लगभग दुई महिना लाग्ने विज्ञको अनुमान
लगभग दुई महिना लाग्ने विज्ञको अनुमान
काठमाडौं : नेपालले पहिलोपटक आफ्नै लगानीमा सगरमाथाको उचाइ मापन सुरु गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागका प्राविधिक टोलीहरू विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्न बुधबार प्रस्थान गरेको छ।
मन्त्रालयले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले टोलीलाई शुभकामना दिएर पठाएका छन्। प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रवीन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाइ मापन गर्नेछन्। पिक प्रमोशन प्रालिका छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पा, आङ्बु शेर्मा, आङ पासाङ शेर्पा र केशव पौडेलले उक्त कार्यमा गाइडको काम गर्नेछन्।
यसरी गरिनेछ मापन
सगरमाथाको उचाइ नाप्न दुईखाले प्रविधि अपनाइनेछ। एउटा जिपिएस प्रविधि र अर्को ग्लोबल नेभिगेशन स्याटेलाइट सिस्टम (जिएनएसएस) बाट। बंगालको खाडीलाई सगरमाथाको आधारविन्दु मानेर टोलीले सिरहाको माडरबाट सगरमाथाको उचाइ नाप्नेछ। टोलीले सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङमा पर्ने करिब ३ सय वटा विन्दुमा सर्भेको काम सम्पन्न गरिसकेको टोली प्रमुख गौतम बताउँछन्।
सगरमाथाको टुप्पोसम्म पुग्ने दुई जनाले उचाइ नाप्ने विशेष मेसिन जिएनएसएस साथमा लैजाने छन्। ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (जिएनएसएस) मेसिनले उचाइको तथ्यांक संकलन गर्नेछ। उनीहरूले संकलन गरेको तथ्यांकलाई उचाइ मापनमा नै प्रयोग हुने आधुनिक प्रणालीबाट परिवर्तन गरिनेछ। सगरमाथा आधार शिविरमा रहने दुईजनाले आरोहणको समन्वय गर्नेछन्।
सगरमाथा क्षेत्रको कम्तीमा ८ स्थानमा लेबलिङ सर्भेका लागि स्थान छनोट गरी मेसिन राखिनेछ। लेबलिङ सर्भेले समुद्र सतहबाट कति उचाइ छ भन्ने तथ्यांक उपलब्ध गराउँने गौतमले बताए।
सगरमाथाको चुचुरोमा मेशिन राख्दा त्यस्तै मेसिनहरू कम्तिमा १२ वटा अन्य प्वाइन्टमा पनि राखिनेछ। त्यसपछि नेटवर्क कलेक्शन गरेर तथ्यांक आइसकेपछि प्रोसेसिङ गरिनेछ। नेटवर्क करेक्शन गरिसकेपछि बल्ल उचाइ आउनेछ।
यसअघि २०१७ को डिसेम्बरमा नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरको कार्यशालाको आयोजना गरेको थियो। जसमा अमेरिका, जापान, चाइना, भारत, न्यूजिल्याण्ड, इटली लगायतका देशहरूसँग सगरमाथाको उचार कसरी मापन गर्ने भनेर मेथोलोजी फाइनल गरेको थियो। त्यसैअनुसार अहिले नेपाल सरकारका प्राविधिक टोलीले सगरमाथा मापन गर्दैछन्। बढीमा ५० दिनमा मापन गरिसक्ने टोलीले बताएको छ।
मापनसम्बन्धी तथ्यहरू
विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाइ करिब १७० वर्षअघि मापन भएको थियो। नेपालले पहिलोपटक आफ्नै स्रोत साधनको प्रयोगमा सगरमाथाको उचाइ मापन गर्न लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्याल बताउँछिन्। मापन सम्पन्न भइसकेपछि यो नै सगरमाथाको आधिकारिक उचाइ हुने उनको भनाई छ।
सन् १९५४ मा 'सर्भे अफ इण्डिया'ले मापन गर्दा ८,८४८ मिटरको उचाइ निकालेको थियो। जसलाई हामीले अहिलेसम्म आधिकारिक उचाइ मान्दै आइएको छ। सन् २००५ मा चिनको 'नेशनल ब्युरो अफ सर्भेइङ एण्ड म्यापिङ'ले मापन गर्दा ८,८४४.४३ मिटर उचाइ निकालेको थियो।
सन् २००० मा अमेरिकाले मापन गर्दा ८,८५० मिटर उचाई रहेको उल्लेख गर्यो। यसैगरी इटालियनले सन् १९९२ मा मापन गर्दा ८,८४८.६५ मिटर उचाई निकालेको थियो। सन् १९७५ मा चिनले मापन गर्दा ८८४८.१३ मिटर निकालेको थियो। सन् १८४९ मा 'ब्रिटिस सर्भे अफ इण्डिया'ले मापन गर्दा ८,८४०.५० मिटर उचाई निकालेको थियो। तर, त्यतिबेला पुरानो प्रविधिको प्रयोग भएको थियो।
नापी विभागले विसं. २०७२ सालमा भूकम्प गएपछि नगरकोट, चन्द्रकोट, फुल्चोकीलगायत काठमाडौं वरिपरिका डाँडाहरूलाई आधार मानेर सर्भे गर्दा ०.९१ मिटर करिब १.०० मिटर उचाइ बढेको तथ्य निकाल्यो। त्यसपश्चात् विश्वभर नै सगरमाथाको उचाइको विषयलाई लिएर विभिन्न प्रश्न उठे। त्यसैबेला भारतले सगरमाथाको पछिल्लो उचाइ मापन गर्ने इच्क्षा व्यक्त गर्यो। तर त्यति नै बेला नेपालले नाकाबन्दीको सास्ती खेप्नुपरेपछि त्यो कुरा त्यतिकै रह्यो।
यस्तै सन्दर्भमा नेपाल सरकार आफैँले सगरमाथाको उचाइ मापन गर्ने भनेर घोषणा गरेअनुसार सरकारले सगरमाथाको उचाइ मापन गर्न सरकारी प्राविधिक टोली खटाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।