|

पर्सा : सात महिना यता ओरालो लागेको वीरगन्ज भन्सार कार्यालयको राजस्व लक्ष्य अझै पूरा हुन सकेको छैन। 

गत बैशाखमा पनि कार्यालयले लक्ष्यको तुलनामा २६ दशमलब १४ प्रतिशत कम राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालय र नेपाल भारत संयुक्त भन्सार जाँच चौकी ( आइसिपी) गरी दुई कार्यालयबाट राजस्व संकलन भइरहे पनि लक्ष्य हासिल गर्न नसकेको हो। 

बैशाखमा लक्ष्यको तुलनामा चार अर्ब तीन करोड ७१ लाख २६ हजार रुपैयाँ कम राजस्व संकलन भएको कार्यालयको तथ्यांकमा छ। बैशाखका लागि भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई १५ अर्ब ४४ करोड ४५ लाख २७ हजार रुपैयाँको लक्ष्य दिएकोमा ११ अर्ब ४० करोड ७४ लाख एक हजार रुपैयाँ मात्र संकलन गर्न सकेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले जानकारी दिए।

चालु आर्थिक वर्षमा राजस्व संकलन हुने वस्तुको आयात बढे पनि जिप, कार, भ्यान, मोटर साइकल र चेचिसजस्ता बढी राजस्व संकलन हुने वस्तु कम आउँदा राजस्वमा प्रभाव परेको सूचना अधिकारी महतोको दावी छ। वस्तुको दर रेट बढाएर राजस्व संकलन हुने भए पनि राजस्वको सिलिङ बढी हुँदा पनि लक्ष्य ठ्याक्कै पूरा हुन्छ नै भन्ने हुन्न उनले तर्क गरे। भन्सार विभागले गत वर्षभन्दा झण्डै ३० प्रतिशत सिलिङ बढाएको छ।

तर, भन्सारका सूचना अधिकृत महतोको दावीसँग कार्यालयकै अन्य कर्मचारी भने सहमत छैनन्। कुल लक्ष्यमा २६ दशमलब १४ प्रतिशत राजस्व कम संकलन हुनुमा भन्सारका जिम्मेवार कर्मचारीहरु नै लक्ष्य पूरा गर्नेभन्दा व्यक्तिगत फाइदाका लागि केन्द्रित हुँदा लक्ष्यको तुलनामा निकै कम राजस्व संकलन भएको दाबी गर्छन्। आयातमुखी अर्थतन्त्र भएको मुलुकको प्रमुख भन्सारले राजस्व लक्ष्यभन्दा कम उठाउनु युक्ति संगत नभएको उनीहरुको तर्क छ। 

आयातित वस्तुको भन्सार मूल्यांकनमा मूल्याकनकर्ताको छद्मभेषी रुपले नै राजस्व संकलन अप्रत्यासित कम उठ्नुको प्रमुख कारण रहेको सूचना अधिकारी महतोको कुरासँग सहमत नहुने कर्मचारीमध्येका एकले नाम उल्लेख नगर्ने शर्तमा बताए।
 
गत जेठ १७ मा आइसिपीबाट चेकजाँच गरी भारत गएको दुईवटा मालवाहक गाडीमा भारतीय सुरक्षाकर्मीले पक्राउ गरेपछि आइसिपीमा कस्तो चेकजाँच हुँदो रहेछ भन्ने वास्तविकता सतहमा आएको छ। ती सवारीमा मोटरको वेष्ट (भुषा) भनी भन्सार पास गराइएको थियो। तर। त्यसमा मोटरको ठूलो परिणाम भारतीय प्रहरीले फेला पारेको हो।

कार्यालयभित्र झेल

भन्सारबाट नेपालतर्फ छुटेका सवारीमा पनि ठूलो झेल हुने गरेको भन्सारका केही कर्मचारी र कारोबारी स्वीकार्छन्। वीरगन्ज भन्सारबाट छुटेको सवारीमा निगरानी राख्ने सबै संयन्त्र तैं चुप मै चुप हुँदा कसरी नियमन हुन्छ ? उनीहरुले प्रश्न गरे।

यस विषयमा वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी महतो भने ९९ दशमलब ९९ प्रतिशत नै सही हुन्छ भन्न सक्ने अवस्था नभएको स्वीकार्छन्। ‘दैनिक एक हजारभन्दा बढी सवारी भित्रिन्छन्। १२ जना अधिकृत र सानो संख्याका कर्मचारीबाट ठिकैठिक निगरानी हुन्छ भन्ने हुन्न,’ उनले भने, ‘जानेर गल्ती भएका छैन। अन्जानमा केही हुन सक्छ।’

मुलुकबाट हरेक दिन निर्यात घट्दै र आयात बढ्दै गइरहेको अवस्थामा वीरगन्ज भन्सारको राजस्व संकलन घट्दै जानुमा बाह्य कारण मात्र नभएको व्यपारीहरुको दावी छ। पछिल्लो समयमा अझ डाटावेश खडा गरी सामानको मूल्य परीक्षण गरेर राजस्व लिने नियम आइसके पनि राजस्व संकलन यति धेरै कम हुन केही गडबड भएको भन्सारमा दैनिक सामान छुटाउन खटिने भन्सार एजेण्टहरु बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.