|

धनकुटा : काकु, बाङ्गेलगायत विभिन्न उपनामले दर्शकमाझ चिनिने कलाकार दीपक आचार्यको नाम नसुन्ने कलाप्रेमी सायदै होलान्। टेलिभिजन र युट्युब, स्टेजमा वा अन्य माध्यमबाट सबैका मन र ध्यान तान्न सफल वर्तमान परिवेशका चर्चित हास्य कलाकार हुन्, आचार्य। केही समयअघिबाट चर्चित हास्य टेलिशृंखला ‘भद्रगोल’मा काकुको भूमिकामा जोडिएका आचार्य नेपाली दर्शकमाझ थप चर्चाको शिखरमा छन्। कलाप्रेमी रूपको मन मुटुमा अटेका छन् उनी।

'बदला'देखि भद्रगोलसम्म

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा जन्मिएका आचार्यले २०५० सालमा एसएलसी दिएपछि गाउँमै क्लबबाट देउसीको नेतृत्व गर्नुका साथै 'बदला' र 'गरिबी' नामक नाटकको लेखन तथा निर्देशन गरेर कलाकारिताको सुरुवात गरेका थिए। त्यो बेला गरिबी नाटकलाई सिधुवा बजारमा प्रदर्शन गरि संकलित भएको रकमबाट

गाउँमा रहेको विद्यालयलाई जस्तापाता किन्न सहयोग गरेको उनले बताए। 'त्यो नाटकबाट करिब तीन हजार रुपैयाँ सकंलन भएको थियो।' उनी सम्झन्छन्। त्यसपछि सफल कलाकार बन्न २०५५ सालमा राम्रो कलाकार बन्न काठमाडौं पसेका आचार्यले सुरुमा धेरै दु:ख पाए।

काठमाडौंमा पुगेपछि संघर्षका दिन सुरु भए उनका। लक्ष्यलाई पूरा गर्न काठमाडौं आएका उनले संघर्ष त गर्नैपर्थ्यो। उनी सम्झन्छन्,  'काठमाडौंमा सुरुमा साइकलमा सामान बोकेर बेच्दै हिँडियो।' त्यति मात्रै नभएर खैनी प्याकेजिङको काम पनि गरेको आचार्य सम्झन्छन्।

काठमाडौं पसेको ६ महिनापछि तत्कालीन टेलिसिरियल हिजोआजका कुरामा अभिनय गर्ने सानो रोल पाएका आचार्यले हिस्टोरिकल सिरियल जंगबहादुरमा पनि अभिनय गर्ने मौका पाए।

त्यसपछि केही वर्षअगाडि मेरी बास्सैमा बाङ्गेको अभिनय गरेका आचार्य अहिले भद्रगोलमा काकुको भूमिकामा रहेका छन्। कलाकारितामा पूर्णरूपमा स्थापित नभएको बताउने आचार्यले हालसम्म करिब ५० म्युजिक भिडियो र ५० बढी सर्ट मुभीको निर्देशन गरिसकेका छन्। करिब १ वर्षअघि निर्माण भएको चलचित्र श्री ५ अम्बरेको निर्माता र निर्देशन पनि आचार्यले नै गरेका हुन्।

 'टेलिसिरियलमा पाएको सानोसानो रोलमा सकेको मिहिनेत गर्ने प्रयास गरेको थिएँ', उनी भन्छन्, 'म निरन्तर लागिरहेँ समयले साथ दियो कलाकार बनायो।’ विभिन्न स्टेजमा प्रस्तुती पनि गरेको आचार्यले सन्ताष पन्तले दिएको सानो भूमिको कारणले अहिले निरन्तर क्यामेरा र स्टेजबाट दर्शकको माया पाएको बताउँछन्।

विद्यार्थी जीवनदेखि नै कलाकारितामा रुचि राखेका आचार्यले अहिले कार्यक्रममा जान भ्याइनभ्याई छ। उनले देशदेखि विदेशसम्मका कार्यक्रममा दर्शकसामु प्रस्तुति गरेका छन्।

कला क्षेत्रमा प्रवेश गरेको झण्डै २५ वर्ष भयो। हाल जीवन गुजाराको आधार यही कलाकारिता नै बनेको उनी बताउँछन्। मौलिक कला, संस्कृतिमा रहेर समाजसुहाउँदो कला प्रस्तुत गर्ने व्यक्ति मात्र कलाकार हुनसक्ने उनको मत छ। ‘कलाकार दियोजस्तै हुनुपर्छ। तेल थप्दै गयो भने दियो  निरन्तर बलिरहन्छ।’

बाङ्गेभन्दा काकु चर्चामा

कलाकारितामा प्रवेश गर्न निकै दु:ख व्यहोरेका आचार्यको आफ्नै रोचक अनुभव छ। कलाकारितामै लाग्छु भनेर २० वर्षअघि काठमाडौं पसेका आचार्यको अहिलेको परिचय हास्य कलाकार हो। कलाकारितामा प्रवेश गर्न कडा संघर्ष गरेर कला क्षेत्रमा प्रवेश गरेका आचार्यको अनुभव युवा पुस्तालाई पाठ हो। साइकलमा सामान बेच्नेदेखि चर्चित कला क्षेत्रमा चम्कँदै गरेका आचार्यको संघर्ष सुन्दा सायद उनले गरेको संघर्ष कसैले गरेहोला जस्तो लाग्दैन।

नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृंखला ‘भद्रगोल’मा ‘काकु’को भूमिकामा रहेका आचार्यको आफ्नै सिर्जना हो। ‘बाङ्गे बनेर मेरी बास्सैमा पनि अभिनय गरेको छु’ उनले भने, ‘बाङ्गेले खासै चर्चा कमाउन सकेन।’ काकुको अभिनयमा कसैको केही कुरा चित्त नबुझ्‍नेमा अभिनय गरेको उनको भनाइ छ।

‘आफूले भनेको मात्र हुनुपर्ने मान्यता काकुको भूमिकामा रहेको छ। सुरुमा काकुलाई सहरको बनाइएको थियो। तर, यो दर्शकले खोजेजस्तो भएन', उनले भने, 'काकु रक्षासँग गाउँमै बस्ने भएपछि दर्शकले मन पराउन थाल्नुभयो। मलाई काकु बन्न ३५ मिनेट लाग्छ। मेकअप र लुगाबाटै ६० वर्षको काकु बन्नुपर्ने हुन्छ।’ उनी वास्तविक जीवन र रिल जीवनमा फरक छन्। कतिले त उनलाई भद्रगोलकै जस्तो होला भन्ने पनि सोच्ने गरेको बताउँछन्।  

‘म रियलमा जस्तो छु, काकु बन्दा आकाश–पातालको फरक हुन्छ।’ आचार्यले भने, ‘सुटिङ हेर्न आउनेले ठम्याउनै सक्दैनन्, गालामा हल्का चाउरी, हल्का फुलेको दाह्री, कालो कोट–पाइन्ट र बन्दुक बोकेपछि म काकु बन्छु।’ मेकअपमा थोरै पनि यताउति भयो भने काकुजस्तो देखिने भएकाले मेकअपमा एकदमै ध्यान दिने गरेको आचार्य सुनाउँछन्। 

‘काकुको मेकअप गरेपछि अलीअली ढाड कुप्राएर बोलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ।’ उनले भने, ‘साँच्चै बोल्नेभन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुपर्छ मैले काकुका लागि, बोली फेरिँदा लामो डाइलग बोल्न गाह्रो हुन्छ, लामो डाइलग भन्न धेरै प्राक्टिस गर्नुपर्छ।’ कहिलेकाहीँ त लामो डाइलग बोल्दा बीचबीचमा घाँटी बस्ने, स्वरै नआउने समस्या हुने गरेको उनको अनुभव छ।

‘पहिलादेखि नै डाइलग, स्क्रिप्ट कण्ठ पार्ने गर्छु।’ आचार्यले भने ‘पहिला/पहिला एक सिनका लागि तीन/चार टेकसम्म लिन्थेँ तर अहिले एकैटेकमा ओके हुन थालेको छ।’ काकुले बोक्ने बन्दुकको दर्शकमाझ खुबै चर्चा हुन्छ भनेर सुनेको उनले बताए।

चर्चित हास्य टेलिफिल्म ‘भद्रगोल’ले धेरै दर्शकको मन जितिरहेको छ। आचार्यको श्रृंखला निर्देशनमा तयार हुने टेलिश्रृंखलाको टिममा उनको साथमा हरि निरौला (क्रकोज) पनि रहेका छन्।

रवीन भट्ट र राजेन्द्र मानन्धरको सम्पादनमा तयार भएको टेलिश्रृंखलामा अर्जुन घिमिरे, कुमार कट्टेल, दीपक आचार्य, कमलमणि नेपाल, सागर लम्साल, हरिस निरौला, सुबोध गौतम, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, रश्मि पान्डे, प्रमिला खनाल, रमा थपलिया, गोबिन्द कोइराला, पुरुषोत्तम आचार्य, मनराज श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।

अबको यात्रा कलाकारितासँगै समाज सेवा

कलाकारितालाई जीवनको एउटा अभिन्न अंग मान्ने आचार्यले अबको समय पूर्णरूपमा कलाकारितामा रहँदै समाज सेवा गर्ने उद्देश्य लिएका छन्। भद्रगोल टिमबाट चाँडै एउटा फिचर चलचित्र बनाउने तयारीमा रहेको बताउँदै त्यसको लेखन कुमार कट्टेल र आफूले गर्ने बताए। त्योसँगै धुर्मुस सुन्तलीले बनाउन लागेको चलचित्रमा पनि भूमिका रहने उनको भनाइ छ। भद्रगोलको निरन्तरतासँगै सर्ट मुभी बनाउने तथा वर्षमा कम्तीमा एउटा फिचर मुभी बनाउने योजना आचार्यको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.