बनाइएको हो। यो गाउँपालिकाको जनसङ्ख्या १५ हजार ९३ र क्षेत्रफल १३५.६५ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका पूर्वमा डोटीको शिखर नगरपालिका, पश्चिममा डडेल्धुराको अमरगढी नगरपालिका र आलिताल गाउँपालिका, उत्तरमा डडेल्धुराकै नवदुर्गा गाउँपालिका र दक्षिणमा आलिताल गाउँपालिका र डोटीको जोरायल गाउँपालिका जोडिएका छन्। साबिकका ४ वटा गाविसको जनसंख्या र भौगोलिक अवस्थासमेतका आधारमा ५ वडामा विभाजन गरी गाउँपालिकाको स्थापना गरिएको हो।
डडेल्धुराको प्राचीन समयमा पश्य गर्खा क्षेत्रमा पर्ने सबै हिन्दुहरूको धार्मिक एवं सांस्कृतिक आस्थाको धरोहरका रूपमा रहेको शिखर (गन्याप) देवताको नामबाट गन्यापधुरा नामकरण गरिएको हो। गाउँपालिकामा असिग्राम, गणेशपुर, कैलपालमाडौं र मष्टामाडौंलगायत सुदूरपश्चिम क्षेत्रकै सबै जातजातिको आस्थाको धरोहरको रूपमा रहेको गन्याप देवता शक्तिपीठ पनि पर्दछ।
पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह गाउँ रहेको गन्यापधुरा गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका थिए। अध्यक्षमा नवलबहादुर मल्ल र उपाध्यक्षमा कमला ठगुन्ना निर्वाचित भएका हुन्। निर्वाचनमा विजयी भइसकेपछि गरेको काम, आगामी योजनालगायतका विषयमा थाहा खबरकर्मी प्रकाश पार्कीले गन्याधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लसँग गरेको कुराकानी:
निर्वाचित भएर आएपछि के के काम गर्नुभयो?
जननिर्वाचित भइसकेपछि सामाजिक र विकासका योजनाका काम गर्दै आइरहेका छौँ। अहिले हामी दोस्रो वर्षको पनि तेस्रो चौमासिकमा पुगेको अवस्था छ। हामीले गत वर्ष नीति तथा बजेट तर्जुमा गरेका थियो। त्यहीअनुरूप आफ्नो गाउँपालिकामा काम गरिरहेका छौँ।
हामीले सडकहरूको स्तरोन्नति, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा बजेट छुट्याएका थियौँ। त्यसको कार्यान्वयन गरिरहेका छौँ। यहाँ कृषि महत्वपूर्ण छ। त्यसैले हामीले कृषिलाई पहिलो प्राथमिकता दिएका छौँ। पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढिरहेका छौँ। शिक्षा र स्वास्थ्य क्षेत्रको विकास पनि हाम्रो नीति तथा कार्यक्रममा थियो। त्यहीँअनुसार यसलाई लागू गर्ने क्रममा हामी छौँ।
युवा स्वरोजगारका प्रतिबद्धता जनाउनुभएको थियो, युवालाई गाउँमै रोजगारी दिन्छु भनेर। त्यो त पूरा भएन नि?
हुँदैछ। हामी आफ्ना प्रतिवद्धता पुरा गर्दैछौँ। यो आर्थिक पहिलो प्राथमिकतामा कृषि क्षेत्रलाई राखेका थियौँ। साथै हाम्रो गाउँपालिकामा ‘सुपरजोन कार्यक्रम’ पनि लागू भएको छ। खासगरी हाम्रो गाउँपालिकाको भात्काँडा र भेटा क्षेत्रमा आलुको पकेट क्षेत्र थियो। अहिले पछिल्लो समय गाउँपालिका पाँच वटै वडामा प्रत्येक वडामा तीन सय रोपनी आलुजोनका लागि छनोट गर्ने क्रममा छौँ।
हामीले गाउँपालिकामा कृषि फर्म पनि सञ्चालनमा ल्याएको छौँ गत वर्षदेखि नै। कृषि फर्ममा अहिले तीन सय रोपनीमा आलु, अन्य फलफुल र नर्सरीहरू स्थापना गरेर १०/१५ जना युवाले रोजगारी पाइराखेका छन्। हामीले सबै वडाको माटो परीक्षण पनि गरेका छौँ।कुन ठाउँमा कुन बाली लगाउने भनेर पहिचान गरेका छौँ। आगामी दिनमा पनि कतै भटमासको पकेट क्षेत्र त कतै फलफुलको पकेट क्षेत्र बनाएर अघि बढ्छौँ। पशु क्षेत्रमा पनि हामीले ३८ जनालाई युवा स्वरोजगार कार्यक्रमअन्तर्गत अनुदान दिएका छौँ। गड्डी भैँसीको पनि संरक्षणमा लागेका छौँ। कुखुरा, बाख्रापालनतर्फ पनि युवालाई आकर्षित गर्ने खालका कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ।
कृषकका धेरै समस्याहरू छन् तर कृषि प्राविधिकहरू सम्बन्धित ठाउँमा पठाउनै सक्नुभएको छैन?
कर्मचारी समायोजनका कारणले यस्तो भएको हो। किसानका कठिनाइ महसुस गरेर आफैँले कृषि र पशु क्षेत्रमा प्राविधिक कर्मचारीहरू भर्ना गरिसकेका छौँ। माघदेखि प्राविधिक कर्मचारी भर्ना गरेका हौँ। उहाँहरूले पछिल्लो समयमा उत्पादकत्व बृद्धिमा सहयोग योगदान दिनुभएको छ। निजामती सेवाका प्राविधिक कर्मचारीको एकदम अभाव छ। दक्ष पनि छैनन्। जनशक्तिको अभाव नै छ। अहिलेलाई हामीले आफ्नै अनुदानबाट सबै वडामा कृषि, पशु र स्वास्थ्य क्षेत्रमा कर्मचारी भर्ना गरेर काम अगाडि बढाइरहेका छौँ।
शैक्षिक गुणस्तर सुधारमा ध्यान के गर्नु भयो त?
शिक्षा र स्वास्थ्य क्षेत्रमा एकदमै जटिल समस्या छन्। गत वर्ष हामीले कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षा लियौँ। गत वर्ष हाम्रो गाउँपालिकाभित्रका तीन/चार वटा विद्यालयको गणितमा एकदमै कमजोर नतिजा देखियो। ती विद्यालयमा हामीले गाउँपालिकाको तर्फबाट शिक्षक भर्ना गर्यौँ। यस वर्ष पनि हामीले कक्षा ५ र ८ को परीक्षा सञ्चालन गर्यौँ र गतवर्षको भन्दा सुधार आएको छ।
आगामी दिनमा पनि कुन विद्यालयमा के समस्या छ? शिक्षक, भौतिक संरचनामा कस्तो छ? त्यसको पहिचान गरेर सुधार गर्छौँ। शिक्षा र स्वास्थ्यमा अन्य विकास निर्माणको काम गरेको जस्तो हुँदैन। यस क्षेत्रका काम गरेको लामो समयपछि मात्रै यसको नतिजा देखिन्छ। एकैचोटि सडक बनाएर गाडी हिँडाएजस्तो फड्को मार्न सक्दैनौँ। हामी जनप्रतिनिधि भएर आइसकेपछि शिक्षा क्षेत्रमा धेरै सुधार भएको छ।
हाम्रो गाउँपालिकामा २४ वटा सामुदायिक विद्यालय छन्। ती सबै विद्यालयमा ‘ट्रेकिङ टिचर’ अर्थात् बोल्ने किताबको माध्यमबाट पढाइ भइरहेको छ। त्यसमा वार्षिक ४० लाख रुपैयाँ जति खर्च आइरहेको छ।
स्वास्थ्यमा के कस्तो प्रयास गर्नुभएको छ?
सामाजिक क्षेत्र अन्तर्गत शिक्षाभन्दा स्वास्थ्य क्षेत्रमा बढी प्रगति भएको छ। हाम्रो गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी छन्।साबिकको असिग्राम, गणेशपुर, मष्टामाडौं र कैलपालमाडौं। हामीले ११ वटा गाउँघर क्लिनिक खोल्यौँ। स्वास्थ्य केन्द्रबाट दुई तीन घण्टा हिँड्नुपर्ने बस्तीहरूमा त्यस्तो क्लिनिक खोलेका हौँ। ती बस्तीका मान्छेले एउटा सिटामोलको लागि दुई तीन घण्टा हिँड्नु पर्ने बाध्यता थियो। प्रत्येक वडामा दुई–दुई र असिग्रामको भत्काँडा गरेर ११ वटा गाउँघर क्लिनिक सेवा सञ्चालन गरेका छौँ।
गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा ल्याबको पनि सुविधा थिएन। आफ्नै अनुदानमा दरबन्दी दिएर ल्याब सुविधा दिएका छौँ। धेरै नै सुधार भएको छ स्वास्थ्यमा। हामीले ११ जना यहीँका अहेब र अनमी भर्ना गरेको छौँ। उनीहरूले रोजगारी पनि पाए र सुविधा नि दिइरहेका छन्। प्रत्येक स्वास्थ्य चौकीमा हामीले सोलार पावरको व्यपस्था गरेका छौँ।
अधिकांश स्थानीय तहको स्वास्थ्य संस्थाहरूमा इन्चार्जहरू भेटिँदैनन् नि?
कर्मचारी समायोजनको कुरा जो छ। उनीहरू कहाँ पर्ने, कहाँ नपर्ने भनेर पनि अन्योलमा छन्। जागिरे भइसकेपछि जो पनि सुविधायुक्त ढंगले बस्न चाहन्छ। अधिकांश कर्मचारीहरूको तराईतिर बसोबास हुन्छ। उनीहरूले तराईतिर नै पदस्थापनका लागि फारम भरेका छन्। त्यो भएर पनि अप्ठ्यारो भएको छ।
हामी कहाँ त्यस्तो छैन। इन्चार्जहरू नभेटिने भन्ने त छैन। हाम्रो सबै ठाउँमा इन्चार्जहरू तैनाथ छन्। अब कहिलेकाहीँ तालिम, सेमिनार, गोष्ठीमा गएको हो भने त्यो आफ्नो ठाउँमा छ। नत्र हाम्रो गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा राम्रो काम भइरहेको छ।
गन्यापधुरा गाउँपालिकाका चुनौती के कस्ता छन्?
थुप्रै चुनौती र अवसर। गन्यापधुरा एउटा चिसो घना जङ्गलदेखि पहाड र दुन बेसी भएको गाउँपालिका हो। नदी नियन्त्रणका समस्या छन्। उत्पादनशील भूमि बगरमा परिणत भएका छन्। झोलुङ्गे र सडक पुलको आवश्यकता छ। करिब आठ वटा झोलुङ्गे पुलको आवश्यकता छ भने चार वटा सडक मोटरेवल पुलको आवश्यक छ। अनि तल्लो भेग नदी गाड किनारमा तटबन्ध अनिवार्य छ। अर्को, युवा बेरोजगारीको ठुलो चुनौती छ ।
अवसर नि?
दीर्घकालीन संभावना कृषि र पर्यटन नै हो। पर्यटनतर्फ गन्यापधुरामा मिनी खप्तड रहेको छ। खप्तडमा २२ वटा पाटन छन् भने गन्यापधुरामा ६ वटा पाटन छन्। खप्तडको झल्को एवं प्यास गन्यापधुराले मेटाउन सक्छ। त्यसका लागि आवश्यक पूर्वाधारको तयारी गरिरहेका छौँ। अनि बडालको चौलो देशभरि नै प्रख्यात छ। यसलाई अझै संरक्षण र सम्बर्द्धन गर्दै लैजाने योजना छ।
गाउँपालिका केन्द्रमा ९ वटा ठाउँबाट सडक पुर्याउनुभएको छ। ती सडकको स्तरोन्नति गरेर बाह्रै महिना गाडी चल्ने कहिलले हुन्छन्।बाह्रै महिना गाडी चल्ने गरी एकै आर्थिक वर्षमा त बनाउन सक्दैनौँ। दुईवटा सडक पुग्दै छन्। पारिखेतमा पुल बन्दै छ। केही सातापछि त्यसको उद्घाटन पनि हुन्छ होला। चम्सालको बाटो बनाउन प्रदेश सरकारबाट टेन्डर भइरहेको छ। अब दुई वटा बाटो बाह्रै महिना गाडी चल्ने हुन्छ सदरमुकाम जोड्ने। अरू सडकलाई पनि गाउँपालिकाकै बजेटबाट पनि दुई वर्षभित्र स्तरोन्नति गछौँ। धेरै लामो दुरीका सडकहरू पनि छैनन्। एउटा मात्रै लामो दुरीको सडक हो। भात्काँडा–रेल–उच्चाकोट। यो सडक पहिला सङ्घमा थियो अहिले प्रदेश मातहत आएको छ। प्रदेश सरकारले टेन्डर गरिसकेको छ।
तपाईंको कार्यकालमा नयाँ ट्रयाक खुल्छ?
अब नयाँ ट्याक खुल्दैन। अब जति ट्याक खोल्ने हो हामीले गत वर्ष नै खोली सक्यौँ। गन्याधुराका लगभग सबै बस्ती सडक सञ्जालसँग जोडिएका छन्। एक दुई बस्ती बाँकी छ। त्यो हामीले दोस्रो वर्षमा जोड्छौँ।
विकासका काममा प्रदेश सरकारसँग समन्वय भइरहेको छ?
प्रदेश सरकारबाट हाम्रो गाउँपालिकाका लागि योजना तर्जुमा भएका छन्। तर हामी जनप्रतिनिधिहरूसँग समन्वय नगरी योजना छनोट गरिएको छ। हाम्रो सल्लाह विना नै बजेट छुट्याइएको छ। सल्लाह नगरी बजेट छुट्याउँदा एउटै सडकमा तीनतीन वटा बजेट परेको छ। सडक नै नभएको ठाउँमा पुलका लागि बजेट छुट्याइएको छ। यस्ता धेरै कमजोरी देखिएका छन्। मैले पटकपटक भनेको छु। भौतिक पूर्वाधार विकासमन्त्रीज्यूसँग पनि कुरा राखे। अन्य माननीयज्यूसँग पनि कुरा राखे। सल्लाह नै नगरी बजेट छुट्याइएको छ। हामी आशा गर्छौँ दोस्रा वर्षदेखि यस्तो हुने छैन। उहाँहरूसँग म आग्रह पनि गर्छु कि सही ठाउँमा सही ढङ्गले योजना छनोट हुनुपर्यो। चाहिने ठाउँमा बजेट नै नपर्ने, नचाहिने ठाउँमा बजेट छुट्याउने प्रवृत्ति राम्रो होइन।
बजेट कार्यान्वयनमा पनि हामीसँग सरसल्लाह गरिएको छैन। देशको विकास गर्ने हो भने त पहिला गाउँको विकास हुनुपर्यो। संघीय, प्रदेश र स्थानीय सरकार सबैले गाउँकै विकास गर्ने हो। जनताको नजिकको सरकार त स्थानीय सरकार हो। हाम्रो सहमतिमा योजनाहरू दियो भने त्यसमा हामी पनि सहयोग गर्थ्यौँ। अनि जनतालाई पनि सुविधा हुन्थ्यो। आगामी दिनमा यस्ता कमजोरी नहुन्। उहाँहरूलाई भन्छु कि सरसल्लाहअनुसार बजेट छुट्ट्याइदिनुस्।
गाउँपालिकाले बनाउनुपर्ने कानुन बनाइसक्नुभएको छ?
हामीले ३२ वटा कानुन बनाइसकेका छौँ। सङ्घ र प्रदेश सरकारले धेरै कानुन नबनेको अवस्थामा हामीलाई पनि कानुन निर्माण गर्नमा कठिनाइ भइरहेको छ।
बाँकी तीन वर्षे कार्यकालमा कसरी बढ्ने योजना छ?
चुनावकै घोषणाअनुसार नै अगाडि बढिरहेका छौँ। विकासका लागि हाम्रो गाउँपालिकाको भौगोलिक राम्रो छ। र, विकासको लागि बजेटको कुरा आउँछ। ७५३ स्थानीय तहमा हाम्रो गाउँपालिकामा बजेट कम छ। अन्यको तुलनामा। गत वर्ष ६ करोड रुपैयाँ बजेट घटाइयो, यो चालू आर्थिक वर्षका लागि बजेट। हाम्रो नीति तथा कार्यक्रम राम्रा छन्। पाँच वर्षमा सबैभन्दा नमुना गाउँपालिका बनाउने प्रतिबद्धता गरेका छौँ। अघिल्लो वर्ष अलि बढी बजेट थियो। हामी करिब ७५ किलोमिटर सडक खन्न सफल भएका छौँ। अब समृद्ध गाउँपालिका बनाउँछौँ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।