कम्युनिस्टलाई कम्युनिस्टकै थ्रेट!

|

काठमाडौंः मुलुकमा फेरि मुठभेटतर्फ जाने अवस्था देखिएको छ। सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पछिल्ला गतिविधिले देशलाई मुठभेटमा धकेल्ने संकेत गरेको हो।

चारजनाको ज्यान जाने गरी आइतबार काठमाडौंमा भएको विस्फोटपछि स्थिति झन् तनावपूर्ण बनेको छ। आइतबार र सोमबार भएका शृंखलावद्ध बम विस्फोटका घटनाले तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वलाई सम्झायो। जसले राजधानीकै बासिन्दा त्रसित छन्। 

सरकार पक्ष र विप्लव पक्ष कारवाही र प्रतिशोधतर्फ अगाडि बढेका छन्। यसले देशलाई भिडन्ततर्फ उन्मुख गराएको छ। दुवै पक्षले वक्तव्यबाजी गर्दै एक-अर्कामाथि दोषारोपण गरेका छन्। चेतावनीयुक्त भाषामा एकअर्कामाथि आरोप-प्रत्यारोप भइरहेको छ।

बढ्दै तनाव

गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा एकजनाको ज्यान जाने गरी बम विस्फोट गरियो। त्यसपछि फागुन २४ गते वैदेशिक रोजगार व्यवसायी रोहण गुरुङको घरमा बम विस्फोट भयो। यी दुई घटनापछि सरकारले फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगायो। अर्थात् राजनीतिक एजेन्डा बोकेर हिँडेको भनिएको विप्लव सरकारका नजमार आपराधिक समूह भयो। त्यसपछि प्रहरीले विप्लवका सयौँ नेता कार्यकर्तालाई गिरफ्तार गर्यो।

यसबीच प्रहरी र विप्लव समूहबीच झडपको स्थिति बनिरह्यो। गत सातामात्रै भोजपुरको ट्याम्के-मैयुङ गाउँपालिका-२ स्थित धोद्रे जंगलमा विप्लवका कार्यकर्ता तीर्थराज घिमिरे प्रहरीको गोलीबाट मारिए। आफ्ना कार्यकर्ताको ज्यान लिइएपछि विप्लव आक्रोशित भए। त्यसपछि स्थिति झन् जटिल बन्दैछ। जेठ ७ मा प्रहरीको गोलीबाट घिमिरेको मृत्यु भएको खबर सार्वजनिक भएपछि विप्लव समूह अझ बढी उत्तेजित बनेको हो।

देब्रे तिघ्रामा गोली लागेका घिमिरेलाई घटनास्थालबाट उपचारका लागि धरान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको सरकारी दाबी मान्न पक्ष तयार छैनन् विप्लव। त्यही घटनाको विरोधमा विप्लव समूहले सोमबार नेपाल बन्दको घोषण गर्यो।

नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गर्न जेठ ८ मा विप्लवद्वारा जारी विज्ञप्तीमा भनिएको थियो, ‘सरकारले भिडन्तको झुटो नाटक रची सामान्य राजनीतिक कार्यक्रममा हिँडिरहेका युवा संगठनका कार्यकर्ताको निर्मम हत्या गरेको छ। सरकारले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन्।’

गृहयुद्धमा धकेल्न खोजियो

कडा भाषामा प्रस्तुत विप्लवले सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर कार्यकर्तालाई चरम यातना दिएको आरोप लगाएका छन् । उनले कार्यकर्ताको हत्यासम्ममा उत्रिएर ‘देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरेको’ आरोप लगाए। 

यसअघिका बन्दको खासै प्रभाव नपरेकाले सोमबारको बन्द सफल बनाउन विप्लव समूह सक्रिय थियो। त्यसको परिणाम नै आइतबार भएको शृंखलाबद्ध बम विस्फोट हो। विप्लव समूहले बम विस्फोट गराएर सर्वसाधारणमा त्रास फैल्याउने तयारी गरिरहेकै बेला त्यही बमको शिकार आफ्नै कार्यकर्ता बन्‍न पुगे।

आगजनी, अपहरण, लुटपाट, बम विस्फोट हुँदै स्थिति नरसंहारसम्म आइपुगेको छ। सरकारतर्फ मानवीय क्षति नभए पनि विप्लवका गतिविधिले भौतिक संरचनामा क्षति पुगेको छ। उता, विप्लवतर्फका सदस्यको ज्यानै गएको छ। देशकै राजधानीमा बम बनाउँदै गर्दा विप्लव कार्यकर्ताको ज्यान जानु र त्यसपछिका वक्तव्यवाजीले स्थिती समान्य भन्दा झन् जटिल भइरहेको छ। 

कारवाही र प्रतिशोध

सरकार र विद्रोही समूह दुवै कम्युनिस्ट विचारधाराका हुन् । त्यहीकारण अहिले एक-अर्कामा ‘इगो’ देखिएको छ। माओवादी सशस्त्र द्वन्द्वको पृष्ठभूमि भएकै दल सरकारमा छ। विप्लव पनि त्यही पृष्ठभूमिको प्रतिनिधित्व गर्छ। जसले सम्बन्ध जटिल र प्रतिशोधपूर्ण बन्दै छ।

तत्कालिन माओवादीले सशस्त्र द्वन्द्वबाटै आफूलाई स्थापित गरेको बुझेका विप्लपले पनि हिंसालाई माध्यम बनाएर प्रभाव विस्तार गर्न खोजेको देखिन्छ। तर, सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने बम आतंक फैलाएर राजनीतिक उद्देश्य प्राप्त नहुने बताउँछन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्‍ने सोच्नु गलत हुने बताए। प्रचण्डले भने, ‘विप्लव समुहले गरेको नेपाल बन्द र बम बिष्फोटका घटनाले वार्तामा आउन तयार रहेको संकेत गरेको छ।’

यस्तै सोमबार संसदमा गृहमन्त्री रामबहादुर थापाले बोलेका कुराले पनि विप्लवका गतिविधिप्रति सरकार जानकार हुँदाहुँदै नजरअन्दाज गरेको प्रष्ट्याउँछ। गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले जन सरकार र जनसेना बनाएको खुलासा गरे। उनले विप्लवले जनसेनाका ४ कम्पनी खडा गरेको जानकारी दिए। 

यति मात्रै होइन, गृहमन्त्री थापाले विप्लवको मूल निशाना उपत्यका बनेको पनि बताए। विप्लवका यी गतिविधिप्रति जानकार हुँदाहुँदै एक्सन नलिनु, पूर्वघोषित बन्दमा हुनसक्ने अवाञ्छित गतिविधिप्रति समयमै सजगता अपनाउन नसक्नुले सुरक्षा निकायको भूमिकामाथि नै प्रश्न उठाइदिएको छ।

ओली-विप्लव आक्रोश

सरकार र विप्लव समूहका पछिल्ला निर्णय र अभिव्यक्तिले प्रतिद्वन्द्वीता विस्तारै प्रतिशोधतर्फ अघि बढेको छ। दुवैपक्षलाई हामी देखाइदिन्छौं भन्‍ने लागेको छ। सरकारमा बस्नेहरूका बोली र विप्लव पक्षका क्रियाकलापले परिस्थितिलाई झन् जटिल बनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई आतंककारीको संज्ञा दिए। राष्ट्रिय मानवअधिकार आयोगको सोमबारको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु, माग के हो? अब के चाहियो?’ विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्रीको भनाइ थियो।

बदला लिने चेतावनी

नेकपा नेतृत्वको सरकार बनेदेखि नै जनतामाथि दमन शुरु भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुष्ट छ। भोजपुर र काठमाडौं घटनापछि उसले सहिदको बलिदान खेर जान नदिने चेतावनी दिएको छ।

पार्टी महासचिव विप्लवले सोमबार साँझ विज्ञप्ति जारी गर्दै कम्युनिस्टका नाममा ‘केपी-पीके कम्पनी’ले नेपालमा फासीवादको अभ्यास गरिराखेको आरोप लगाएका छन्। उनले एकीकृत जनक्रान्ति सफल गरिछाड्ने जिकिर पनि गरेका छन्। 

सरकारलाई चुनौती दिन खोज्दा बम विस्फोट गर्ने क्रममा उनका आफ्नै कार्यकर्ता मारिएका छन्। वार्ताका लागि अग्रसरता नदेखाउनु र एकीकृत क्रान्तिको नारा अगाडि सार्दै विध्वसात्मक गतिविधि अघि बढानु विप्लवका लागि प्रतियुत्पादक बन्दैछ। 

‘केपी-प्रचण्डसँग बदला लिन्छौँ, चुप लागेर बस्दैनौँ’ भन्‍ने विप्लवको चेतावनी र ‘बम पड्काउने आतंककारी समूहलाई अब के चाहियो?’ भन्‍ने प्रधानमन्त्रीको प्रश्नले परिस्थतीलाई झन् गम्भीर बनाएको छ। वक्तव्यबाजी र चेतावनीको भाषा भन्दा अहिलेको आवश्यकता वार्ता र संबादबाट समस्याको निकास खोज्नु हो भन्दै अहिले नागरिक स्तरबाट दुवैपक्षका क्रियाकलापको विरोध भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.