पहिल्यै सूचना पाएर चौकी छाडे प्रहरीले

|

काठमाडौं : सरकारको प्रतिबन्धमा परेपछि भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विप्लव समूहले सोलुखुम्बुमा तालिम केन्द्र चलाएको खुलेको छ। 

जनयुद्धका समयमा तत्कालीन माओवादीले नै सेल्टरका रुपमा प्रयोग गर्दै आएको जिल्लाको महानुकुलङ गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतको गुदेलस्थित जंगलमा विप्लवले सैन्य तालिम चलाएको दाबी सुरक्षा स्रोतले गरेको छ। 

पहिल्यै जानकारी थियो 

विप्लवले गुदेलको जंगलमा तालिम केन्द्र चलाएको सूचना डेढ महिनाअघि नै सदरमुकाम सल्लेरीस्थित सुरक्षानिकायलाई आएको थियो। 

सल्लेरीबाट २५ कोष टाढाको महाकुलुङ गाउँपालिकास्थित घना जंगलमा विप्लवले तालिम केन्द्र चलाएको सूचना पाएपछि डेढ अघिदेखि उक्त क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालित गरिएको थियो।

‘विप्लव समूहले गुदेलमा सैन्य तालिम चलाएको सूचनाका आधारमा त्यस क्षेत्रमा सशस्त्र प्रहरी ‘मूभ’ गरेका थियौँ’, सोलुखुम्बुस्थित एक सुरक्षा अधिकारी भन्छन्, ‘उनीहरुलाई त्यस क्षेत्रबाट हटाउने रणनीति अनुसार सशस्त्र प्रहरी पठाइए पनि तालिम केन्द्र रहेको जंगलसम्म पुग्‍न सकेका थिएनन्।’

आएको थियो चौकी आक्रमणको सूचना

विप्लवका लडाकुले महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकीमा आक्रमण गर्न लागेको सूचना जिल्ला सदरमुकाममा साताअघि नै आएको थियो। 

सुरक्षा स्रोतका अनुसार विप्लवले छेस्काम प्रहरी चौकी आक्रमणको सूचना पाएलगत्तै जिल्ला प्रहरी प्रमुख डिएसपी शालिकराम शर्मासहितको टोली शनिबार त्यसतर्फ गएको थियो। 

सदरमुकामबाट डिएसपीसहितको टोली पुगेपछि छेस्काम चौकीका प्रहरीलाई त्यहाँबाट अन्यत्र ‘डाइभर्ट’ गरियो।

मुठभेड नगर्ने रणनीति

महाकुलुङमा विप्लवका कार्यकर्ताले आधुनिक हतियारसहित गतिविधि गरेको सूचना डेढ महिना अघि नै सोलुखुम्बुस्थित सुरक्षा अधिकारीले पाएपछि सतर्क भएका थिए। 

‘विप्लवका कार्यकर्ता ठुलो संख्यामा गाउँमा देखिएको सूचनाका आधारमा सतर्कता अपनाइएको थियो’, ती सुरक्षा अधिकारीले भने, ‘जिल्लास्थित सुरक्षा नेतृत्व सकेसम्म मुठभेड नगर्ने रणनीतिमा देखिएको छ। जिल्लामा सेल्टर बनाएका विप्लवका कार्यकर्तालाई त्यहाँबाट हटाउने प्रयास भएको महिना बितिसकेको छ। तर उनीहरुले अझ गतिविधि बढाएका छन्।’

यो पनि : विप्लवका कार्यकर्ताद्वारा प्रहरी चौकी कब्जा प्रयास!

त्यही रणनीति अनुसार प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरसँगको परामर्शपछि डिएसपी शर्मा शनिबार एकजना इन्सपेक्टर उत्तम कार्कीसहितको प्रहरी टोली लिएर त्यसतर्फ लागेका थिए।

चौकीबाट प्रहरी हटाइयो 

विप्लवले आक्रमण गर्ने सूचना पाएलगत्तै जिल्लास्थित सुरक्षा नेतृत्वले छेस्काम प्रहरी चौकीबाट युनिटलाई नै अन्यत्र तानिएको थियो । विप्लवको सम्भावित आक्रमणको सूचना स्थानीयबासीबाट पाएपछि आइतवार साँझैमा प्रहरीले चौकी छाडेका थिए। प्रहरीले छाडेपछि खाली भएको चौकीमा मध्यराति विप्लवका कार्यकर्ता पुगेका थिए। उनीहरुले चौकीमा पसेर सबै सामान खोजेर हेरेका स्थानीयले बताएका छन्। तर चौकीमा उनीहरुले कुनै भौतिक क्षति भने गरेनन्।

‘जिल्लास्थित सुरक्षा र प्रशासनको नेतृत्वले मुठभेड गर्नु भन्दा साइड लाग्नु उचित हुने निचोडसहित प्रहरीलाई छेस्कामबाट अन्यत्र सारे’, स्रोतले भन्यो, ‘चौकीमै प्रहरी बसेको भए मानवीय क्षति हुने अवस्था थियो। त्यसो हुन नदिन सुरक्षा अधिकारीले  सतर्कता अपनाएका हुन्।’ 

हेलिकोप्टरबाट सुरक्षा टोली

विप्लवका कार्यकर्ताको समूह आइतवार राति छेस्काम प्रहरी चौकीमा आएको सूचना स्थानीयले सदरमुकामसम्म पुर्‍याएपछि सोमबार जनपथ र सशस्त्र प्रहरीको टोली त्यहाँतर्फ लागेको छ । 

दुईजना डिएसपीसहित प्रदेश प्रहरीको टोलीलाई हेलिकोप्टरबाट महाकुलुङमा उतारिएको छ । त्यसैगरी सशस्त्र प्रहरीको एउटा टोली पनि त्यसतर्फ पठाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले जानकारी दिएका छन्। सोलुखुम्बुका डिएसपी शालिकराम शर्मासहितको टोली शनिबारै त्यहाँ गइसकेको छ। 

विकट ठाउँमा गतिविधि

विप्लवका कार्यकर्ताले जनयुदद्धका समयमा माओवादीले प्रयोग गरेकै क्षेत्रलाई सेल्ट बनाएका हुन्। महानुकुलङ वडा नम्क्बर ४ र ५ गुदेल भोजपुर, संखुवासभा र खोटाङको सीमाक्षेत्र हो। 

यो क्षेत्र भौगोलिक रुपमा विकट छ । करिब ३५ सयदेखि ४२ सय मिटरको उच्च पहाडी भूभागको यस क्षेत्र अन्तर्गत गुदेलमा घना लेकाली जंगल रहेको छ। भोजपुरको साल्पा पोखरीसँगै जोडिएको सोलुखुम्बुतर्फ रहेको ठुलो जंगललाई विप्लवले पनि उपयोग गरेका हुन्। 

स्थानीयले देखे तालिम

सदरमुकामस्थित सुरक्षानिकायलाई महाकुलुङका स्थानीयले गुदेलको जंगलमा सैन्य तालिम भइरहेको सूचना दिएका थिए। ‘स्थानीयबासीले तालिम गर्दै गरेको जानकारी पहिले नै दिएका थिए’, सोलुखुम्बुस्थित एक सुरक्षा अधिकृत भन्छन्, ‘सशस्त्रको टोलीले त्यो घना जंगला छिचोल्न नसकेर फर्कियो। दुई चार दिन गुदेलमा बसेको थियो सशस्त्रको टोली।’

स्थानीयबासीले महाकुलुङमा गतिविधि गर्ने विप्लवका कार्यकर्ता अन्य जिल्लाका भएको बताएका छन्। विप्लवका कार्यकर्ताले तालिम गरिरहेको सूचनापछि उच्च सतर्कता अपनाइएको दाबी एक प्रहरी अधिकृतले गरेका छन्।

दूधकोसीबाट गाडी जाँदैन 

महाकुलुङको छेस्काम र गुदेलसम्म पुग्न अझै पनि पैदल नै जानुपर्छ। महाकुलुङको केन्द्र रहेको बुङसम्म गाडी गए पनि छेस्काम र गुदेल जान दूधकोसी छिचोल्नुपर्छ।

सोताङ गाउँपालिकाको पावै र थुलुङ दूधकोसीको देउसा जोड्ने दूधकोसीम ह्युम पाइप राखेर गाडी वारपार गरिन्छ। तर हिउँदमा मात्रै, वर्षा लागेपछि त्यो झिक्छन् गाउँलेले।

सडक बनिनसकेकाले यहाँसम्म पुग्न सुरक्षाकर्मीका लागि चुनौतीपूर्ण छ। ‘गाउँपालिकाको केन्द्रसम्म कच्ची बाटो छिचोल्दै गाडी जान्छ । तर दूधकोशी तरेर छेस्काम र गुदेल जानुपर्छ। हिउँदमा ह्युम पाइप राखेर गाडी तारिन्छ’, एक स्थानीयबासी भन्छन्, ‘वर्षा लागेसँगै यी गाउँसँग सदरमुकामको सम्बन्धबिच्छेद जस्तै हुन्छ।’

विप्लवका तीन कार्यकर्ता जेलमा 

अघिल्लो वर्ष भएको निर्वाचनका क्रममा डोजर जलाएको आरोपमा प्रहरीले विप्लवका तीन कार्यकर्तालाई पक्राउ गरेको थियो । 

पक्राउ परेका ती कार्यकर्ता अझै पनि जेलमा छन्। विकट हिमाली जिल्लामा विप्लवको गतिविधि बढेपछि सुरक्षाकर्मीसँग लुकामारी चलिरहेको छ। ‘ धेरै हल्ला गर्दा क्षति हुन सक्छ भन्ने बुझेर जिल्लाको सुरक्षानिकाय मुठभेडको रणनीतिमा छैन’, एक सुरक्षा अधिकृत भन्छन्, ‘बरु जिल्लाबाट उनीहरुलाई अन्यत्र लखेट्ने गरी सशस्त्र र जनपथको टोली परिचालित गरिएको छ। सकेसम्म जम्काभेट नगर्ने रणनीति बनाइएको छ ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.