मेयरले विकास गरेनन्, भ्रष्टाचारमा रमाए

|

धनुषाका १८ स्थानीय तहमध्ये चर्चामा रहने नगरपालिका हो हंशपुर। मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी रेणु झा यहाँ नगर उपप्रमुख छिन्। उनी राजपाबाट निर्वाचित भएकी हुन्। हुन त राजपाबाटै मेयरमा रामज्ञान मण्डल निर्वाचित भएका छन्। तर, एउटै पार्टीबाट जिते पनि मेयर र उपप्रमुखबीच बोलचाल नै छैन। जसले गर्दा यहाँको विकास निर्माणको प्रभावित बनिरहेको छ। यसै सन्दर्भमा नगर उपप्रमुख झासँग थाहा खबरकर्मी सन्तोष यादवले गरेको कुराकानी :

तपाईंं र मेयरबीचको विवाद मिल्यो कि उस्तै छ?

केही मिलेको छैन। उहाँ भन्‍नुहुन्छ, मेरो शासन छ, यहाँ अनि कसरी विवाद मिल्छ? विवाद नीतिका लागि हो। न्यायिकसहित ८ समिति त मेरो संयोजनमा हुनुपर्ने हो। तर, मलाई जानकारी नै नदिई समितिको काम मेयरले गरिहाल्नुहुन्छ। मुख्य विवाद यही हो। तर विवाद सुरु भने नगरपालिकाको केन्द्रका लागि भयो। केन्द्र त प्रक्रियाले तय हुन्छ। मेरो के भनाइ हो भने नगरपालिकाको बीचमा केन्द्र हुनुपर्छ। तर मेयरले हंसपुर लग्छु भन्‍नु हुन्छ।

केन्द्र कहाँ हुनुपर्छ तपाईंको विचारमा?

मेरो घर बघचौरामा छ। तर, मैले बघचौरामै हुनुपर्छ भनेको छैन। जहाँ सबै जनताका लागि पायक पर्छ, त्यहाँ केन्द्र हुनुपर्छ। तर मेयर यो कुरामा सहमत छैनन्। हैकमवाद लादेर मैले भनेकै कुरा हुनुपर्ने अडान मेयरले राख्नुभाको छ।

तर म त्यस्तो कहाँ हुन दिन्छु र। म पनि १४ वर्षदेखि राजनीति गरिरहेकी छु। पैसा र पसिना लगाएको छु जनताका लागि। गाउँको विकास गर्न राजनीतिमा छु। तर, उहाँ (मेयर) मा यस्तो भावना छैन। स्थानीय सरकारको प्रमुख भएर एकलौटी मेरो हो भन्दै हक जमाउन खोज्नुहुन्छ।

अन्य के कुरामा मेयरसँग असन्तुष्ट हुनुहुन्छ?

पुस १५ मा नगरसभा भयो। त्यसपछि योजना तर्जुमा कहिले बनाउने भनेर पटकपटक मेयरलाई आग्रह गरेँ। तर वास्तै गर्नुभएन। पछि नक्कली किताब बनाएर योजना चलाउनुभयो। म पनि चुप लागे एक्लै कति गरूँ भनेर। तर म अधिकार छोड्दिनँ।

मधेस अधिकारका लागि आन्दोलन गर्दा कुटाइ खाएको आन्दोलनकारी महिला हुँ। अधिकारका लागि म कहाँ चुप भएर बस्छु? मलाई अधिकार संविधानले दिएको हो। कसैको बाउले दिएको होइन। कुनै व्यक्तिले दिएको होइन। त्यसैले अधिकार लिएर छोड्छु। लडाइँ यसकै लागि हो।

चुनावका बेला जनतालाई धेरै सपना बाँड्नुभो। तर अहिले नगरपालिका विवादमा फसकेपछि कसरी होला त?

के गर्ने त? मैले सकेजति गरिरहेकी छु। तर मेयरलाई विकास गर्ने सोच नै छैन। चालु आर्थिक वर्षमा १४ करोडको बजेट राख्नुहुन्छ। ७ करोडको भए पनि नभए पनि हुन्छ भन्‍ने सोच छ उहाँको। विकास नभए पनि बिल बनाउँछन् र बजेट सक्छन्।

वास्तविक विकासको थोरै भुक्तानी हुन्छ तर बिल बनाएरै बजेट सक्छन्। जनताले अख्तियार र जिल्ला प्रशासनमा पनि अनियमितताबारे निवेदन दिएका छन्। तर कारबाही नै भइरहेको छैन।

मेयरसँग तपाईंको बोलचाल पनि छैन है?

हो, चुनाव जितेदेखि नै बोलचाल छैन। बीचमा धेरै जरुरी पर्दा मसँग बोल्न आउँछन्। बोलेपछि सबैलाई भन्‍न थाल्छन्, उपप्रमुखलाई किनिसकेँ। तर मलाई कसले किन्‍न सक्छन्? कसको बाउको अधिकार हो मलाई किन्‍ने? म महिला हुँ भन्दैमा यस्तो कुरा भन्‍न मिल्छ? म धेरै अपमानित भएर काम गर्न बाध्य छु।

मैले जनतासँग भिख मागेर चुनाव जितेकी छु। जनताकै लागि अपमान सहेर पनि बसेकी छु। यतिसम्म कि मेयरले गुण्डा लगाएर मलाई धम्काउन लगाउनुभयो। घरमै गएका मेयरका गुण्डाहरूले नगरपालिकामा भूमिगत राख्छु भन्दै धम्की पनि दिएका छन्। तर म डराउँदिनँ। आन्दोलनका बेला कर्फ्युमा त डर लागेन। सेनाको गोलीसँग त डराइनँ। एजेण्टको गोलीसँग किन डराउनु? डराउँदिनँ।

विकास निर्माणको काम कसरी अगाडि बढिरहेको छ?

विकास के हुनु? मात्र भ्रष्टाचार भइरहेको छ। तराई-मधेस समृद्धि कार्यक्रमअन्तर्गत नगरपालिकामा ९० लाखको योजना आएको थियो। तर २६ लाखको डीपीआर गरिसक्यो। यस्तो पनि अन्याय हुन्छ? ९० लाखको बजेटमा २६ लाखको डीपीआर हुन्छ? नगरपालिकाका लागि यो दुर्भाग्य हो।

जनतालाई त यो कुरा थाहा छैन। उहाँहरु त एउटा भगवान हो। अर्को कुरा नगरपालिकामा सफ्टवेयर छैन। भुक्तानी भने १४ लाख गरिसकेको छ। अब नगरसभाबाट पास गर्न लगाउँछन्। पास हुन दिन्‍न। मेरो अधिकार हो नोट अफ डिसेन्ट लेख्‍ने, नोट अफ डिसेन्ट नै लेख्छु।

विज्ञापनमा पनि कमिशन खान धेरै धेरै भुक्तानी गरेका छन्। एउटा विज्ञापनको डेढदेखि अढाई लाखसम्म भुक्तानी दिएको हो। यो सारा कुरा पारदर्शी गर्नुपर्‍यो नि। तर उहाँ (मेयर) पारदर्शी गर्न चाहेकै छैन।

अगामी आर्थिक वर्षका लागि राखेको बजेट छलफलमा सहभागी हुनुभयो कि?

मलाई बोलाउँदैनन्। अनि कहाँ कसरी जानु? मलाई कुनै कार्यक्रममा बोलाउँदैनन्। पाँच दिन अघि नगरसभाबारे छलफल भयो। तर मलाई कसैले बोलाएनन्। बेलही चोकमा रहेको डेनमार्क अफिसमा छलफल कार्यक्रम राखेका थिए। त्यो दिन म दिनभर नगरपालिका कार्यलयमै थिएँ।

म सत्यतथ्य बोल्ने भएकै कारण बैठक वा कुनै छलफलबारे जानकारी दिँदैनन्। योजना तर्जुमा र राजस्‍व परामर्शको बैठक नै भएको छैन। अनि कसरी नगरसभा हुन्छ? कस्तो नगरसभा? मलाई त आश्चर्य लागिरहेको छ।

कर्मचारी वा कार्यपालिका सदस्यले पनि खबर गर्दैन?

कर्मचारी सबै मेयरको हो। ८ जना कर्मचारी आफ्ना आसपासेलाई नियुक्त गरेका छन्। मसँग त उनीहरू बोल्दैन। मेयरले भनेको कुरा मात्र मान्छन्। कार्यपालिका सदस्य पनि बहुमत उसैको (मेयर) को छ।

खबर गरे पनि कार्यपालिका सदस्यले भनेपछि कसरी बैठकमा जाने? सबै कुराको मर्यादा हुन्छ नि। मसँग विवाद हुँदा अधिकर कार्यपालिका सदस्य उसैको हजुरी गर्छन्। किनकि मेयरको पक्षमा रहदा भ्रष्टाचार गर्न पाइरहेका छन्।

विवाद मिलेन भने त झन् भ्रष्टाचार बढ्छ, अनि के गर्नुहुन्छ?

विकास भनेको नाला र रोड मात्रै बुझ्छन्। तर नाला र रोड पनि यसरी बनिरहेको छ कि २ वर्ष पनि टिक्दैन। कुनै कुनै ठाउँमा गत वर्ष बन्यो। यो वर्ष भत्किन सुरु भइसक्यो। निर्माण कार्य हुँदा मेरो अनुगमन प्रतिवेदन पनि लिएन। बिना प्रतिवेदनकै मूल्याङ्कन गरी भुक्तानी गरियो।

ओभरसियरले जे जे भन्यो, गर्‍यो। शिक्षा र स्वास्थ्यको अवस्था पनि जर्जर छ। विद्यालयमा पाठ्यपुस्तकका लागि रकम निकासा दिएको छैन। स्वास्थ्य संस्थामा औषधि छैन। काटेशनमार्फत् १० लाखको औषधि खरिद भए पनि स्टोरमा थन्किएको छ। खै किन थन्क्याए राखेको छ मलाई थाहा पनि छैन। यस्तो लापरबाही गर्दा कसरी विवाद मिल्छ? मेयरले हैकमवादी चरित्र नत्यागेसम्म विवाद मिल्दैन।

तपाईं न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ। कसरी काम गर्नुहुन्छ?

न्यायिक समितिलाई पनि स्वतन्त्र छोडेको छैन। चालू आ.व.मा १५ लाख बजेट राख्यो। अनि मेयरले न्यायिक समितिका लागि १५ लाख बजेट छुट्याएर दुनियाँ हल्ला गर्‍यो। म १५ पैसा पनि त्यो बजेटबाट चलाएको छैन। तपाईंहरू अनुगमन गरी सत्यतथ्य पत्ता लगाउनुस्।

अहिलेसम्म घरकै रकमले न्यायिक समिति चलाएँ। नसक्दा चैत २० गते मेयरलाई समितिको साँचो दिइसके। समितिमा नबसेर पनि जनताको समस्या समाधान गरिरहेको छु। समितिमा एउटै कर्मचारी छैन। दुई सदस्य छन्, तीमध्ये पनि एकजना कहिल्यै आउँदैन। वकिल पनि छैन। मासिक ३० हजार खर्च गरेर राखेको वकिल एक दिन पनि आएको छैन।

हालसम्म समितिमा कतिवटा मुद्दा परेकान्?

चैत २० गतेदेखि त मसँग समितिको साँचो नै छैन। तर त्यो दिनसम्म कुल ७५ वटा मुद्दा परेका थिए। जसमध्ये २० वटा मिलापत्र भइसकेको छ। कतिपयले त सौखले पनि मुद्दा दिन आउने गर्छन्। त्यसैले पनि समस्या भइरहेको छ। धेरै यस्तो निवेदन परेको छ कि आजसम्म निवेदकले खोजबिन गर्न आएको छैन। हिजो मात्रै एउटा महिला हिंसासम्बन्धी मुद्दा किनारा लगाए। बढी जग्गा बिचौलियासम्बन्धी मुद्दा परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.