|

धनकुटा : नयाँ वर्षको पहिलो दिन सबैका लागि विशेष नै हुन्छ। विशेष दिनलाई रमाइलो, रोचक र अविष्मरणीय बनाउन धेरैको रोजाईमा घुम्न जाने नै पर्छ। त्यसैकारण यसपटकको नयाँ वर्षको पहिलो दिन धेरैको गन्तव्यमा परे प्रदेश १ का विभिन्न पर्यटकीय स्थलहरू।

विशेष गरी गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे), धनकुटाको भेँडेटार, कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, सुनसरीकै बराहक्षेत्र-विजयपुर र इलामको कन्याम पर्यटकको रोजाईमा परेका थिए। गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले (टीएमजे) पूर्वका उत्कृष्ट पर्यटकीय स्थलहरूमध्ये एक हो।

संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थलमा पर्ने तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रलाई गुराँसको राजधानी भनिन्छ। टीएमजे क्षेत्रमा विश्वमा पाइने ४२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस पाइन्छन। त्यसैले गुराँस फुल्ने मौसममा पर्ने नयाँ वर्षमा यस क्षेत्रमा पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ। यो क्रम बर्सेनी बढ्दै गएको छ। चैत महिनाको मध्यदेखि बैशाख महिनासम्म टिएमजे भ्रमण उपयुक्त मानिन्छ। किनकि त्यस बेला ढकमक्क फुल्ने गुराँसले टिएमजे दुलहीझैुं सजिएको हुन्छ।

वसन्त ऋतुको आगमनसँगै रंगीचंगी गुराँसले सबैको मन आनन्दीत बनाउँछ। तेह्रथुम वसन्तपुरबाट सुरु हुने टीएमजे घुर्मिसे, पाँचपोखरी, फेदी, चौकी, मंगलबारे, गुफा, सुके र जोरपोखरी हुँदै ताप्लेजुङसम्म पुग्ने पदमार्गको दायाँबायाँ गुराँस देखिन्छ। पदमार्गमै भेटिने लामपोखरी, गुफापोखरीलगायत साना-ठूला पोखरी थप आकर्षण हुन। यो क्षेत्रमा नयाँ वर्षमा मौसम सफा हुने ताप्लेजुङतर्फको कञ्चनजंघा, कुम्भकर्ण तथा संखुवासभातर्फको मकालु र चाम्लाङको दृश्यावलोकन गर्न पाइने र यही बेला गुराँस ढकमक्क फूल्ने भएकोले यस क्षेत्रमा विशेष गरि नयाँ वर्षमा पर्यटकको घुइँचो लाग्ने गरेको तेह्रथुमको बसन्तपुरका छिरिङ लामाले बताए।

गुराँसमात्रै नभएर वनै सेताम्मे पारेर फुल्ने चाँपलगायत फुलले यस क्षेत्रको थप सौन्दर्य बढाएको छ। यस क्षेत्रबाट ताप्लेजुङमा रहेको पाथिभरा देवीको दर्शन गर्न पाउने भएकाले पनि मानिसहरु यहाँ आउने गर्दछन। यहाँ रहेका  चौकी बजार, मंगलबारे बजार, मेन्छ्याम डाँडा, गुफा पोखरी पनि पर्यटकका आकर्षण हुन। 
यस क्षेत्रमा विदेशी पर्यटक छिटफुट मात्र पुगे पनि आन्तरिक पर्यटक नयाँ वर्षमा बढी पुगेका छन।

टीएमजेमा सुनसरीबाट ५०० जना बढी घुम्न आएको इटहरीका गोपाल निरौलाले बताए। उनले भने ‘बाटोमा तीनजुरे हिँडेको भन्ने त ४०/४५ समूह भेटेका थियौँ,’ निरौलाले ले भने ‘सुनसरीबाट मात्रै होइन तराईका अन्य जिल्लाबाट पनि उत्तिकै संख्यामा घुम्न आएका छन।’ धनकुटाबाट टीमएमजे पुगेका केशव कुँवरले मनोमोहक पाएको बताए। उनले भने, ‘पहिले पनि आएको हो तर, गुराँस कम फूल्ने गरेको देखेको थिएँ। यो पटक राम्रै फुलेको गुराँसको राजधानी जस्तो लाग्यो।’

यस पटकको नयाँ वर्षमा टिएमजेमा कति पर्यटक आए भन्ने एकिन तथ्यांक कतै नभेटिए पनि करिब सात हजारको हाराहरीमा आन्तरिक पर्यटकहरू आएको स्थानीय लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.