गुटगत राजनीतिको सिकार बन्यो नेविसंघ

|

काठमाडौं : नेपाली राजनीतिका हस्ती उत्पादन गर्दै आएको नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ अहिले 'पेण्डुलम' बनेको छ। केन्द्रीय समिति विघटनपछि संघमा आवद्ध विद्यार्थी नेता जिम्मेवारीविहीन छन्।

गुटगत राजनीतिको शिकार बनेको छ नेविसंघ। नेविसंघमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको गुट शक्तिशाली छन्। गुटगत राजनीतिले नेविसंघको राजनीति क्रमशः धमिलिँदै गएको छ। १२ औं महाधिवेशनको लफडा शीर्ष नेताहरूको टाउको दुखाइको विषय बनेको छ। त्यसकै परिणाम करिब चार महिनादेखि नेविसंघ नेतृत्वविहीन छ।

कारखाना नै बन्द

जनता र कार्यकर्ता जगाउन भन्दै कांग्रेसजन यतिबेला देशव्यापी राष्ट्रिय जागरण अभियानमा छन्। कांग्रेसले राष्ट्रिय जागरण अभियान लिएर देश दौडाहमा निस्किँदा पार्टीकै भातृसंस्था भने अस्तव्यस्त छन्। जागरण र नेतृत्व विकासको प्रमुख आधार र स्रोत नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन छ।

नेविसंघकै राजनीतिबाट उठेर पार्टी हाँकिरहेका शेरबहादुर देउवाकै कार्यकालमा नेविसंघको यो कन्तबिजोग पार्टीकै लागि घातक हुने नेताहरू बताउँछन्।

पार्टी सभापति देउवासहित विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, सह-महामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, रामशरण महत, बालकृष्ण खाँण, धनराज गुरुङ, गगन थापा, नवीन्द्रराज जोशी, एनपी सावद, चन्द्र भण्डारी, गुरुराज घिमिरे र प्रदीप पौडेललगायतका नेताहरू उत्पादन गर्ने कारखाना भनेकै नेविसंघ हो। यीबाहेक पार्टीको केन्द्रीय तहका अधिकांश नेता नेविसंघ पृष्ठभूमिकै छन्।

समयमा महाधिवेशन हुन नसक्दा कांग्रेसमा नेता जन्माउने ‘नर्सरी’ नेविसंघ अस्तव्यस्त बन्‍न पुगेको हो। पटक पटक तिथि तोकिए पनि नेविसंघको महाधिवेशन हुन सकेको छैन। नेविसंघ जस्तो गतिशील संस्थालाई अनिर्णयको बन्दी बनाइ विद्यार्थी नेतालाई अन्योलमा राख्नु पार्टीको गम्भीर गल्ती भएको नेताहरू स्वीकार छन्।

नेता उत्पान गर्ने कारखाना नै निष्क्रिय हुनु पार्टीका लागि ठूलो घाटा भएको बताउँछन्, कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे। उनका अनुसार लामो समय नेवि संघलाई नेतृत्वविहीन बनाउनु पार्टीकै लागि क्षति हो। जागरण अभियानका जिल्ला-जिल्ला पुगेका घिमिरेले नेविसंघका विषयमा उठेका जवाफ दिनै नसकिने अवस्थामा पुगेको बताए। कारखाना नै बन्द हुँदा कुनै कालखण्डमा कांग्रेसमा नेताको अभाव खड्किन सक्ने उनको ठम्याइ छ।

आफ्नै उत्पादनले नेविसंघ ध्वस्त

कांग्रेसमा गुटगत राजनीति हावी हुँदा नेविसंघ पनि अछुतो रहन सकेन। यसको असर अहिले नेविसंघमा देखिएको छ। आपसी गुटबन्दी र भागवण्डामा अभ्यस्त भई नेतृत्व विकासको स्वाभाविक मार्गलाई अवरुद्ध पार्नु लोकतान्त्रिक पार्टीका लागि सुहाउने कुरा होइन। नेविसंघकै पृष्ठभूमिबाट राजनीतिको शीर्ष तहमा पुगेकाबाटै यसलाई नेतृत्वविहीन बनाइएकोमा धेरैको चित्त दुःखाइ छ।

नेविसंघको राजनीतिबाट पार्टीको केन्द्रीय समितिमा पुगेकाबाटै नेविसंघलाई ध्वस्त बनाउने काम भएको बताउँछन्, नेविसंघ सभापति नैनसिंह महर। उनका अनुसार समयमै महाधिवेशन हुन नसक्दाको परिणाम हो यो। निर्वाचित कमिटिको विकल्प खोज्न नहुने उनको भनाइ छ। नेतृत्व नहुँदा नेविसंघमा आएको विचलनलाई लम्ब्याइ राख्न नहुने महरले जोड दिए । पार्टीमा छलफल गरेर नेविसंघलाई छिट्टै नेतृत्व दिनुपर्ने उनी बताउँछन्।

नयाँ नेतृत्वको तयारी

नेपालमा भएका राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका संघर्षमा विद्यार्थी अग्रमोर्चामा रहेका छन्। राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका संघर्षमा विद्यार्थीले सुरुवाती नेतृत्व गरे। २००४ सालमा जयन्तु संस्कृतम् आन्दोलनबाट शुरु भएको नेविसंघको इतिहास २०३७ सालको जनमत संग्रह, २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना, २०६२/०६३ मा गणतन्त्र स्थापनार्थ भएका आन्दोलनसम्म उसको भूमिका अग्रणी छ।

गत भदौ २ मा नेविसंघको कार्यकाल सकिएपछि पटक-पटक म्याद थप्दै महाधिवेशनको मिति तोकियो। कात्तिक २८ र पुस २८ मा तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि संघका सभापतिसहितका पदाधिकारीले राजीनामा गरे। पदाधिकारीको राजीनामा पछि निष्क्रिय नेविसंघ पार्टीको जागरण अभियानको पहिलो चरणको कार्यक्रमपछि नयाँ नेतृत्वसहित सक्रिय हुने तयारीमा छ। 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम सकिएपछि नेविसंघले नयाँ नेतृत्व पाउने छ। उनले केन्द्रीय समितिमात्रै विघटन भएकाले पूरै संगठन नै निष्क्रिय रहेको भन्‍न नमिल्ने जिकिर गरे। जिल्ला तहमा नेविसंघको सक्रियता यथावत रहेको उनले बताए।

अरु संगठन पनि भद्रगोल

कांग्रेसका अन्य भातृसंगठनको अवस्था पनि भद्रगोल नै छ। नेविसंघ, तरुण दल, महिला संघसहित कांग्रेसका १३ भातृसंस्था छन्। तीमध्ये अधिकांश पदावधि सकिएर ‘तदर्थवाद’ मा चल्दै आएका छन्। 

भातृ संस्थामा नयाँ नेतृत्व चयनका लागि पार्टी नेतृत्वले अधिवेशन गराउन तदारुकता देखाएको छैन। किसान संघ १० वर्षदेखि तदर्थवादमा चल्दै आएको छ। यस्तै पार्टीको केन्द्रीय समितिका विभागले पनि पूर्णता पाएका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.