काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक फिर्ताको माग गर्दे कार्टुन प्रर्दशनी गरेको छ। राजधानी काठमाडौंको वसन्तपुर डबलीमा महासंघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिललगायत विधेयकको विरोधमा कार्टुन प्रर्दशनीको आयोजना गरेको हो।
सरकारले दर्ता गराएको विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतताको हनन हुने भन्दै महासंघले विरोध गर्दै आएको छ। विहीबार बसन्तपुर डबलीमा आयोजना गरिएको कार्टुन प्रर्दशनीमा सर्पले कलम टोक्न लागेको, मिडिया काउन्सिल विधेयक लेखिएको सिंहमाथि मान्छेको आकृति जस्तो बसेर ‘डराउनुपर्दैन घाँसपात खुवाउन ल्याएको हो’ भन्दै पत्रकारलाई लखेटेको, राष्ट्रको प्रथम अंगले चौथो अंग प्रेसलाई कुल्चिएको, त्यसरी प्रेसलाई कुल्चिदाँ दोश्रो अंगले मुख थुनेको र तेश्रो अंगले आँखा छोपेका काटुर्नहरू राखिएको थियो।
त्यसैगरी अभिव्यक्ति स्वतन्त्रता बन्दुकको निशानामा परेको, सार्वजनिक संस्थाका सुचनाहरुमा लगाइएको नियन्त्रणलगायत विषयमा दर्जन बढी कार्टुनहरु राखिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दे महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुनहरु फिर्ता नहुन्जेल महासंघको आन्दोलन जारी रहने चेतावनी दिए। उनले अत्यन्तै गम्भीर परिस्थितिमा मात्रै पत्रकार र स्रष्टा सडकमा आउने गरेको स्मरण गर्दे अभिव्यक्ति स्वतन्त्रता हरणविरुद्ध आन्दोलनमा उत्रन नागरिक समाज र कलम जीविलाई आग्रह गरे।
कार्यक्रममा स्रष्टाहरूले सरकारको कार्यशैलीविरुद्ध व्यंग्यात्मक कविता सुनाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।