|

बैतडी : देश संघीय संरचनामा गइसकेपछि बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका स्थापित भए। स्थानीय तह भइसकेपछि केन्द्रको सिंहदरबार गाउँमै आउछ भनिएको थियो। तर, गाउँमा स्थापना भएका ती दरबार तथा स्थानीय तहहरू आफैँ पूर्ण भइसकेका छैनन्।

जिल्लामा रहेका ४ नगरपालिकामध्ये  पुर्चौडी र मेलौली नगरपालिकामा बिजुली छैन। पुनर्सरचनापछि नगरपालिका बनेका यि दुई नगरमा मात्र होइन पाटन नगरपालिकाको केही वडामा समेत बिजुली पुग्न सकेका छैन।

विद्युत् विस्तार नहुँदा यहाँका स्थानीय सास्ती भोग्दै आएका छन्। स्थानीय तहमा जनप्रतिनिधि आएको करिब दुई वर्ष बित्न लाग्दासमेत विद्युत्लगायतका आधारभूत सेवा पुग्न सकेका छैनन।

जिल्लाका अन्य स्थानीय तहमा पनि बिजुली पुग्न सकेको छैन। शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकामा पनि विद्युत् सेवा विस्तार हुन सकेको छैन।

विद्युतीकरण नहुँदा दैनिक जीवनचर्यामा निकै कठिनाई भएको स्थानीयको गुनासो छ। बिजुली नहुँदा कुटानीपिसानीको लागि मिलसम्म छैन। साँझमा आफ्ना छोराछोरीलाई राम्रोसँग पढ्न र गृहकार्य गर्न नपाएपछि पढाइ प्रभावित भएको स्थानीय बताउँछन्।

जिल्लाका केही स्थानीय तहका खोलाबाट लघु जलविद्युत् सञ्चालन भए पनि पटकपटक मेसिनमा खराबी आउँदा समस्या हुने गरेको स्थानीय बताउँछन्। स्थानीय खोलाको बिजुली राती मात्र आउछ,’ पुर्चौडी नगरपालिका–१, हाटका गणेश जोशीले भने, 'दिनमा पनि बिजुली आए विद्युत्बाट गर्ने काम सहजरुपमा हुन्थ्ये।’

विद्युत् नहुँदा सोलारको सहायताले काम गरिरहेका छन्। बिजुली नहुँदा धेरै समस्या खेप्नुपरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए। राष्ट्रिय प्रसारणको पहुँच नहुँदा सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको र अरु कार्यालयका काम पनि प्रभावित भएका उनले बताए।

मेलौली नगरपालिकाको एउटा वडामा बिजुली पुगेको छ तर अन्य वडामा बिजुली नपुगेको नगरपालिका प्रमुख कृष्णसिंह नायकले बताए। पुर्चौडी नगरपालिकाका स्थानीय बिजुली नहुँदा सञ्चार सेवाबाट पनि वञ्चित हुने गरेका छन्। नेपाल टेलिकमको टावरसमेत सोलारकै भरमा चलिरहेको छ।

विद्युत् सेवा नहुँदा स्थानीय तहले कार्यसम्पादन गर्ने कामसमेत प्रभावित हुने गरेका छन्।  पञ्चेश्वर गाउँपालिकामा पनि सोलारबाट विद्युतीय कामकाज हुने गरेको छ। ‘कम्प्युटरबाटै सबै कार्यसम्पादन गर्दा घाम लागेको बेला मात्रै कम्प्युटर खुल्छ,’ गाउँपालिकाका नासु कमलापति भट्टले भने, ‘पानी परेको बेला सेवाग्राहीलाई रित्तै फर्काउनुपरेको  छ।’ विद्युतीय उपकरणबाटै कामका गर्नुपर्ने भएकाले सोलारले धान्न सकेको छैन।

जिल्लामा १९ वटा लघुजलविद्युत आयोजना रहेका छन्। ती आयोजनाबाट एक सय ८६ किलोवाट विद्युत् उत्पादन हुँदै आएको भए पनि अहिले भने आधाभन्दा बढी आयोजना बन्द हुँदा विद्युत् उत्पादन पनि घटेको छ। कुनै बेला झलमल्ल हुने ग्रामीण क्षेत्र अहिले अन्धकारमय बनेका छन्।

लघु जलविद्युत्बाट बिजुली बालेका सर्वसाधारण अहिले सोलार बाल्न थालेका छन्। आर्थिक अवस्था राम्रो भएको घरमा सोलार बले पनि विपन्न समुदाय भने टुकी र झरोमा निर्भर छन्। लघु जलविद्युत् आयोजना बन्द हुँदा ती आयोजनाबाट सञ्चालन गरिएका मिल, आटाचक्की, स्वास्थ्य संस्थाका ल्याव, विद्यालयका कम्प्युटर पनि बन्द भएका छन्।

राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडीमा ४५ हजार एक ९१ घरधुरी छन्। तीमध्ये साढे १२ हजार घरमा मात्रै बिजुली पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ। जिल्लाका केही ठाउँमा विद्युत् विस्तारको काम भइरहेको वितरण केन्द्र प्रमुख मोहनदेव जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.