|

रसुवा : आलोपालो प्रणालीको माग गर्दै रसुवागढी नाकाका कन्टेनर व्यवसायीहरु आन्दोलित भएका छन्। जिल्ला प्रशासन कार्यालय रसुवाले पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो लागू गरेसँगै कन्टेनर व्यवसायीहरु आन्दोलित भएका हुन्। 

व्यवसायीहरुले सोमबार दिउँसोदेखि रसुवागढी नाकामा कन्टेनर सञ्चालन ठप्प बनाएका छन्। रसुवागढीदेखि टिम्मुरेस्थित तातोपानीसम्म कन्टेनर लाइन लागेको छन्। जसले गर्दा सडक अस्तव्यस्त बनेको छ।

रसुवागढी नाका व्यवस्थापन समितिले पाँच बुँदे माग राख्दै कन्टेनर सञ्चालन नगर्ने घोषणा गरेका हुन्। सोमबार टिमुरेमा पत्रकार सम्मेलन गर्दै समितिले सीमित व्यापारीले नाका अस्तव्यस्त बनाएको भन्दै आलोपालो प्रणालीमा कन्टेनर सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। 

व्यवसायीहरुको नेतृत्वमा आलोपालो प्रणाली लागु गर्ने व्यवस्था हुनुपर्ने, मेसवालाले आफूहरूलाई आवश्यक गाडी टिमुरेबाट जिम्मा लिएर लाने र केरुङमा सामान नपाई महिनौंसम्म बस्नुपर्ने गाडीवालाहरूको समस्या समाधान हुनुपर्ने, टिमुरेस्थित ट्राफिक जामको अन्त्य गर्न प्रणाली लागु गर्न दिनुपर्ने र गाडी तथा व्यावसायको सुरक्षाा हुनुपर्ने माग राखेका छन्। 


समितिले सामाजिक न्यायको आधारमा सबैले समान ट्रिप बोक्ने गरी सबै गाडीले क्यु सिष्टममा बोक्ने गरी व्यवस्था मिलाइएको व्यवसायी पेम्बा तामाङले बताए। ‘हामीले आलोपालो प्रणाली लागू गरेपछि नाका व्यवस्थित भएको थियो,’ उनले भने, ‘यसले सबै व्यवसायीमा सहज भएको थियो।’

जिल्ला प्रशासन कार्यालय रसुवाले सुरु गरेको पहिलो आउनेलाई केरुङ सामान लिन पहिलो जाने व्यवस्थाको विरोध गर्दै व्यवसायीहरूले विरोध गरेका छन्। उनीहरुले पुरानो प्रणालीका कारण लामो समयसम्म केरुङ बस्नुपर्ने, पार्किङ र बसाइ खर्च बढ्ने, बाटो साँघुरो भएकाले पहिरोको जोखिम मोल्नु पर्ने र सवारी जाम बढ्ने व्यावसायीको दाबी छ। आलोपालो प्रणालीमा ८३५ वटा कन्टेर आवद्ध छन्। 

सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आयात निर्यात बढ्दै गएको छ। यस्तै, यस नाकालाई चीनले २०७४ भदौ १४ मा अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै चहलपहल बढेको छ। 

रसुवागढी नाकादेखि चीनको केरुङ २४ किलोमिटर दूरी छ। २०७१ देखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २०० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेको छ। 

यस नाका हुँदै स्याउ, ऊन, तयारी कपडा, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरालगायतका सामग्री निर्यात हुने गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.