|

दमक :  दमक–५ को भृकुटी चोकदेखि सगरमाथा पेट्रोल पम्प जोड्ने सडक सम्झौताअनुसार २०७५ असार २९ गते सम्पन्न गर्नुपर्ने उल्लेख छ।

तर २०७६ सालको वैशाख जान लाग्‍दा पनि काम पूरा भएको छैन। सडकका गौडागौडामा ढाट लगाएर हिँड्नै नहुने बनाइएको छ। धुलोका कारण स्थानीयलाई बसिनसक्ने भएको छैन भने सडक किनाराका व्यवसायीको कारोबार पनि ठप्पजस्तै छन्।

उपभोक्ताले सडक निर्माणमा ढिलाइ भएको भन्दै पटकपटक नगरपालिकाको ध्यानाकर्षण पनि गराएका छन्। उनीहरू एक वर्षमा निर्माण सम्पन्न हुनुपर्ने सडकको काम डेढ वर्ष नाघिसक्दासम्म काम नभएको भन्दै असन्तुष्टि जनाएका हुन्।

तीनपटक म्याद थप्दासमेत काम नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन्। नगरपालिकाले १२ सय मिटर लम्बाइको सडक निर्माणको ठेक्का इटहरीको जयबाबा–शेर्पा जेभीलाई दिएको छ। उपभोक्ताको लागत सहभागितामा निर्माण थालिएको सडक भ्याटबाहेक चार करोड सात लाख ९१ हजार आठ सय ८४ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सडक निर्माणका लागि नगरपालिका र ठेकेदार कम्पनीबीच ०७४ साउन २२ गते ठेक्का सम्झौता भएको थियो। तर पटकपटक समय थप गर्दा पनि काम पूरा नगरेको उपभोक्ता समिति अध्यक्ष गोपाल कृष्ण संग्रौलाले बताए। सडक निर्माणका लागि उपभोक्ताले प्रतिफुट एक हजार तीन सय ५० रूपैयाँका दरले जम्मा गरेको उनले जनाए । ठेक्का लागेको चार करोडमध्ये उपभोक्ताले एक करोड रूपैयाँ लागत साझेदारी गरेका छन्। एक सय ६५ परिवारले सो रकम जम्मा गरेका हुन्।

आउजाउ नै बन्द

यस अघि उपभोक्ताले नगरपालिकामा ध्यानाकर्षण पत्र पनि बुझाएका थिए। नगरपालिकाले चाँडै काम पूरा गराउने बताएको थियो। तर हाल सडक कालोपत्रेका लागि एक पटक अलकत्रा छरेर बाटो बन्द गरिएको छ। ढाट लगाएर बाटो समेत बन्द गर्दा आउ जाउनै बन्द हुँदा समस्या झनै थपिएको छ।

बाटो निर्माणमा भएको ढिलाई बारे माईधारमा रहेको बुटुमिन प्लान्टमा समेत पुगेर बुझेको अध्यक्ष संग्रौलाले बताए। निर्माण कम्पनीका प्रतिनिधीले सोमबार देखिनै काम थाल्ने बताए पनि मंगलबार समेत नभएका उनले जनाए। अन्यत्र पनि ठेक्का लिएको काम भई रहेको र रोलर समेत बिग्रिएकाले दमकको काम अघि बढाउन समस्या भएको कम्पनीका तर्फबाट जानकारी आएको उनको भनाई छ।

नगरपालिकाको अन्तिम प्रयास

नगरपालिकाले भने निर्माण कम्पनीलाई सडक निर्माण कार्य पूरा गराउन अन्तिम प्रयास भइरहेको जनाएको छ। नगरपालिका अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख गीता अधिकारीले सो सडक निर्माण अस्वाभाविकरूपमा लम्बिएको भन्दै जतिसक्दो काम पूरा गराउन अन्तिम प्रयास भइरहेको जनाएकी छिन्। यस अघिसमेत निर्माण कार्य पूरा गराउन निर्माण कम्पनीलाई भनिएको र अब जतिसक्दो चाँडो काम पूरा गराउन भनिएको उनले जनाएकी छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.