|

काठमाडौं : केही दिनअघि एक युवा ज्योतिषी प्रहरी हिरासतमा परेको समाचार सामाजिक सञ्जालमा छायो। भूकम्प आउने पूर्वानुमान गरेर अफवाह फैलाएको आरोपमा ज्योतिषी अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरिसकेको छ। ती ज्योतिषी हिरासतमा पुगेको समाचार पढिसकेपछि म अर्का ज्योतिषी खोजिरहेको छु। प्रहरीले ती ज्योतिषीलाई खोजिरहेको होला, मलाई थाहा भएन।

प्रहरी र मेरो उद्देश्‍य एकै छैन। मेरो जीवनको एउटा कालखण्डमा केही व्यक्तिले सम्मानको डेरा जमाएर बसेका छन्। तिनैमध्येका एक हुन् ती ज्योतिषी।

जीवनको आधा उमेर बिताइरहँदा ती अपरिचित ज्योतिषीको याद आइरहेको छ। म चाहन्छु, जीवनमा एकपटक उनलाई भेटूँ अनि धन्यवाद भनौँ। उनले चाहे भने एक साँझ उनलाई डिनर खुवाउन म आतुर छु।

उनको नाम के थियो? थाहा पाइनँ। अलिअलि तनाव र अलिअलि खुसी भएका बेला मान्छेले धेरै कुरा सोध्‍न र सम्झन भुल्छ। म पनि त्यसको अपवाद हुन सकिनँ। मैले ती ज्योतिषीको नाम के हो भनेर सोध्‍नै भुलेछु।

पछाडिको भाव र पृष्ठभूमिलाई गाँस्दा करिब ४८ सेकेन्ड र नगाँस्दा २४ सेकेन्ड उनले ती ज्योतिषीका कुरा काटे। कुरा काटे मात्रै के भन्यौँ अगाडि पाएको भए झापट नै हान्थे होला। नत्र पनि लोपारिदिन्थे होला।

परिवारमा सबैभन्दा प्रिय मेरी छोरी हो। जब म मेरी छोरीका अगाडि दिनभरको थकान लिएर पुग्छु तब उसको एक मुस्कानले थकान मेटिदिन्छ। सायद यो दुनियाँका हरेक बाबुहरूको थकान उनीहरूका सन्तानको हाँसोसँगै मेटिएर जान्छ।

मभन्दा दुई गुणा बढी काममा खटिने आमाले मलाई देख्दा कति थकान मेट्नुहुन्थ्यो होला मलाई थाहा भएन। उकालो बाटोमा गह्रौँ भारी बोकेर हिँड्दा पसिनाले भिजेका बेला पिपलको छहारीमा जति आनन्द लिइन्छ, त्यति नै आन्द छोरीसँग बस्दा लिन्छु। जब म छोरी नजिक पुग्छु तब मलाई ती ज्योतिषीको याद आउँछ।

मैले जानेर छोरीलाई खुला आकाशमा ल्याउन त उनको परामर्श लिइनँ। सायद मलाई जन्माउने आमा वा आमालाई जन्माउने आमाकी आमा वा कसैलाई परामर्श दिए होलान्। त्यसैले त यति धेरै सम्मानभाव जागेको छ मेरो मनमा।

म ती ज्योतिषीलाई जति सम्मान गर्छु, त्यति नै घृणा अन्यले उनलाई गर्दा हुन्। कुनै व्यक्ति सबैको प्रिय बन्‍न सक्दैन। जो कोही सबैको प्रिय बन्‍ने हो भने यो दुनियाँ यति सुन्दर नहोला पनि।

ती ‘एक ज्योतिषी’ को कुरा काटेको मैले पटकपटक सुनेको छु। दुई दिनअघि (बुधबार) मात्रै उनको कुरा काटेको सुनेको थिएँ। उनको कुरा सामान्य मान्छेले होइन, प्रतिष्ठितले काटेको हो। कानमा होइन माइकमा।

मेरो अनुमान ज्योतिषीसँग ती प्रतिष्ठित मान्छेलाई धेरै रिस उठेको। आयातमुखी अर्थतन्त्र भएको अवस्थामा आफ्नो उत्पादन विदेशमा बेच्ने प्रतिष्ठित व्यापारी हुन् उनी। बुधबार दिउँसो २: ४५ बजे मेरासहित झण्डै सयजनाका दुई सय कानलाई उनले ज्योतिषीबारे गुनासो र आक्रोश पोखे।

ती प्रतिष्ठित मान्छेले काटेको कुरा मेरो कानमा अझै घन्किँदै छ। उनले भनेका थिए, ‘…बुढी सुत्केरी हुनेवाला थिई, के जन्मछ भनेर ज्योतिषीकँहा भोटो बोकेर गयौँ। ज्योतिषीले फ्याट्ट छोरो भन्दियो, खुसीले दंग परियो। व्यथा लाग्‍ने समय पर्खेर बस्यौँ, तर छोरो होइन छोरी पो जन्मिइन्।सहनै पर्‍यो…।’ पछाडिको भाव अली बढी थियो। पृष्ठभूमिमा पनि उनले केही कुरा गरेका थिए। पछाडिको भाव र पृष्ठभूमिलाई जोड्दा करिब ४८ सेकेन्ड र नजोड्दा २४ सेकेन्ड ज्योतिषीका कुरा काटे उनले। कुरा काटे मात्रै के भनौँ, अगाडि भेटेको भए झापट नै हान्थे होला। नत्र लोपारिदिन्थे। 

ती व्यापारीको कुरा सुनेर मलाई ज्योतिषीप्रति ठूलो सम्मान जागेको छ। यदि कसैले भेट्टाइदियो भने उसलाई राखेर चिया पार्टी गर्छु।

व्यापारीको अभिव्यक्ति सुन्दा ज्योतिषीका कारण छोरी जन्मेकी हो। नत्र विज्ञानको जमानामा भ्रूण हत्या भइसक्थ्यो।  धन्‍न ज्योतिषीले छोरो छ भनिदिए। फलस्वरूप एउटी छोरी जन्मिइन्। एउटा अबोध बालकले धर्तीमा आउनुअघि नै मृत्युको अनुहार देख्‍नुपरेन। विचार गर्छु, ती ज्योतिषीले छोरा जन्मन्छ भनेर कति छोरी बचाएका होलान्। त्यसैले ती ज्योतिषी मेरा लागि सम्मानित छन्।

हुन त बच्चालाई सबैले माया गर्छन्। छोराको चाहना अहिले पनि देखिन्छ। हाम्रो बोलीचालीले पनि त्यो उजागर गरेको देखिन्छ। मेरी छोरीको नाम 'इभा' हो। मेरो परिवारमा उनलाई इभा होइन युवा भनेर बोलाइन्छ। उनी आफैं ट्वा पर्छिन्। र, भन्छिन् म युवा होइन इभा हो। छोरीलाई धैरै माया देखाउन खोज्दा भनौँ या प्याउलो बनाएर बोल्दा मैले छोरो नै भन्छु। त्यति मात्रै होइन, छोरो छोरो हुँदै तोनो। छोरी भन्छिन्, 'के तोनो तोनो गरेको हो? म छोरो होइन, तपाईं कि छोरी हुँ।'

उनी चार पुगेर पाँचमा लागिन्. छोरा छोरीका विशेषता छुट्याउने भएकी छैनन्। दुवैलाई समान देखिन्छिन्। तर, उनी ‘रेड’ र ‘पिंक’ छोरीको कलर भन्छिन्। तर किन होला मलाई नै थाहा छैन।

जे होस् अहिले त उनी सबै कुरा बुझ्ने नभई समान देखिकी हुन्। तर समाजले सबै कुरा बुझेर समान देख्ने भए हुन्थ्यो। पेटको बच्चा बाहिर ल्याउन कसैले छोरो जन्मिन्छ भन्दिन नपरे हुन्थ्यो। कहिलेसम्म झुट बोलेर ती ज्योतिषीले छोरीहरूलाई यो धर्तीमा पाइला टेकाउनुपर्ने हो?

कम्तीमा नजानेर भए पनि छोरो जन्मिने परामर्श दिएर पेटकी बच्ची बाहिर ल्याउन मद्दत गर्ने ती ज्योतिषी कहाँ होलान्?  भेट्न पाए......

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.