|

बागलुङ : कुनै बेला घुमाउने खरको छानोमुनि बस्ने दक्षिणी बागलुङका स्थानीयकाे ‘शान र सपना' थियो, घरको छाना ढुंगाले छाएकाे होस्। भयो पनि त्यस्तै।स्थानीयले घुमाउने घर भत्काए, दुई पाखे र बंगाले घर बनाए अनि ढुंगाको छानो हाले। बागलुङको जैमिनी नगरपालिका ७ व्यारथलामा रहेको खानीबाट निकालिएका ढुंगाले दक्षिणका प्राय :सबै घर छाइए।

जैमिनी, गल्कोट र बागलुङ नगरपालिका तथा पर्वतको फलेवास, कुश्मा नगरपालिका एवं महाशिला गाउँपालिकाकाका जनताको ढुंगेछानो सपना व्यारथलाको ढुंगाले भरथेग गर्‍यो। लियो र पातलो ढुंगाको माग कुनै बेला थेगिनसक्नु बन्यो। 

तर अहिले तिनै ढुंगाको छानो भएका घर भत्काएर धमाधम जस्ताको छानो छाउने क्रम बढ्दै गएको छ। ग्रामीण भेगका घर भन्ने बित्तिकै धेरैलाई याद आउने स्लेट ढुंगाले छाएका घरहरू अब यादमै सीमित हुने अवस्थामा पुगिसकेका छन्।

चारवर्ष अगाडि गएको बिनासकारी भुँइचालोले घर भत्काएपछि स्थानीयले ओत लाग्ने नयाँघरको जोहोमा लागे। नयाँ घरको नयाँ संरचना ! घर पुनर्निर्माण भइरहँदा भुईँचालोमा बढी जोखिम हुने स्लेट ढुंगा प्रयोग गर्न पुनर्निमाण प्राधिकरणले रोक लगायो।

पुनर्निर्माणको क्रममा स्लेट ढुंगाको साटो जस्ता पाताको प्रयोग गर्न प्राविधिकले सल्लाहकै कारण ढुंगा प्रयोग ह्वात्तै घट्यो। नयाँ बन्ने घरहरुमा जस्तापाता प्रयोग हुँदा ढुंगाको माग ह्वात्तै घटेको जैमिनी १० राङ्खानीका व्यवसायी दलबहादुर क्षत्रीले बताए।

भुकम्प अघि दिनमै हजारौंका ढुंगा खानीबट निकालेर बिक्री गर्ने गरेका उनले भुकम्प पछि वर्षमा एक दुई घरको लागि मात्रै ढुंगा बिक्री गर्ने गरेका छन्। व्यारथलाको खानीबाट खरिद गरी हातको १२५ रुपैयाँको दरले ढुंगा बिक्री गर्ने गरिएपनि बिक्री हुन छोडेपछि व्यवसाय नै परिवर्तन गर्नुपर्ने अवस्थामा पुगेको क्षत्रीले बताए।

‘ढुंगा बिक्री गरे बापत नगरपालिकालाई दुई हजार २०० रुपैयाँ कर तिर्नुपर्छ,’ व्यवसायी क्षेत्रीले भने,‘अहिले बिक्री घट्दा कर तिर्ने पैसा समेत कमाउन सकिएन।’ गाउँमा घरको ठेक्का लिएर निर्माण गर्दै आएका दुर्गाबहादुर थापाले पहिले वर्षमा घरको ठेक्का लिएर ३/ ४ वटा घरमा स्लेट ढुंगाले छाएको भए पनि अहिले वर्षमा मुस्किलले एउटा घर छाउने गरेको बताए।

भुईँचालोपछि सवैले जस्तापाता नै प्रयोग गर्नुपर्छ भन्ने गरेकाले स्लेट ढुंगाले छाउन नमान्ने ठेकदार थापा बताउँछन्।  टिनको प्रयोग बढ्दा ग्रामीण भेगको सौन्दर्य हराएको भन्दै थापाले चिन्ता व्यक्त गरे। ‘गाउँका घरहरू स्लेट ढुंगाले छाउँदा भिन्दै सौन्दर्यता देखिन्छ’, थापाले भने,‘अहिले टिनको प्रयोग बढेकाले सौन्दर्य हराउँदै गएको छ।’

गाउँका घरमा स्लेट ढुंगाले छाउँदा मौलिकता झल्कने र धेरै वर्ष टिकाउ हुनुका साथै घर न तातो न चिसो हुने थापाको बुझाई छ। भूकम्प अगाडि बागलुङ जिल्लाका बलेवा, बरेङका साथै बाहिरी जिल्लाहरू कास्की, गुल्मी लगायतका स्थानमा जैदीको स्लेट ढुंगा बिक्री गर्दै आए पनि अहिले स्थानीय तहले भ्याट विलको प्रयोग गर्दै बाहिरी जिल्लामा बेचविखनमा प्रतिबन्द गरेको व्यवसायी क्षत्रीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.