व्यावसायिक फलफूल खेतीबाट आत्मनिर्भर बनाउने योजना

|

डोल्पा : यहाँको त्रिपुरासुन्दरी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथामिकतामा राखेर प्रत्येक वर्ष लाखौँ बजेट बिनियोजन गर्दै आएको छ। नगरलाई कृषिमा आत्मनिर्भर बनाई आर्थिक हिसाबमा समृद्ध बनाउनका लागि यस वर्ष पनि स्याउका विरुवा खरिदमा २५ लाख बराबरको रकम खर्च गरिएको नगरपालिकाले जनाएको छ।

नगरका ११ वटा वडाकालागि ५२ हजार ८०० स्याउका बिरुवा खरिद गरेर सम्बन्धित वडा अध्यक्षद्धारा कृषकलाई वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले जानकारी दिए। भौगोलिक हिसाबमा स्याउ, ओखर, अंगुर लगायतका फलफूल उत्पादनकालागि उपयुक्त भुगोल भएकाले नगरले दुइ वर्ष यता व्यवसायिक फलफूल खेतीलाई जोड दिँदै आएको उनले बताए।

नगरपालिका भित्र पर्ने रङ्ग, सुँ, जिँउ लगायतका बस्तीहरू जिल्लामै धेरै परिमाणमा स्याउ उत्पादन हुने क्षेत्रको रुपमा परिचित छन्। बार्षिक लाखौँ बराबरको स्याउ उत्पादन हुने भएकाले रङ गाउँलाई स्याउ पकट क्षेत्रको रुपमा बिकास गर्न अन्नबाली उत्पादन घटायर स्याउ खेतीमा जोड दिइएको वडा ४ का अध्यक्ष श्रीदल बुढाले बताए। रङ गाउँमा एकघर एक बगैँचा निर्माण अभियान अनुसार प्रत्येक वर्ष खाली जमिनहरूमा स्याउ, ओखर, आरु, अंगुर लगायतका बोट बिरुवा लगाउँदै आएको उनको भनाइ छ।

रङ गाउँमा बिरुवा संरक्षणको लागि घेरबार नभए पनि मासिक दश हजार तलब दिने गरी तीन जना हेरालो राखेर बिरुवा संरक्षण गर्न थालिएको छ। शित भण्डारण गृहको अभावमा लामो समयसम्म ताजा फलफूल राख्न नसक्दा यसअघि लगाइएका स्याउ बोटमै कुहिँदै आएको कृषकले गुनासो गरे। गत वर्ष पनि करिब २५ हजारको हाराहारीमा स्याउका बिरुवा वितरण गरिएको थियो। स्याउ, अंगुर, ओखर लगायतका बिरुवा खरिदमा स्थानीय सरकारको लाखौं रकम लगानी भएकाले बिरुवा हुर्नेर फल दिने नहुञ्जेलसम्म सिंचाइ, घेरवार तथा नियमित अनुगमन आवाश्यक रहेको फलफूल कृषकहरूले बताए।

भारतबाट बिरुवा ल्यायर डोल्पामा खेती

आर्थिक समृद्धिको आधार अंगुर खेतीलाई बनाएको त्रिपुरासुन्दरी नगरपालिकाद्बारा भारतको महाराष्ट्रमा पर्ने नासिकबाट बिरुवा ल्यायर व्यवसायिक खेतीको थालनी गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिकाका वडा १ मा पर्ने त्रिपुराकोट, ९ र १० मा पर्ने लिकु, चुँ वडा नम्बर ३ र ४ मा पर्ने सुउँ र रंग ५ र ६ मा पर्ने खदाङ र पालङ लगायतका क्षेत्रलाई पकेटको रुपमा विकास गरी अंगुरको खेती गरिएको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले जानकारी दिए।

प्रदेश सरकारको आर्थिक सहयोगमा भारतको नासिकबाट ६ हजार अंगुरका बिरुवा ल्याएर ५०० कृषकलाई वितरण गरिएको उनले बताए। डोल्पाको बातारण भारतको नासिकसँग मिल्दोजुल्दो रहेको र अंगुर खेतीको लागि डोल्पाको भूभाग पनि मिल्ने भएकाले अंगुर खेतीबाटै नगरकाबासीको आर्थिक जीवनस्तरमाथि उठाउन सकिने भएकाले अंगुर खेतीलाई प्राथमिकता दिइएको नगर प्रमुख ओमबहादुर बुढाले बताए। गतवर्ष नगरले झण्डै एक करोड मूल्यका नौ हजार बिरुवा ल्याएर कृषकलाई वितरण गरी व्यवसायिक खेतीको थालनी गरेको थियो।

नगरको लगानी सदुपयोग गर्न प्रमुखको आग्रह

जनतालाई आर्थिक हिसावमा सम्पन्न बनाउन नगरपालिकाले गरेको करोडौँ लगानीको सही सदुपयोग गर्न नगर प्रमुख बुढाले आग्रह गरेका छन्। स्याउ, अंगुर, ओखर, आरु, सिवकथ्रुन लगायतका फलफूलको व्यवसायिक उत्पादनकालागि नगरपालिकाले प्रथम नगर सभादेखि नै करोडौँ बजेट खर्च गर्दै आएकाले यसको सही सदुपयोग गर्ने कृषकलाई नगरप्रमुख बुढाले आग्रह गरेका हुन्।

डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिसकेकाले फलफूल उत्पादनमा जोड दिनुपर्ने बताउँदै कृषकले बजारको चिन्ता लिन आवाश्यक नभएको नगरप्रमुख बुढाको भनाइ छ। नगर समृद्धिको सपनासहित करोडौँ रकम बराबरका बिरुवा वितरण गरिएकाले उत्पादनमा सफल हुने कृषकलाई पुरस्कृत गर्ने र वेवास्था गरेर नगरको अनुदान डुबाउने कृषकलाई कारवाही गर्ने समेत बताइएको छ।

जिल्लामै गाडी पुगेपछि डोल्पाली स्याउको बजार डोल्पामामात्रै सीमित नभइ रुकुम, जाजरकोट, सल्यान, सुर्खेत लगायत जिल्लाहरूमा बिस्तार हुन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.