फिचर

नेपालको सबैभन्दा होचो ठाउँ केचनाकवल : पूर्वाधार नहुँदा ओझेलमा

असार ३, २०७६

    धनकुटा : नेपालको सबैभन्दा होचो स्थानको रूपमा रहेको झापा जिल्लाको केचनाकवल अझैसम्म पनि ओझेलमै छ। पर्यटन वर्ष २०११ को अवधिमा समेत यो क्षेत्रले अपेक्षाकृत महत्त्व पाउन सकेको थिएन।

    केचनाकवल समुद्री सतहबाट ५८ मिटरको उचाइमा छ। यो क्षेत्रमा चार विगाहा जमिन अत्यन्त होचो भएका कारण वर्षायाममा पानी जमेर दलदलमा परिणत हुने गरेको छ। केचनाकवलमा २०४४ साल पुस १६ गते तत्कालीन राजा वीरेन्द्र शाहको भ्रमणको अवसरमा २० फिट अग्लो स्तम्भ कछुवाको आकृतिमाथि स्थापना गरिएको थियो। यो ठाउँ नेपाल भारत सिमानाबाट करिब ५०० मिटर दूरीमा पर्छ।

    नेपालकै अल्पसंख्यक आदिवासी गनगाई जातिको समेत बसोबास रहेको केचना क्षेत्रमा दुईवटा ऐतिहासिक पोखरीहरू छन्। महाभारत कालमा विराट राजाले राज्य विस्तार गर्दा उनका सेनापतिले निर्माण गरेको विश्वास गरिने यी पोखरीहरूका कारणले पनि यस क्षेत्रको महत्त्व अझ बढेको छ।

    भीमले किचकको वध गरेपछि उक्त दुई पोखरीहरू पुर्न खोजेका थिए भन्ने किंवदन्ती पनि छ। यहाँ रहेका पोखरीहरूको समेत संरक्षण हुन नसक्दा पुरिँदै गएपछि केचनाकवल गाउँपालिकाले पुनर्निर्माण थालेको छ। दुई दशकअघिसम्म सफा रहेका पोखरीहरू फोहोर र झारपातले पुरिएका थिए।

    नेपालीमा एउटा उखान नै छ ‘जो होचो उसैको मुखमा घोचो’ भने झै झापाको पूर्व-दक्षिणमा रहेको भारतको सीमावर्ती क्षेत्रमा रहेको केचनाबवल गाउँपालिकामा अवस्थित केचनकवल सबैले हेला गरेझैँ भएको पाइएको छ। नेपालको सबै भन्दा होचो ठाउँ कुन हो? भनेर कहिलेकाहीँ हाजिरीजवाफ प्रतियोगितामा सुन्नुबाहेक कहीँ कतै पनि यस ठाउँको नाम धेरै लिन नचाहेको स्थानीयको गुनासो छ। किनकि यो होचो ठाउँ तराईमा भएर पनि दुर्गम ठाउँमा छ।

    झापाको सदरमुकाम चन्द्रगढीबाट यस ठाउँसम्म जोड्ने सडकसम्म कच्ची छ। प्रायजसो झापाका सबै सडकहरू पिच भइसक्दा पनि यस ठाउँ भने अझै ओझेलमा परेको छ।

    कसरी पुग्ने केचनाकवल?

    मेची राजमार्गको अन्तिम विन्दु केचनाबाट लगभग दुई किलोमिटरपूर्व उत्तर छिरेपछि नेपालको होचो भूमि भनेर पहिचान गरिएको केचनाकवल पुगिन्छ। केचनाकवल गाउँपालिकाको केन्द्र बनियानीबाट नौ किलोमिटर यात्रा पार गरेपछि होचो स्थान केचना पुग्न सकिन्छ। 

    के गर्दैछ केचनाकवल गाउँपालिका र प्रदेश सरकार?

    नेपालकै हाचो स्थान भनेर परिचय कमाएको केचनाकवलमा प्रशस्त पर्यटकीय सम्भावना छ। केचनाकवलको विकासको लागि गाउँपालिकाले बनियानी बजारबाट नौ किलोमिटर घुमाउरो रहेको कच्ची बाटोलाई सिधा चार किलोमिटर सडक डेढ करोडको लगानीमा निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष अन्जरा आलमले बताए। त्यस्तै गाउँपालिकाकै लगानीमा पञ्चवर्षीय गुरुयोजना बनाएको उनको भनाइ छ। 

    गाउँपालिकाले केचनाकवलको वृत्तचित्र, पर्यटकीय गन्तव्यबारेमा ब्रोसर, होम स्टेसम्बन्धी तालिम, पर्यटक गाइडसम्बन्धी तालिमसँगै पर्यटकीय पूर्वाधार निर्माण कार्य सुरु गरेको जनाएको छ। ‘गुरुयोजना अनुसार होम स्टे, पार्क, तलाउ र रेस्ट रुम बनाउने काम भइरहेको छ’, उनले भने, ‘पाँच वर्षमा सकिने योजना भए पनि तीन वर्षमै काम सकिन्छ।’

    अधिकांश आदिवासीको बसोवास रहेको यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रचार गर्न सके नेपालकै नमुना पर्यटकीय गन्तव्य बन्ने आलमको भनाइ छ। यता प्रदेश सरकारले हालै प्रस्तुत गरेको बजेटमा प्रदेशको प्राथमिकता प्राप्त आयोजनाको रूपमा केचनादेखि सगरमाथा आधार शिविरसम्म द्रूत सडकले जोड्ने गरी परियोजनाको आवश्यक बजेट विनियोजन गरेको जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले सगरमाथासम्म द्रूत सडकले जोडिएपछि केचनाकवलको विकास हुने बताए।

    पर्यटकका लागि मौसम बाधक

    प्रायजसो हरेक समयमा चिसो हुने धनकुटाको भेडेटार र इलामको कन्याम र श्रीअन्तुमा पर्यटकको घुइँचो लाग्ने गरे पनि नेपालकै होचो स्थान भनेर चिनिएको केचनाकवलमा कम मात्रामा पर्यटक पुग्ने गरेका छन्। कारण हो अत्याधिक गर्मी। बर्खाको समयमा अत्याधिक गर्मी हुने हिउँदको समयमा कुहिरो लागेर केही पनि नदेखिने भएकाले पनि यो ठाउँमा पर्यटकको आगमन कम भएको स्थानीयको बुझाइ छ।

    निर्माणाधीन रहको स्वीमिङ पुल र बोटिङले केही मात्रामा पर्यटकको आगमन बढाउने गाउँपालिकाको अनुमान रहेको अध्यक्ष आलमले बताए। 

ईश्वर थापा

थापा थाहा खबरका धनकुटा समाचारदाता हुन्। ईमेल : ishwor.press@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]