|

भक्तपुरः राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भक्तपुरमा नवदुर्गा भवानीको द्यो ब्वय्केगु पूजाको अवलोकन गरेकी छन्। भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती वर्ष समापनको अवसरमा आयोजित सो द्यो ब्वय्केगु पूजाको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी हुन्।

दिउँसो २ बजेर ३५ मिनेटमा जिल्ला प्रशासन कार्यालयको प्रांगणमा पुगेकी राष्ट्रपति भण्डारीले सर्वप्रथम नवदुर्गा भवानीको गणनाचले नाच्ने ईना ज्वनेगु प्याखँ अवलोकन गरेकी थिइन्।

त्यसपछि कार्यक्रमका संयोजक उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष एवं संघका पूर्वअध्यक्ष कृष्णप्रसाद ताम्राकारले नवदुर्गा देवगणका काल भैरवलाई मूलपूजा हस्तान्तरण गरेका थिए। भैरवबाट मूलपूजा आरम्भ भएपछि राष्ट्रपति भण्डारी दरवारस्क्वायरस्थित तलेजु भवानीको पूजा तथा दर्शन गरेकी थिइन्।

मूलपूजामा नवदुर्गाको मू बहाः (मुख्य बली) सुँगुरको बली दिइएको थियो। बली दिने बेला कुनै हतियार प्रयोग गर्न नपाइने परम्परा रहेको छ। कालभैरवले नङ्ले मूबहाः सुँगुरको बली दिएका थिए। द्यो ब्वयकेगु पूजाका अवसरमा मूलपूजापछि नवदुर्गा देवगणलाई सगुन दिनुका साथै विभिन्न परिकार, मिठाई, पान मसलासहितको नेवारी भोज चढाएको थियो।

सो अवसरमा राष्ट्रपति भण्डारीले जिल्ला समन्वय समिति (जिसस)को कार्यालय अवलोकन गर्नुका साथै जिसस प्रमुख नवराज गेलाल, भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतलगायतसँग छलफल गरेकी थिइन्। भोजपछि राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणको पूजा र दर्शन गर्नुका साथै दक्षिण चढाएकी थिइन्।

कार्यक्रममा राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले भक्तपुरलाई आर्थिक र साँस्कृतिक नगरीको पहिचानका रूपमा स्थापित गर्न नवदुर्गा देवगणको द्यो ब्वय्केगु पूजा र मौलिक कलाको प्रदर्शनी आयोजना गरेको जानकारी दिए। भक्तपुरको मौलिक उत्पादन र धार्मिक परम्परा विश्व प्रसिद्ध रहेको चर्चा गर्दै प्रजापतिले भक्तपुरलाई आर्थिक र साँस्कृतिकरुपमा समृद्धि बनाउन संघले सरकारी, गैरसरकारी निकाय र निजी क्षेत्रसँग सहकार्य गर्दै यहाँको कृषि, पर्यटन र निर्यातमुखी हस्तकलाको विकासमा जोड दिँदै आएको बताए। सो अवसरमा राष्ट्रपति भण्डारीले भक्तपुरको मौलिक हस्तकलाका सामाग्रीहरुको प्रदर्शनीसमेत अवलोकन गरेकी थिइन।

कार्यक्रममा सांसद बस्नेतका साथै प्रदेश सांसद डा. राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र र नेपाली सेनाका प्रमुख, जिल्लास्थित विभिन्न सरकारी निकायका प्रमुख र सर्वसाधारणको सहभागिता रहेको थियो।

अक्षयकोष स्थापना

यसैबीच नवदुर्गा भवानीको नाच र परम्परालाई जीवन्त राख्न अक्षयकोष स्थापना गरेको छ। सो अक्षयकोषमा जिल्ला समन्वय समिति भक्तपुरले १५ लाख र भक्तपुर उद्योग वाणिज्य संघले ५ लाख १५ हजार रुपैयाँ गरी कूल २० लाख १५ हजार रुपैयाँ जम्मा गरिएको छ। कोष वृद्धिका लागि संघले थप पहल गर्ने अध्यक्ष प्रजापतिले बताए।

नेमकिपाका जनप्रतिनिधि अनुपस्थित

कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायतका जनप्रतिनिधिको भने उपस्थित थिएन। कार्यक्रममा सहभागिता नभएको समन्धमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाको आफ्नै कार्यक्रममा व्यस्त हुनु परेकोले सहभागिता जनाउन नसकेको प्रतिक्रिया दिए।

विवादास्पद व्यक्ति संयोजक

राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर आयोजना गरिएको नवदुर्गा देवगणको द्यो ब्वयकेगु पूजा भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको हो। सो कार्यक्रमका संयोजकको रुपमा उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकार हुन्। ताम्राकार तिनै व्यक्ति हुन जसमाथि करोडौंको ठगी गरेको आरोप लागेको छ।

भक्तपुरको एक होटल व्यवसाय सञ्चालन गर्ने क्रममा ताम्राकारले अन्य शेयर सदस्यसँग १ करोड १५ लाख ठगी गरेको आरोपमा अदालतमा मुद्दासमेत विचाराधिन रहेको छ। भक्तपुरको दरबार स्क्वायरमा रहेको होटल यातुमा शेयर लगानी गराएर होटल सञ्चालन हुनुपूर्व अर्का शेयर लगानीकर्ता सरु महतले करिब १ करोड १५ लाख ठगिएको भन्दै ताम्राकारविरुद्ध प्रहरीमा उजुरी गरेका थिए। सो उजुरीका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले समेत छानबिन गर्ने क्रममा ताम्राकारलाई पक्राउ गरी पीडितलाई रकम फिर्ता गर्ने कागज गराएको थियो।

स्रोतका अनुसार सहमतिअनुसार ताम्राकारले रकम नदिएपछि पीडितले पटकपटक अपराध महाशाखालगायत गृहमन्त्रीसमक्ष न्यायको लागि निवेदन दिएका छन्। गृहमन्त्रालयले समेत ताम्राकारलाई पक्राउ गरी कारवाही गर्नु भन्ने आदेश दिए पनि पीडितले न्याय नपाएको पीडितको गुनासो रहेको छ। ठगीको आरोप लागेका विवादास्पद व्यक्ति संयोजक भएको कार्यक्रममा राष्ट्रपति जस्तो गरिमामय व्यक्तित्वको सहभागिता गराउनु सुरक्षा निकायको समेत कमजोरी रहेको जानकारहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.