|

काठमाडौं : सरकारले ल्याएको नीति तथा कार्यक्रममा सत्तारूढ दल नेकपाकै सांसदहरू अलमलमा परेका छन्। उनीहरूले नीति तथा कार्यक्रमबारे स्पष्ट पार्न नेताहरूसँग माग गरेका छन्।

संघीय संसद भवन नयाँबानेश्वरमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा र तथ्यांकबारे स्पष्ट पार्न माग गरेका हुन्।

नीति तथा कार्यक्रममा 'मेरो सरकार' शब्दावली प्रयोगको सैद्धान्तिक आधार स्पष्ट पार्न उनीहरुले नेतृत्वसँग माग गरेका हुन्। सांसद जनार्दन शर्माले राष्ट्रपतिको सम्बोधनमा प्रयोग गरिएको ‘मेरो सरकार’ को सैद्धान्तिक आधार र उद्देश्य स्पष्ट पार्न माग गरे। 'जुन भाषा प्रयोग गरेर राष्ट्रपतिलाई विवादमा ल्याइयो, त्यो कुन मनसायले ल्याइयो प्रष्ट हुनुपर्छ', उनले भने । 

सांसद रामकुमारी झाँक्रीले नीति तथा कार्यक्रममा प्रस्तुत गरिएका केही तथ्याङ्क, प्रयोग गरिएका भाषाबारे प्रष्ट हुन चाहेको बताइन्। बैठकमा दलका उपनेता सुवास नेम्वाङ्गले वैशाख २४ गते सरकारको नीति तथा कार्यक्रम पास गर्न सहयोगको अपिल गरेका थिए । उनले नीति तथा कार्यक्र्म पास भएपछि २५ गतेदेखि बस्ने संसदीय दलको बैठकमा आफ्नो धारण राख्न पाउने बताएपछि अधिकांश सांसदहरुले नीति तथा कार्यक्रममै स्पष्ट पारिनुपर्ने माग गरेका हुन्। 

यता नेकपाले सांसदहरुलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमको दृढ भएर समर्थन गर्न निर्देशन दिएको छ। संसदीय दलको बैठकमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले बिमति नराखी छलफलमा भाग लिन निर्देशन दिए। उनले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने विषय आवश्यकतामा आधारित भएर टिपाउन सांसदहरूलाई आग्रह गरे।

 बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अहिले ल्याएको नीति तथा कार्यक्रम गत वर्षको तुलनामा जनपक्षीय रहेको दाबी गरे । उनले त्यसको समर्थनमा जनमत तयार पार्न सांसदहरुलाई निर्देशन दिए। भाषा र शैलीबारे प्रधानमन्त्रीले नै जवाफ दिने भन्दै दाहालले नीति तथा कार्यक्रममा व्यापक छलफल गरेर त्यही आधारमा आगामी वर्षको बजेटमा समेट्न सकिने स्पष्ट पारे ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.