|

मनाङ : विगत वर्षभन्दा मनाङमा यो यार्सा उत्पादन घटेको पाइएको छ। अहिले यस क्षेत्रमा छुट पुर्जीको सिजन सुरु भएको छ। नासों गाउँपालिकाको नाम्के लेखमा छुट पुर्जी सुरु भएको छ भने अन्य खर्कहरूमा सुरु हुने तरखरमा छ।

हिमाली क्षेत्रमा मौसममा आउने परीवर्तनले जडीबुटीमा असर परेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवा बताउँछन्।

उनी भन्छन्, 'लामो समयसम्मको हिमपात अफसिजन र जलवायु परिवर्तनको असर हिमाली जडीबुटीमा परेको हो' उनले थपे, 'जलवायु परिवर्तनले हिमरेखाहरू माथि सर्दै जानु हिउँपहिरोले खर्कहरु पुरिनु पनि यार्सा घट्नुका प्रमुख कारण हुन्।'  लामो समयसम्म हिमपात हुनु र लेकहरूमा हिउँ नपग्लनुले पनि यार्सा उत्पादनमा असर गरेको उनको बुझाइ छ।

यर्सागुम्बाको उत्पादनमा गिरावट आएसँगै मनाङ बाट संकलन हुँदै आएको राजस्‍वमा कमी हुने भएको छ।  मनाङका ११ वटा ठाउँमा पुर्जी खोलाई २२ लेकमा यर्सा संकलन गरिन्छ। यतिबेला यार्सा खोज्न जिल्लाभित्र र बाहिरबाट मानिसहरू मनाङका लेकमा पुगेका छन्।

यार्सा संकलक निराश

पहिला पहिलाको जस्तै यार्सा नपाइएको देखेर संकलकहरू निराश भएर फर्कन पनि थालिसकेका छन्। ऋण काडेर यर्सा टिप्न मनाङका लेक छिरेका धादिङका सुकबहादुर तामाङ ऋणमै घर फर्किएका छन्।

उनी भन्छन्, 'यार्सा टिप्नलाई गाउँमा ऋण काडेर आएको खाली फकिनुपर्‍यो' उनले थपे, 'यार्सा टिप्न   गाउँमै १ लाख रुपयाँ ऋण खोजेर बुढाबुढी नै यर्सा टिप्न मनाङ आएका थियौँ यार्सा पाइएन ऋणमै घर फर्कियौँ।' उनीसँगै यार्सा खोज्न आएका कतिपय यार्सा नपाएपछि मनाङमै ज्यामी काम गरेर बसेका छन्।

संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार नाम्के खर्कबाट यसपटक जम्मा २ केजी ८ सय ग्राम मात्र यार्सा टिपिएको छ। अन्य खर्कको विवरण आउन  बाँकी रहेको छ। गत वर्ष जिल्लाभरका खर्कहरूबाट १२९ केजी यार्सा संकलन भएको उनले बताए।

यार्साको प्रतिकेजी रु ३० हजार राजस्‍व तिर्नुपर्ने हुन्छ। गत वर्ष प्रतिकेजी २५ हजार रहेको थियो। मनाङ जिल्लाबाट जडिबुटी संकलनबाट ६८ लाख ७७ हजार ५ सय ८५ रुपयाँ साजश्व संकलन भएको अन्नपुर्ण संरक्षण क्षेत्रले जनाएको छ। अहिले उक्त रकम घट्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.