|

डोल्पा : यार्सागुम्बाको मौसम सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन्। केही विद्यालय आंशिक रूपमा खुले पनि पठनपाठन हुन सकेको छैन।
विद्यार्थी र शिक्षक नै यार्सागुम्बा टिप्न पाटनतिर जाने तयारीम जुटेपछि डोल्पाका विद्यालयहरू रित्तै भएका हुन्।

विद्यार्थीहरू अभिभावकसँगै यार्सागुम्बा खोज्न जाने तयारीमा जुटेका छन्। विद्यालयमा हुने पढाइको व्यवास्ता गर्दै आफूसक्दो बन्दोबस्तीका सामान बोकेर धेरैजसो विद्यार्थीहरू यार्सापाटनतिर हिँडिसकेका छन्।

घरदेखि टाढा रहेका यार्सापाटनमा पुग्न समय लाग्ने भएकाले उनीहरु यार्सा खुल्नुभन्दा अघि नै पाटनतिर हिँडेका हुन्। त्रिपुरासुन्दरी नगरपालिकामा १ मा पर्ने त्रिपुरा मावि काटियाँचौर, वडा नं २ मा पर्ने त्रिपुराकोट मावि पनि बन्द भएका छन्। पाँच प्रतिशत पनि नियमित कक्षा लिन आउन छाडेपछि विद्यालय बन्द भएका हुन्।
कतिपय विद्यार्थी पाटन हिँडिसकेको र कतिपय पाटन जाने तयारीमा रहेकाले कक्षामा विद्यार्थी आउन छाडेको विद्यालयहरूले जनाएका छन्।

एकसाता अघिदेखिनै विद्यार्थी आउन छाडेपछि शिक्षक विद्यालय आउँदै फर्किँदै गर्ने गरेको त्रिपुरा मावि त्रिपुराकोटका शिक्षक नवराज थापाले बताए। यार्सागुम्बा टिपेर कमाइ गर्न विद्यार्थी सबै यार्सागुम्बा पाटन जाने तयारीमा जुटेसँगै शिक्षकहरू पनि यार्सागुम्बा टिप्न जाने तयारी गरिरहेको उनले बताए। 'डोल्पालीको आम्दानीको मुख्य स्रोत  भएकाले यार्सागुम्बा नटिपेर विद्यालय आउन पनि भन्न पनि सकिँदैन', उनले भने।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने जनप्रभा मावि लिकु, मुकुटेश्वर मावि फुल्चिङ, कस्तुरी आभारभूत विद्यालय भुतिङ्ग्रा लगायतका अधिकाशं विद्यालय बन्द भइसकेका छन्। त्यसैगरी आदर्श मावि जुफाल, सरस्वती मावि दुनै, लक्ष्मी मावि थर गाउँ, अन्नपूर्ण मावि शर्मी, त्रिपुरा मावि काइगाउँ, भगवती मावि थरगाउँ, तापरिजा मावि फोक्सुण्डो लगायतका विद्यालयमा पनि ९५ प्रतिशत विद्यार्थी आउन छाडिसकेका छन्।

आफ्नो विद्यालयमा ६०० हाराहारी विद्यार्थी भए पनि सिजन सुरु भएपछि १० देखि १२ जना पनि नआउने गरेको जनप्रभा मावि लिकुका प्रधानाध्यापक यामप्रसाद शर्माले बताए। ‘शिक्षकहरू विद्यालयमा गए पनि विद्यार्थी आउँदैनन्, शिक्षकहरु त्यसै बस्नुपर्छ’, शर्माले भने। यस्तै आदर्श मावि जुफालमा पनि विद्यार्थी छैनन्। 

विद्यालयमा विद्यार्थी नआउने घरमा काम पनि नहुने भएकाले शिक्षकहरू पनि यार्सागुम्बा पाटनतिर लाग्ने गरेका छन्। उनीहरूले पनि यार्सागुम्बा टिपेर पनि राम्रो आम्दानी गर्ने गरेका छन्। स्थानीय शिक्षकहरू यार्सागुम्बा पाटनमा लाग्ने  भएपछि जिल्ला बाहिरका सम्पूर्ण शिक्षक घरतिर लाग्छन्। विद्यालय बन्द भएको अवसर छोप्दै उनीहरु परिवारसँग भेटघाट गर्न घरतिर लागेका हुन्। 'विद्यालय बन्द भएपछि परिवारसँग भेटघाट गर्न घरतिर लागेको त्रिपुरा मावि त्रिपुराकोटका शिक्षक रामनाथ यादवले बताए।

डोल्पाका सम्पूर्ण पाटनमा १३ जेठ देखि औपचारिक रूपमा संकलनका लागि खुला गर्ने निर्णय गरिएको छ। सो दिन भन्दा अगाडि नै यार्सापाटनमा पुगिसक्नुपर्ने भएकाले धेरैजसो सर्वसाधारण हिँडिसकेका छन्। बाँकी सर्वसाधारण पनि एक दुई दिनभित्रै गाउँ नै शून्य पारेर यार्सागुम्बा पाटनतिर जाने गर्छन्। 

डोल्पामा सबै तहका गरेर ११४ वटा विद्यालय छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.