पत्रकारदेखि जनप्रतिनिधिसम्म

|

काठमाडौं : केही वर्ष अघिसम्म वीरजन्जकी सलमा खातुन पत्रकारका रूपमा चिनिन्थिन्। तर, २०७४ सालयता उनको परिचय फेरिएको छ। पत्रकार बनेर समाजका हरेक गतिविधिको खबरदारी गर्दै आएकी सलमा अहिले जनप्रतिनिधि बनेकी छन् । उनी अहिले नगरपालिकाको उपप्रमुख बनेर समाजका मुद्दा मिलाउने काम गर्दै आएकी छिन्।  

डेढ दशक पहिले पत्रकारितामा बामे सर्दै थिइन् सलमा । पत्रकार बन्‍‍ने भूत चढेको थियो उनमा। स्थानीय सञ्चारमाध्यममा काम गर्दैगर्दा सलमाको ध्यान राजनीतितिर मोडियो। कुरा वि.सं. २०६२ सालतिरको हो। जतिबेला तराईमा मधेस आन्दोलन चर्किँदै थियो। त्यही बेला हो सलमाको दिमागमा राजनीति शब्दले प्रवेश पाएको। भर्खर पत्रकारिता सुरू गरेकी सलमा आन्दोलन चर्किएपछि पत्रकारिता छाडेर तत्कालिन मधेसी जनाधिकार फोरमको विद्यार्थी संगठनमा आवद्ध भइन् ।

विद्यार्थी संगठनबाट राजनीति थालेकी सलमाको पृष्ठभूमि पत्रकारिता हो। पत्रकारिता छाडेर राजनीतिमा हामफालेकी सलमामाथि विद्यार्थी संगठनमा काम गर्दै गर्दा पढाइलाई अगाडि बढाउने दबाब पनि थियो । त्यसपछि उनले राजनीतिबाट विदा लिएर पढाइलाई निनरन्तरता दिइन्।  

परिवारले कहिल्यै रोकेन

सलमा मुस्लिम परिवारमा जन्‍मिएकी हुन्। मुस्लिम परिवार भन्‍नेबित्तिकै कट्टरपन्थी परिवार । जसले आफ्ना छोरीचेलीलाई घरबाहिर जान दिँदैनन् भन्‍ने आमबुझाइ छ। तर सलमा यसमामिलामा भाग्यमानी ठान्छिन् आफुलाई। जसले आफूले चाहेको काम गर्न परिवारको कुनै बाधा अवरोध ब्यहोर्नुपरेन।

सलमाका बुवा अवकाशप्राप्त डक्टर हुन्। परिवारमा बुवाआमा बुझ्‍ने भएकाले उनले पढ्न लेख्‍न, चाहेको काम गर्न रोकटोक ब्यहोर्नुपरेन। 'बुवा अवकाश भइसक्नुभएको छ। आमा घरकै काम गर्नुहुन्छ। उहाँहरूले मलाई धेरै सहयोग गर्नुभयो। यसकारण म आफुलाई भाग्यमानी ठान्छु', सलमा भन्छिन्,'म जुन समुदायबाट आएँ, त्यो ठाउँको अवस्था हेर्दा मलाई मेरो परिवारले शिक्षाको अवसर दिनुभयो। पढ्छु भन्दा उहाँहरूले नाइँ भन्‍नु भएन, रोक्नु भएन। पढ्न पाएकैले मैले यी उपलब्धी लिन सकेँ।' 

प्रमाणपत्र तह र स्‍नातक तह वीरगन्जमा सकेकी सलमाले जिल्लाका विभिन्‍न सञ्चारमाध्यममा काम गरिन। मधेस आन्दोलनपछि पुनः मिडिया फर्किएकी सलमाले  ११ वर्ष मिडियामा बिताइन्। स्‍नातक तहको अध्ययन पुरा गरेपछि उनले काठमाडौंमा आएर केही समय टेलिभिजन पत्रकारिताको अभ्यास गरिन्।

काठमाडौंमा काम गर्दैगर्दा छात्रवृत्तिमा 'मिडिया' अध्ययन गर्न बंगलादेश गएकी उनले बंगलादेशबाट पत्रकारितामा स्‍नताकोत्तर गरेर पुनः नेपाल फर्किइन्। सन् २०१२ मा कृषक र प्रविधिसम्बन्धी मिडियामा काठमाडौंमा काम गरेकी सलमा ६ महिनापछि वीरगन्ज फर्किइन्। 

यसरी बनिन् नगरप्रमुख

काठमाडौंबाट फर्केर सलमाले वीरगन्जका स्थानीय पत्रिका र एफएममा काम गरेकी थिइन्। पत्रकारितामा चर्चित बन्दै गएकी थिइन् । यो पेशमा उनी सन्तुष्ट थिइन्। त्यहीबेला पत्रकार सलमालाई नगरपालिकाको उपप्रमुखमा चुनाव लड्ने 'अफर' आयो।

सुरुमा पत्रकारितामा लागेको मान्छे फेरि राजनीतिमा फर्किने नफर्किने दोधारमा परिन् उनी । तर अब राजनीति किन नगर्ने सोचेर उनी चुनाव लड्न सहमत भइन। 'हामीले सधैँ अरूका लागि एड्भोकेशी गर्छौँ। शिक्षित युवाहरू राजनीतिमा आउनुपर्छ। अनिमात्रै वास्तविक परिवर्तन हुन्छ र विकास गर्न सकिन्छ भन्‍ने लाग्यो', सलमाले सुनाइन्, ' निर्वाचन लड्न पार्टीले आग्रह गर्‍यो। अवसर पाइरहेको छु यति हुँदाहुदै किन 'ट्राइ' नगर्ने। अरूलाई झक्झक्याइ रहन्छौँ भनेपछि उपप्रमुखमा उम्मेदवारी दिएँ।' 

जग्गा र कुलो विवादका मुद्दा धेरै

नेपालमा तीनै तहको निर्वाचन सम्पन्‍न भएको एक वर्ष भइसकेको छ। जसले संघीयतालाई संस्थागत गर्दै अघि बढ्ने बाटो खोलेको छ । तर नयाँ सिस्टम भएकाले धेरै जनप्रतिनिधिहरु अन्यौलमा छन् । 

जसले गर्दा सुरुमा स्थानीय तहलाई काम गर्न पनि केही गाह्रो भयो। नयाँ संरचना भएकाले आइपरेको कठिनाईलाई फेस गर्दै जनप्रतिनिधि अघि बढिरहेका सलमा बताउँछिन् । 

'सुरूमा गाह्रो भएको थियो। कुरा बुझिएको थिएन। हामी सबै अन्यौल थियौँ, त्यहीकारण केही अप्ठ्यारो भयोयो। एक वर्ष बितेपछि धेरै सिक्यौँ, अहिले सजिलो भएको छ', उनले भनिन्, 'अहिले जनताले पनि बुझिसकेका छन्। उहाँहरू आफ्ना मुद्दा लिएर आफैँ आउनुहुन्छ। हाम्रो अधिकारक्षेत्र मुद्दा रेफर गरिदिन जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरिसकेका छौँ । उहाँहरूले पनि मुद्दा हामीलाई रेफर गरिदिनु भएको छ ।'

आफ्नो क्षमता बढाउन नियमित अध्ययन गरिरहने सलमा बताउँछिन। अध्ययनले कानुनी कुरा बुझ्न सहज भएको उनको ठम्याइ छ। तर अप्ठ्यारा विषयमा कानुनी सल्लाहरकारको सहयोग लिने गरेको उनले बताइन्। 'अप्ठ्यारो भएमा नगरपालिकाका अधिवक्तासँग सल्लाह लिने गरेका छौँ। धेरैजसो मुद्दाहरु हामीले मेलमिलापमै टुंग्याउने गरेका छौँ ।'

नगरपालिकामा प्रायः ९० प्रतिशत जग्गा मुद्दा विवाद, पैनी, कुलोका आउने गरेको सलमाले बताइन्। पछिल्ला दिनमा घरेलु हिंसा,लेनदेन, झै-झगडा न्यून हुँदै गएको सलमाको बुझाइ छ ।

क्षमता बढाउँदै जाऊँ

राज्यले सबै निकायमा महिलाको उपस्थिति अनिवार्य गरेको छ। यसले महिलाहरूले धेरै ठाउँमा नेतृत्वको अवसर पाए। जनताबाट निर्वाचित भएर महिलाहरु निर्णायक तहमा पुगे। जसले महिलाहरूको संख्यात्मक उपस्थिति राज्यको नेतृत्व तहमा बढायो।

तर अझै समाजले महिलाको नेतृत्व सजिलै स्वीकार्न नसकेको सलमा बताउँछिन। धेरै महिलाहरू शिक्षाबाट बञ्चित हुँदा कार्यक्षमतामा प्रश्न उठ्ने गरको उनको भनाई छ। 'धेरै महिला नेतृत्वमा त आएका छौँ। तर अधिकांशले पढ्नलेख्‍न पाउनुभएको छैन। त्यसले गर्दा उहाँहरूले कतिपय कुरा बुझ्‍न सक्नुभएको छैन', सलमा भन्छिन, 'त्यसकारण नेतृत्वमा आएका महिलाको क्षमता बढाउनुपर्ने आवश्यकता छ।'

केही कमजोरी रहे पनि काम गर्ने प्रयास गरिरहेको उनी बताउँछिन् । सहयोगी साथ लिएर काम गर्नुपर्दा कतिपय ठाउँमा नेतृत्वकर्ता भन्दा सहयोगीले प्राथमिकता पाउने अवस्था रहेको सलमा बताउँछिन। तर पनि महिलाहरूले काम गर्न खोजिरहेकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने उनको बुझाइ छ।

'म यसलाई सकारात्मक रूपमा लिन्छु। कमसेकम उहाँहरूले सुरूवात त गर्नुभएको छ। आज संख्या बढेको छ। बिस्तारै जो आउनुभएको छ, उहाँहरूको क्षमता बढाउनु पर्‍यो । यसले अन्य महिलाका लागि ढोका त खोलेको छ ।'

यो पनि पढ्नुस्ः

सञ्चारकर्मी सल्मा खातुन बनिन् प्रदेश नम्बर २ की पहिलो मुस्लिम उपप्रमुख

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.