लाहुरे बन्‍न खोज्दा छापामार, राजनीतिले पीडा मात्रै दिएको गुनासो

|

संखुवासभा : चैनपुर नगरपालिका-२ तिखेढुंगामा बुवा सलबहादुर अधिकारी र आमा देवीमायाबाट कान्छो सन्तानका रूपमा २०३७ वैशाखमा जन्मिए खगेन्द्र अधिकारी।

 उनलाई जन्मिएको गतेचाहिँ थाहा छैन रे! नागरिकता बनाउँदा उनको जन्ममिति २०३९ वैशाख २५ गते राखियो। सानैदेखि चञ्चले र नेतृत्व क्षमता, हक्की स्वभावका खगेन्द्र विद्यालयमासमेत ‘टिम लिडर’ बन्थे। गाउँले जनजीवन र खेती किसानी गर्दै हुर्किएका खगेन्द्रले कक्षा ९ भन्दामाथि पढ्न सकेनन्।

देशमा चलेको सशस्त्र द्बन्द्बको प्रभावले उनलाई पनि छोयो। जब उनी 'जनयुद्ध'मा सामेल भए तब पढाइ छुटेको हो। देश परिवर्तन गर्ने उत्साह बोकेर छापामार बनेका खगेन्द्रले थुप्रै आरोह-अवरोह छिचोले। मुलुक परिवर्तन गर्ने सोचसहित 'जनयुद्ध'मा होमिएका उनी अहिले त्यही राजनीतिले दिएको चोट र पीडा बोकेर बाँचेका छन्। 

बाल्यकाल 

सिद्धकालीको तिखेढुंगामा गरिबी र अशिक्षाबीच हुर्किए खगेन्द्र। ९ जनाको परिवार थियो। बाबुआमा, २ दाजुभाइ र ५ दिदिबहिनी। कान्छो छोरा सबैका प्रिय खगेन्द्र। गाउँ खेती गरिन्थ्यो। गाइभैँसी पाल्ने चलन थियो। उनले गाउँकै जलेश्वरी प्राथमिक विद्यालयमा पढ्न थाले।

प्राथमिक तह तिखेढुंगामै सिध्याए। कक्षा ६ पढ्ने स्कुल गाउँमा थिएन। त्यसैले पोखरी बजारस्थित शारदा माध्यमिक विद्यालयमा भर्ना भए। समयक्रम चल्दै थियो। उनी कक्षा ९ मा पढदै थिए। 

लाहुरे बन्न खोज्दा छापामार बने

कक्षा ८ पास गरेपछि प्रहरी-सेनामा जाने सोच पलायो। सानैदेखि बन्दुकसहित युनिफर्ममा हिँडेको देख्दा लोभिन्थे। एकदिन सेना बन्छु भन्ने लाग्थ्यो रे खगेन्द्रलाई। कक्षा ८ पास गर्नेबित्तिकै नागरिकता बनाइसकेका थिए। 

२०५६ सालमा शारदा मावि कक्षा ९ मा पढ्दै थिए। गाउँघरमा भुसको आगो जस्तै माओवादीको चर्चा हुन थालेको थियो। पारिगगाउँका बद्रिहाङ लिम्बू गाउँमा आए। उनले माओवादीबारे बताए। माओवादीमा प्रवेश गरे सेना हुन पाउने भनेर फकाए। उनले खोजेको त्यही थियो। प्रफुल्ल भए। अनि गाउँस्तरका माओवादी कार्यकर्ता बने। त्यसपछि उनी गाउँका नेता नै भए। 

गाउँमा हुने विवाद र अन्यायविरुद्ध उनी सक्रिय भए। सामाजिक विकासका काममा पनि अगुवाई गर्न थाले। बद्रीहाङ लिम्बूको प्रेरणाबाट उनी माओवादी बने। बद्रीहाङसहितका अरू नेता आउनेजाने क्रम बढ्न थाल्यो। २०५७ सालमा बिमल नामका कार्यकर्ता सिन्धुपाल्चोकबाट आए। उनलाई जिल्लाबारे जानकारी दिने र बाटो देखाउन थाले। अनि विजय साम्पाङ र पदम राई 'विकास' (पूर्वराज्यमन्त्री) का टोली आउन थाले। भेटघाट बाक्लिँदै गयो।

२०५७ सालतिर सिद्धकालीमै रातिराति गाउँका युवा जम्मा गरेर तालिम गराउन थाले। त्यसपछि पढाइ छोडे। त्यतिबेलासम्म होलटाइमर माओवादी बनिसकेका थिए। 

'मैले नै २०५८ सालमा महिमका धनाढ्यको धन्सार फोडेर धान, मकै र कोदो किसानलाई बाँडिदिएँ', उनी सुनाउँछन्, 'त्यसपछि पूर्णरूपमा घर छाडेर हिँडे। काकाको छोरा र मसँगै हिँडेका थियौं। पछि ऊ सोलखम्बुको भिडन्तबाट बेपत्ता भयो, अहिलेसम्म अत्तोपत्तो छैन।' 

माओवादी राजनीतिक सेना 

माओवादी सेना सर्वहारा वर्गको मुक्तिका लागि लड्ने राजनीतिक सेना भनेर प्रशिक्षण दिइन्थ्यो। उनी ठीकै मान्थे। गाउँघरमा धनी-गरिबको विभेद, जातीय विभेद, धार्मिक विभेद र साहु महाजनले गर्ने विभेदबारे तालिममा सिकाइन्थ्यो। 

माओवादीको सरकार आएपछि आमूल परिवर्तन हुने आश्वासन दिइयो। उनीहरूलाई कमाण्डर र कमिश्नारसहिले प्रशिक्षण दिन्थे। पूर्वीकमाण्डका सैन्य कमाण्डर रामबहादुर थापा बादल थिए। संखुवासभामा सैन्य प्रशिक्षण दिन मणि थापा र वर्षमान पुन आएका थिए।

पाँचथरमा लिम्बूवानको भेलालाई प्रशिक्षण दिन घोडा चढेर प्रचण्ड र बाबुराम भट्टराई आएका थिए। त्यसपछि ओखलढुंगाको रुम्जाटारमा अग्नि सापकोटाले प्रशिक्षण दिए। 

पहिलो आक्रमण चैनपुर

जनसेना बनेपछि पहिलोपटक ठूलो आक्रमणमा सहभागी हुन उनी चैनपुर गए। २०५९ साल  वैशाख २४ गते चैनपुरस्थित सशस्त्र प्रहरीको क्याम्प हान्ने रुटको गाइडको काम उनैले गरे।

चैनपुरको क्याम्प हान्न चार समूह तयार थिए। एउटा समूहमा कम्तीमा १२० जनाभन्दा माथि। 'मैले मादीबाट आउने रुटको नेतृत्व गरेको थिएँ', उनले भने, 'चैनपुरदेखि केही तलको बरको रूख छेउमा खाजा लुकाएका थियौँ।' 

सशस्त्र प्रहरीले चैनपुर क्याम्पमा मादीका राजन कार्कीको टोलीलाई समातेर राखेको थियो। उनी पार्टीका पत्रकार थिए। चैनपुर क्याम्प हानेर प्रभाव विस्तारको दाउमा थियो विद्रोही। चैनपुर क्याम्प कब्जा गर्न सके त्यो क्षेत्र नै आफ्नो नियन्त्रणमा आउने विश्वास पार्टीले गरेको थियो।

'चर चैनपुर क्याम्प कब्बा गर्न सकेनौँ', उनले विगत स्मरण गरे। त्यसपछि संखुवासभाबाट ११ दिन हिँडेर दोलखा पुगेँ। रातदिन १८/२० घण्टा हिँड्नुपर्दथ्यो। त्यसपछि उनी दोलखामै सक्रिय भए। त्यहाँ २ नम्बर कम्पनीका कमाण्डर संखुवासभाकै बाबुराम राई (विवश) थिए।

अनि सुरु भयो घाइते जिन्दगी

'म पनि त्यही कम्पनीमा परेँ। त्यसपछि २०५९ साल कात्तिकमा रौतहटको कमैया क्याक्प हान्ने जाने योजना बन्यो। तर योजना चुहिएपछि सिन्धुलीको भिमान क्याम्पमा हमला भयो', उनले सुनाए, 'त्यहाँ २५/२६ जना साथीहरू मारिए। त्यसपछि ओखलढुंगाको रुम्जाटार क्याम्प हानेँ। त्यहाँ म  घाइते भएँ। मेरो दाहिने आँखाले नदेख्ने भयो। देब्रे आँखाको भित्री रानी कोरिएको छ।' 

टाउको र शरीरका विभिन्न भागमा अहिले पनि छर्रा छ। त्यहाँबाट पनि निकै समय जनसेनामै काम गरेँ। तर, आँखा नै नदेख्ने भएपछि ठूलो समस्या भयो। काम गर्नै नसकेपछि जिल्ला फर्किएँ। २०६१ देखि जिल्ला कमिटीमा आबद्ध भएर राजनीतिक काम थाले। जिल्लामा एरिया सेक्रेटरी (तत्कालीन दुई/तीन गाविस प्रमुख) भएर बसे।

शान्तिप्रक्रियापछि नेकपा माओवादी छाडेर मोहन वैद्य किरण समूहमा पुगे। जिल्लाबाट वैद्यका साथीहरू नेत्रविक्रम चन्द विप्लवतिर जाँदा पनि एक्लै रुँघेर बसे। वैद्यले पुनः चुनावमा जाने बताएपछि चित्त नबुझेर पहिले पुनः नेकपा प्रचण्डकै पार्टीमा फर्किए। तत्कालीन माओवादी र एमाले मिलेपछि अहिले पुनः जिल्ला कमिटी सदस्य भएका छन्। 

मर्न डर लागेन 

'जनयुद्ध'का क्रममा सेना प्रहरीको क्याम्प हान्ने भन्ने पूर्वयोजना बनाइन्थ्यो। कमाण्डरहरूले राम्ररी सम्झाएर प्रशिक्षण दिन्थे। राजनीतिक सेना भएकाले मर्ने र मार्ने भन्ने डर हुन्नथ्यो। 'कहिल्यै मर्न डर लागेन। क्याम्प हान्न जाने दिन साथीभाइबीच नाचगान र अरू रमाइलो गरिन्थ्यो', उनले सुनाए। 

लडाइँमा जानुअगाडि आफ्नो सन्देश रेकर्डिङ गरिन्थ्यो। बाँचे भेटौँला मरे मेरो सन्देश घर पुर्‍याइदिनु भन्ने हुन्थ्यो त्यो रेकर्डमा। यदि मरिहाले उक्त रेकर्ड सन्देश उसको घरमा पुर्‍याउने गरिन्थ्यो। लडाइँमा औषधि खाएर जान्छन् भन्ने सुनिन्थ्यो । उनी भन्छन्, 'तर त्यो सत्य होइन। लडाइँमा जाँदा कहिल्यै औषधि खाएनौँ। घाउचोट लाग्यो भने रगत रोकिने औषधि खान्थ्यौं।' 

जहाँ मरेर बाँचे

'राजेन्द्रकुमार किराती (प्रवेश) जी कमिसार हुनुहुन्थ्यो। म एचक्ययु सेक्सन कमाण्डर (जासुस-इन्टेलीजेन्ट) थिएँ। पाँचथरको गोपेटारकाे अप्ठ्याराे गौंडामा एम्बुस राख्ने योजना भयो। म एउटा आँखा देख्दिनँ थिएँ। एउटा आँखा अलि-अलि देख्थेँ। मलाई सेना आउँछ कि भनेर हेर्ने र खबर गर्ने जिम्मा थियो', उनले भने, 'केही परबाट खुट्टा बजेको संकेत पाएँ। यता साथीलाई खबर गरेँ।

तीन/चार घण्टामा पनि एम्बुस गाडेर सक्नुभएन। म राइफल ताक्दै ब्याक सर्दै थिएँ। म भीरको डिलमा आइपुगिसकेँछु। सेनाले एक्कासि फाइरिङ गर्‍यो। मैले पनि फाइरिङ गरेँ तर तीन राउण्ड हान्नेबित्तिकै राइफल जाम भयो। उता, सेनाको एकजनालाई गोली लागेछ र अलमलियो। म पनि लुकेँ। यता, साथी भागे। म भागेर साथीहरूले दिएको संकेत ठाउँमा धेरै समयपछि पुगेँ। भित्र साथी राइफल पनि गुम्यो, मान्छे पनि मर्‍यो भनेर गफ गरिरहेको सुनेँ। सबैले मलाई मर्‍यो भनेर माया मारेका थिए तर जिउँदै पुगेँ।'

गोपेटार घटना उनकै शब्दमा

'पाँचथरको भोटेगाउँ भन्ने ठाउँमा बिहान तालिम गर्दै थियौँ। विद्यालय गहिरो र एकान्त ठाउँमा थियो। केही तल सेना आएको खबर पाइयो। म जासुस थिएँ। म हेर्दै गएँ। सेनाकाे टोली खाना पकाउँदै रहेछ। माथिबाट राइफल पडकाउनुपर्‍यो भनेर एक्लै गएको थिएँ। तर, मलाई नै सेनाले घेरा हालिसकेको रहेछ। त्यहाँ फाइरिङ भयो। म भागेँ। मलाई साथीहरूको सम्पर्क पुग्न दुई दिन लाग्यो। साथीहरूले फाइरिङमा मर्‍याे भन्ने सोचेछन्। म जिउँदै साथीहरूको सम्पर्कमा पुगें।'

बाक्सिलामा बाँचे

'ओखलढुंगाको रुम्जाटारमा घाइते भएर फर्किँदा खोटाङको बाक्सिलास्थितमा हेल्थपोष्टमा गएँ। फर्केर बजारमा खाना खान लाग्दै थिएँ। बजारमा फायरिङ भयो। साथीहरूले मलाई मर्‍यो भन्ने सोचेछन्। म ब्याक भएर रुम्जाटार नै फर्किएँ। त्यहाँ सेनाले स्थानीय दुईजनालाई मारेछन्। म साथीहरूको सम्पर्कमा पुगें।'

उपचार नभएपछि विद्रोह

रुम्जाटार घटनामा घाइते भएपछि एउटा आँखाले नदेख्ने भयो। अर्कोले अलिअलि देखिन्थ्यो। आँखाले अत्यन्तै पीडा दियो। यति धेरै दुख्ने कि भनेर साध्य छैन। पार्टी नेताले बेवास्ता गरेको उनी सुनाउँछन्। 'म सामान्य पार्टी सदस्य मात्रै थिएँ। अहिले बुझ्दा त्यहाँ पनि चाकडी चल्दोरहेछ', उनले सुनाए ,'पदम राई र राजेन्द्र कार्की लगायतका नेतालाई धेरैपटक भनेँ। पठाउन अप्ठेरो छ मात्रै भन्नुभयो तर पठाउनुभएन।' 

आँखा दुखेर अन्यन्तै पीडा भएपछि पार्टी छोडेर घरको पाखोबारी बेचेर उपचार गर्छु भनेर आउन लागेको थिएँ। कमाण्डर हुनुहुन्थ्यो सिन्धुलीका प्रवीन लामा। उनले भारतमा उपचारका लागि पठाए। डाक्टरले रोग नै पत्ता लगाउन सकेनन्।

आँखामा किरा परेको भन्दै औषधि दिन थाल्यो। 'मेरो आँखाभित्र छर्रा थियो। भन्न मिलेन। आँखा झन् नदेख्ने भएँ। त्यसपछि नेपाल फर्किएँ। त्यसपछि फेरि उपचारको लागि काठमाडौंको तिलगंगा आँखा अस्पतालमा पठाए', उनले थपे, 'डाक्टरले आँखामा छर्रा भएको पत्ता लगाए। सबै भिडियो गरेर प्रहरीलाई जिम्मा लगाउने भने सुनेँ।'

'डाक्टरलाई बोलाएर पार्टीले पठाएको हो उपचारका लागि प्रहरीलाई राम्रो हुँदैन भनेपछि डाक्टरले भनेनन्। उपचार गरेर फर्किएँ।' 

राहत सुविधामा समेत विभेद

शान्ति प्रक्रियापछि खुला राजनीतिमा लागे उनी। सशस्त्र युद्धका घाइते अपांगता भएकाहरूलाई नेपाल सरकारबाट २०६५ सालताका एकपटक १ लाख रुपैयाँको प्याकेज पाए। गतवर्षदेखि बालबालिकालाई छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयमा पेश गरेका थिए। तर अहिलेसम्म अत्तोपत्तो छैन। 

गत वर्ष नै स्थानीय शान्ति समितिको सिफारिसमा निःशुल्क स्वास्थ्य चेकजाँचका लागि बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएर चेक जाँच गरे। 'त्योबाहेक अरू केही पाएको छैन। मभन्दा सामान्य घाइते साथीले पनि सहयोगीसहितका मासिक जीवन निर्वाह भत्ता पाइरहेका छन्', उनलले भने, 'मैले नेताको चाकडी नै नगरेकाेले नै यस्ताे भयो।' 

राजनीतिले पीडा मात्रै

'सर्वहारा वर्गको मुक्तिको लागि भनेर जीवन सुम्पिएँ।  पार्टीभित्र पूर्ण कार्यकर्ता बनेर बस्दा कुनै अछुतो लागेन। जब शान्त्रि प्रक्रियापछि पार्टी खुुला राजनीतिमा आयो। त्यसपछि पीडामाथि पीडा मात्रै थियो। २०६४ सालमा पार्टीले सरकारको नेतृत्व गरेपछि ठूलो आशा थियो' उनी विगत सुनाउँछन्। 

'जनयुद्ध'का घाइते अपांगता भएकालाई उचित व्यवस्थापन गर्नुपर्छ भनेर पटकपटक सिंहदरबार धाए। केही सुनुवाइ भएन। 'अहिले घाइते जीवन जीउन बाध्य भएको छु। राजनीतिले पीडा मात्रै दिएको अनुभूति हुन्छ', उनी भन्छन्, 'पार्टीले हामी जस्ता सोझा कार्यकर्ता प्रयोग मात्रै गरेछ जस्तो लाग्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.