|

जनकपुरधाम : सप्तरीको हनुमान नगरपालिकाका हरिओम मेहता कोइरी ‘श्याम वर्ण’का छन्। छालाको रंगलाई लिएर उनलाई सधैं यस्ता प्रश्नहरुले पछ्याइरहे, ‘तपाई भारतीय हो? तपाईको घर कहाँ हो? तपाई कहाँबाट आउनुभयो? तपाई यहाँ के गर्दै हुनुहुन्छ?’

यस्ता प्रश्नहरुले काठमाडौंस्थित ललितकला क्याम्पसबाट मास्टर्ससम्मका अध्ययन गरेका हरिओमलाई आफ्नो पहिचान खोज्न हुटहुटी जगायो। त्यसपछि उनले आफ्नो पहिचानसँगै इतिहास र भूगोलको अध्ययन गर्न थाले। करिब तीन वर्ष तराई मधेशका साथै मुलुकको इतिहासलाई अध्ययन गर्न देशको विभिन्न स्थानको अवलोकन र अध्ययन गरे। जसलाई उनले क्यानभासमा उतारे।

नेपालको राजनीतिक परिवर्तनमा तराई मधेशको योगदान उल्लेख्य छ। हरेक व्यवस्था विरोधी आन्दोलनमा देशसँगै छ तराई मधेस। परिवर्तनको आन्दोलनमा काठमाडौंका नागरिक भन्दा कम आहुती दिएका छैनन् तराई मधेशका नागरिकले। तर, जब परिवर्तनले एउटा रुप लिन्छ, त्यसपछि यहाँका नागरिक किनाराकृत हुन्छन्। यस्तो नियती २००७ सालदेखि नै अहिलेसम्म दोहोरिरहेको छ। यही वास्तविकतालाई हरिओमले क्यानभासमा उतारेका छन्।

जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा मंगलबारसम्म चल्ने उनको चौथो एकल चित्रकला प्रदर्शनी जारी छ। मिथिलाञ्चलको ऐतिहासिक सभ्यता र वर्तमान यथार्थलाई गज्जबसँग साक्षात्कार गराउने ‘लिरिकल एक्जिस्टेन्स’ नामक प्रदर्शनीमा रहेका चित्रहरुले अवलोकर्ताको मस्तिष्कमा तुफान पैदा गरिदिन्छ। चित्रकला प्रदर्शनीमा गरिबी र अभावले खिइएका फुसका झुप्रा हुन् या कंक्रिटको ओत पाएर मुस्कुराइरहेका नागरिकका मुहार। ती सबैका भित्तामा मिथिला चित्रकलाको बेजोड बान्की देख्न पाइन्छ। 

मधेश, मैथिली कला संस्कृति, साहित्य र सिर्जनाको ‘जरो’ हो। वैभव र ऐश्वर्यको प्रतीक हो। यहाँ ६० को दशकमा तिरहुत राज्यका पालादेखिको मैथिली प्रस्तर, मूर्तिकला, चित्रकला स्थापित बनिसकेका थिए। हरिओम त्यही डोब पछ्याउन लागिपरेका छन्। उनले तराई मधेसको विद्रूप र तद्रूप यथार्थलाई रंगमा घोलेर क्यानभासमा उतारिरहेका छन्। ‘तराई मधेशको यथार्थ उदघाटन गर्नु नै मेरो कुचीको विशेषता हो,’ आफ्नो मूर्त, अमूर्त र अर्धमूर्त चित्रहरुमा कोरिकएका विम्बहरुलाई उनले यसरी अथ्र्याए, ‘पुस्तैनी कला र यर्थाथको अन्तरघुलनले नै मेरो कलाको परिचय दिन्छन।’

मैथिली संस्कृतिको नाभी तराई मधेश अहिले गरिबी र विपन्नताको विम्ब बनेको छ। सीमा क्षेत्रमा रहेका नदीमा निर्माण गरिएका बाँधले मधेसलाई खण्डहर बनाउँदै छ। चुरेको बलौटे माटोले प्राचीन मिथिला सभ्यतालाई बगर बनाउँदै छ। यस्तै, विपन्नताको गर्भमा जन्मिएका हरिओमको नजरमा आन्दोलनका अनेकन समयक्रले काठमाडौं र मधेशबीचको सम्बन्ध धमिल्याउने खतरा छ। यस्तो अवस्थाबारे सचेत गराउन चित्रकला प्रदर्शनी गरेको उनको भनाइ छ। उनले भने, ‘काठमाडौं र मधेशबीचको सम्बन्ध सेतु पनि लिरिकल एक्जिस्टेन्स।’

उनको चित्रकलामा तीन वटा गोलीले छिद्र तुल्याएको चापाकल पनि छ। यो मधेश आन्दोलनको जीवन्त तस्बीर हो। यही चापाकलमा पानी पिउन लाग्दा महोत्तरी जिल्लाको जलेश्वरका अमित कापरको आन्दोलनमै क्रममा लीला समाप्त भयो। पानी आउने कलबाट रगत चुहियो। त्यो घटना तराई मधेश मात्र होइन सिंगो मुलकु नै दुख्ने घाउ बन्यो। त्यही घाउलाई मेहता आफ्नो क्यानभासमा उतारेका छन्। क्यानभासको चापाकलबाट पानीका थोपा खसेका छैनन्। त्यहाँ रगतका थोपा खसेका छन्। यसले अधिकारको पैरवी गर्दा चापाकलले पनि गोलीको सामना गरेर आहत बन्नु परेको उनको बुझाइ छ।

हरिओमले गत वर्षको निर्वाचनमा एउटा दृश्य देखे। निर्वाचनको सरगर्मी बढेको थियो। यही बेला गाउँका एक जना नेता झोलामा पैसा बोकेर गाउँ छिरे। उनको आँखै अगाडि दीनदुःखीका बस्तीमा पसेर ‘मलाई भोट दिनुस् है’ भन्दै पैसाको बिटो थमाए र बिदा भए। गाउँको विकासमा कहिल्यै मन नलगाउने ती नेता चुनावताका मात्रै देखा पर्थे र पैसाको आडमै जित्थे। गत साल पनि उनकै पक्षमा पल्ला भारी भयो।

जारी चित्रकलामा उदेक लाग्दो उक्त घटनालाई पनि उतारिकएको छ। ग्यालरीमा प्रदर्शित ‘बहुरुपिया’को आफ्नै मुखाकृति भएको चित्रछटा मधेसी नेताको यही प्रवृत्तिको प्रतिछाया भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.