|

भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको गतिविधि संघियताविरोधी भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीमा शक्ति केन्द्रित गरेर सरकारले संघीयताविरोधी कार्य गरेको आरोप लगाएका हुन्।

नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काः जात्राको अवसरमा नगदेशको छ्वासटोलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री डा. कोइरालाले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको दाबीसमेत गरे।

उनले भने, ‘मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको सरकार सबै अधिकार आफैं राख्ने प्रयत्न गर्देछ जुन संघीयताविरोधी छ। यसले सरकार संघीयतामा विश्वास गर्दैन भन्ने देखाएको छ।’ उनले कांग्रेस एकतावद्ध भएर अघि बढे आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्ने दाबी गर्दै त्यसका लागि कांग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिए। उनले भने, ‘हामीभित्रको तिक्ततालाई भुल्नुपर्दछ। कांग्रेसले विपीले देखाएको बाटो भुल्नु हुँदैन।’

सरकारको एक वर्षे कामको मुल्यांकन गर्दै महामन्त्री डा. कोइरालाले भने, ‘सरकारको एक वर्षे कार्यकालमा धन्यवाद दिने खालको एउटा पनि काम भएको छैन। सरकारले काम गर्ने ठोस योजना पनि प्रस्तुत गर्न सकेको छैन। शान्ति सुव्यवस्था कायम हुनुको बदला मुलुकमा हत्या, हिँसा, बलात्कार, भ्रष्टाचारका घटना बृद्धि भएका छन।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् केन्द्रिय अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले सञ्चार क्षेत्र र सुरक्षा सम्बन्धमा सरकारले पेश गरेको विधेयकले सरकार एकदलिय अधिनायकवादतर्फ उन्मुख भएको स्पष्ट पारेको बताए। उनले सरकारसँग स्पष्ट र सहज बहुमत हुँदाहुँदैं दुई तिहाई बहुमत पु¥याउनुको रहस्य मुलुकलाई घेराबन्दीमा पारेर कैदखाना बनाउने प्रयत्न भएको आरोप समेत लगाए। उनले भने, ‘होइन भने दुई तिहाईको सरकार संविधानमा आदिवासी जनजाती, मधेशी, थारु, महिलालगायतको असन्तुष्टि किन संवोधन गर्दैन?’

सरकारमा मानवीय संवेदना हराएको भन्दै उनले सरकार लोकतान्त्रिक मूल्य मान्यतालाई निमित्यान्न पारेर मुलुकलाई अराकतातर्फ लैजान अग्रसर भएको बताए।

जिल्ला सभापति दुर्लभ थापाले ‘नेपाली कांग्रेस पुनर्जागरण अभियान २०७५’ मार्फत भक्तपुरमा निर्वाचनपछि निराश बनेका कार्यकर्ताहरुलाई पुनर्जागृत गरिरहेको जानकारी दिए। ‘जन जनमा कांग्रेस मन मनमा कांग्रेस’ भन्ने मुल नाराका साथ शुरु भएको पुनर्जागरण अभियानले कांग्रेसभित्रको तिठा मिठा बिर्सेर एकतावद्ध हुन अभिप्रेरित गरेको बताउँदैं सभापति थापाले आगामी नगरसभादेखी मध्यपुर थिमिका जनताले कांग्रेसले दुई तिहाइ जितेको अनुभव गर्ने गरी विकास निर्माणको अनुभूति गर्ने दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.