|

भक्तपुर : मध्यपुर थिमि ४ स्थित स्वंगा द्यः (विष्णुवीर) परिसरमा रहेको स्वंगा पुखुः (विष्णु कुण्ड) मा घण्टाकर्ण चतुदर्शी अर्थात गठांमुगः चर्‍हेको दिन ठूलो मेला लाग्ने गर्दथ्यो। यो पोखरीमा नुहाएमा छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको छ।

मध्यपुर थिमिको लाय्कु दरवारको ठिक पश्चिमपट्टि रहेको जंगलको बीचमा रहेको यो सानो पोखरीमा विसं. २०४० सालतिर मानसिकस्थित ठिक नभएका एक व्यक्ति पोखरीमा मृत अवस्थामा भेटिए। त्यसयता यो पोखरीमा मानिसको आउजाउ कम हुँदै गयो। मृत मानिसको आत्माले सताउँछ भन्ने डरले स्थानीयले आफ्ना छोराछोरीलाई यो पोखरीमा पौडी खेल्न र नुहाउन बन्देज लगाए। बिस्तारै ओझेलमा पर्दै गएको यो पोखरी दुई वर्ष अघि आउँदा पुरिएर अलप जस्तै अवस्थामा पुग्यो। स्थानीय तहको निर्वाचनसँगै जनप्रतिनिधिको आगमन भएपछि यो पोखरीले पुनर्जीवन पाएको छ।

मध्यपुर थिमि नगरपालिकाले एक करोड भन्दा बढी लागतमा यो पोखरीको जिर्णाेद्धार गरिएको छ। पोखरीको उत्खनन गरी पोखरीको पुरानो संरचना ममर्त गर्नुका साथै पोखरी वरिपरि चार फिट भन्दा अग्लो पर्खाल लगाएर चिटिक्क बनाएको छ। पर्खालमा बनाएको खोपामा बत्ती जडान गरिएको छ। दिनमा त चिटिक्क देखिन्छ नै यो पोखरी रातमा झन मनमोहक देखिन्छ। पोखरी जीर्णोद्धारमा करिव डेढ करोड खर्च भएको उपभोक्ता समितिका अध्यक्ष रुपेश श्रेष्ठले बताए। सो पोखरीको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले पौडी खेलेर उद्घाटन गरे। पोखरी जिर्णोद्धारको लागि स्थानीय जनताले श्रमदान समेत गरेका थिए।

मध्यपुर थिमिको मुटुमा रहेको दुईपोखरी पोखरी मात्र होइन मध्यपुर थिमिको इतिहास पनि हो। मल्लकालीन यो पोखरी सो स्थानको परिचय समेत हो। पोखरीकै कारण यो स्थानको नाम समेत दुईपोखरी रहेको छ। विसंं २०५४/०५५ सालसम्म दुवै पोखरीमा पानी थियो। मध्यपुरको सानको रुपमा रहेको यो पोखरीको पनि संरक्षण र सम्वर्द्धन हुन छाडेपछि बिस्तारै पुरिँदै गयो र अन्ततः पोखरी सुक्यो।

स्थानीयले करिव २० वर्ष सुख्खा पोखरीमा बिहे व्रतबन्ध जस्ता भोज भतेर गरे। वि.सं. २०७२ को विनाशकारी भूकम्प गएपछि यो पोखरीलाई स्थानीयले लामो समयसम्म अस्थायी बसोबासस्थल रुपमा समेत प्रयोग गरे। नगरपालिकाले हालै यो पोखरीमा मेयर कप उसु प्रतियोगिता नै आयोजना गरे। अहिले यो पोखरीले पनि पुनर्जीवन पाउँदै छ। 

दुई पोखरी मध्ये दक्षिणतर्फको एउटा पोखरीमा आसन्न बिस्काः जात्राको लागि पानी भर्ने लक्ष्यका साथ धमाधम पुनर्निर्माणको काम भइरहेको छ। खेल मैदान र भोजस्थलको रुपमा परिणत भएको यो पोखरी नगरपालिकाको करिव एक करोड लागतमा स्थानीय उपभोक्ता समिति मार्फत पुनर्निर्माणको काम भइरहेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए। 

पोखरीमा सुरूमा ६ इञ्च कालीमाटी, ३ इञ्च पाै माटो र पुनः ६ इञ्च कालीमाटी गरी १५ इञ्च माटो बिछ्याएको छ। त्यसमाथि इँटा सोली¨ गरेर पानी राख्ने जनाएको छ। उक्त पोखरी संरक्षण तथा पुनर्निर्माण गर्न नगरपालिकाले चालु आर्थिक वर्ष २०७५/०७६ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। पोखरी संरक्षणका गर्न स्थानीय निरन्जन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समित गठन गरी पुसदेखि पुनर्निर्माण थालेको हो। 

‘आकाशेपानी संकलन गरेर प्रशोधन गरेपछि पोखरीमा भर्ने व्यवस्था गरिनेछ। त्यसका लागि मध्यपुर थिमि इनाय टोलको राजगणेशदेखि दिगुभैरव भैरव मन्दिरसम्मको पानी संकलन गर्ने र संकलित पानी दुईस्थानमा प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने छ', नगर प्रमुख श्रेष्ठले भने। दुईपोखरी संरक्षण पुनर्निर्माणका लागि नगरपालिकाले करिब १५ करोडको लागत इष्टमेट तयार गरेको छ। तीनवर्षमा पुनर्निर्माण सक्ने गरी पोखरी वरिपरी पैदल मार्ग निर्माण, ८ वटा फल्चा (पाटी) निर्माण गरी बिहान र साँझ स्थानीय बासिन्दा टहल्ने पार्कको रुपमा विकास गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए। त्यस्तै मध्यपुर थिमि ५ भुँलाख्यस्थित भुँलाख्य पुखुःमा गएको गँठेमुगः चर्‍हेको दिन त्वानाः लायगु (नली खुट्टा छोप्ने) खेल खेलियो। करिव दुई दशकपछि भएको सो खेल हेर्न स्थानीय हजारौं भेला भएका थिए।

विसं. २०५५ सालतिर सम्म निरन्तरता पाएको खेलले त्यसयता पोखरीको संरक्षण हुन नसकेपछि निरन्तरता नपाएको स्थानीय कृष्णलाल श्रेष्ठले बताए। उनका अनुसार गँठेमुगः चर्‍हेको दिन साँझ पोखरीमा राँगाको नली खुट्टा फाल्ने र स्थानीय युवा पौडेर नली खुट्टा खोजेर ल्याउने खेल भुँलाख्यको साँस्कृतिक पाटो हो। उनले भने, ‘पोखरीमा पानी नभएपछि करिव दुई दशक रोकिएको त्वानाः लायगु खेलले यस वर्षदेखि पुनः सुरु भएको छ।’

पोखरीको संरक्षण र जिर्णोद्धारसँगै लोप हुने अवस्थामा पुगेको एउटा जिवन्त सँस्कृतिले समेत पुनर्जीवन पाएको छ। स्थानीय जनप्रतिनिधिको बहालीसँगै भुँलाख्यः पुखुःले पनि पुनर्जीवन पाएको हो। नगरपालिकाको करिव १५ लाख ४५ हजार र स्थानीय जनताको करिव १ लाख १५ हजारको लागतमा पोखरीको जीर्णोद्धार गरिएको पोखरीमा रहेको शिलालेखमा उल्लेख गरिएको छ। 

जीर्णोद्धारको क्रममा पोखरीको चारैतिर पर्खाल लगाउनुका साथै पर्खालभित्र पोखरी वरिपरि स्टिलको बार लगाएको छ। पोखरीको डिलमा फुलवारीको विकास गरिएको छ। पोखरीमा पानी सुक्न नदिन टायल लगाएको छ। नगरपालिकाले बोडेको कमल पोखरी संरक्षणका लागि समेत पहलकदमी थालेको छ। ऐतिहासिक सो पोखरी केही व्यक्तिले दर्ता गरी निजी बनाएपछि उत्पन्न विवादले संरक्षण हुन नसकेपछि पुरिँदै गएको थियो। केही महिना अघि जिल्ला अदालत भक्तपुरले पोखरीको दर्ता खारेज गरी पुनः सार्वजनिक हुने ठहर गरेपछि नपाले संरक्षणका लागि चालु आर्थिक वर्ष ७५ लाख रुपैयाँ विनियोजन गरेको छ।

पहिलो चरणमा पोखरीको सिमांकन गरी संरक्षण गर्ने योजना बनाए पनि सिमांकनमा केही विवाद भएका कारण तत्काल काम सुरु नभएको नगरप्रमुख श्रेष्ठले बताए। उनले उपभोक्ता समिति गठन गरी पोखरी संरक्षणका लागि पहल भइरहेको बताउँदै मध्यपुर थिमिका सबै पोखरी संरक्षण गर्ने, आवश्यक ममर्त र जीर्णोद्धार गर्ने योजना रहेको जानकारी दिए। उनले पोखरी संरक्षणको योजनालाई नगरको साँस्कृतिक नगरी गुरुयोजनाले पनि सम्वोधन गरिने बताए। 

मध्यपुर थिमिका अधिकांश पोखरी मल्लकालीन पोखरी भएको स्थानीय सँस्कृतिकर्मी गणेशराम लाछीले बताए। जनजिविकासँग प्रत्यक्ष जोडिएको पोखरीहरूका धार्मिक र साँस्कृतिक महत्व रहेको बताउँदैं उनले स्थानीय इनार र ढुंगेधाराहरुको पानीको स्रोतको रुपमा समेत पोखरी रहेको जानकारी दिए। पानीको वैकल्पिक स्रोतको व्यवस्थासँगै परम्परागत पानीका मुहानको संरक्षण हुन नसक्दा पोखरी, इनार र ढुंगेधारा सुक्दै गएको उनको भनाई छ।

मध्यपुर थिमिमा बालकुमारी पोखरी, नासनानी पोखरी, भुरुख्य पोखरी, नैका पोखरी, पुखुसी पोखरी, विसंतकि (अशोक) पोखरी, थिमिलां पोखरी, लाछी टोल पोखरी, पाचो पोखरी, खाँसी पोखरी, द्यवु पोखरी, तछु टोल पोखरी, खपलाँ पोखरी, बपा पोखरी, विष्णु कुण्ड पोखरी, सिवा पोखरी, वामुने पोखरी, निगु पोखरी, सुँगा पोखरी, भुलाँख्य पोखरी, कयकु पोखरी र कुम्हालाछी पोखरी गरी २२ वटा पोखरी रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.