निरन्तर संसद् अवरुद्ध गर्ने प्रतिपक्षीको चेतावनी

|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार र विपक्षी दलबीच सहमति हुन नसक्दा बिहीबारको प्रदेशसभा बैठक पनि स्थगित भएको छ।

पटक–पटक बसेको छलफल सहमति नजिक रहे पनि निर्णायक भने हुन सकेन जसले गर्दा सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार चौथो पटक स्थगित भएको छ।

प्रतिपक्षी दलले बजेटकमा संशोधन नभएसम्म बैठक सञ्चालन गर्न नदिने चेतावनी दिएको छ। प्रदेश सरकारले भने वार्ता र संवादबाट समस्याको समाधान निकाल्ने दाबी गर्छ।

नाराबाजीपछि बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको चौँथो अधिवेशनको २० औँ बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदले नारबाजी गरेका थिए। नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले उठेर नारबाजी गरेपछि प्रदेश सभाको बैठक चौँथो पटक स्थगित भएको हो।

प्रतिपक्षी दलका सांसदले रोस्टम घेराउ गर्दै ‘अपारदर्शी बजेट चाहिँदैन’, ‘जनतालाई ठग्न पाइँदैन’, लुटतन्त्र मुर्दावाद’ जस्ता नारा लगाएका थिए।

सभामुख अर्जुन बहादुर थापाले पटक–पटक बस्न आग्रह गरे पनि विपक्षी दलका सांसदले संसद् बैठक अवरुद्ध गरिरहे। विपक्षी दलको निरन्तर विरोधपछि सभामुख थापाले आगामी असार १५ गतेसम्म बैठक स्थगित गरेका छन्।

सभमामुख थापाले बिहीबार चौँथो पटक प्रदेशसभाको बैठक स्थगित गरेका हुन्। असार १ गते बजेट ल्याएको सरकारले असार ५ गतेबाट प्रतिपक्षी दलको विरोध खेप्न थालेको हो।

असार ५ गते प्रतिपक्षी दलले विरोध मात्रै गरेनन् रातो किताबै जलाए। त्यसपछि असार ८, ११ र १२ गतेको प्रदेशसभा बैठक पनि प्रतिपक्षी दलको विरोधका कारण स्थगित भयो।

निरन्तर संसद् अवरुद्ध गर्ने प्रतिपक्षीको चेतावनी

चौथो पटक प्रदेशसभा बैठक स्थगित भए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले अब निरन्तर बैठक अवरुद्ध गर्ने चेतावनी दिए। प्रदेश सरकारले ल्याएको बजेट कुनै पनि अवस्थामा मान्य नहुने भन्दै रावलले त्यसमा सुधार नभएसम्म बैठक अवरुद्ध गर्ने चेतावनी दिएका हुन्।

‘भष्ट्राचारलाई प्रशय दिने गरी प्रदेश सरकारले बजेट ल्याएको छ’ उनले भने, ‘यही अवस्थामा प्रदेश सभा बैठक सञ्चालन हुन दिन्नौँ।’

उनले प्रदेश सरकारले बजेटमा सुधार गर्नुपर्ने बताए। ‘बजेट सुधार गरेर प्रदेशको उन्नति प्रगति हुने गरी बजेट ल्याउनु पर्छ। तबसम्म सदन चल्ल दिन्नौ’ उनले दोहोर्‍याए।

बैठक स्थगित भएपछि राष्ट्रिय जनता पार्टी राजपाका सांसद कृष्ण चौधरीले पनि सरकारले मनोपलि ढंगबाट बजेट ल्याएको भन्दै आक्रोश व्यक्त गरे। ‘मेरो निर्वाचन क्षेत्रमा एउटा पनि योजना छैन’ उनले भने ‘योजना सबै मन्त्रीका क्षेत्रमा भएर पुग्छ।’

चौधरीले सरकारले वार्ताको नाममा आफूहरूलाई खेलाइरहेको आरोप लगाए। ‘सरकारसँग हामी निरन्तर वार्तामा छौँ’ उनले भने ‘सरकारको वार्ताको कुनै औचित्य छैन।’ 

यस्तो छ सरकारको तयारी

प्रतिपक्षी दलका सांसदले बजेट संशोधनको माग गरे पनि प्रदेश सरकार बजेट संशोधन गर्ने मनस्थितिमा भने देखिँदैन। केही महत्त्वपूर्ण विषयमा सहमति गर्दै प्रदेश सरकार सदन सञ्चालन गर्ने तयारीमा छ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा वार्ताबाटै समस्या समाधान गर्ने गरी तयारी भइरहेको बताउँछन्। ‘हामी निरन्तर छलफलमा छौँ’ मन्त्री बोहराले भने, ‘छलफलबाटै समस्याको समाधान निकाल्यो गृहकार्य भइरहेको छ।’

बुधवार पनि विपक्षी दलका सांसदहरूसँग आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा र आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह वार्तामा बसेका थिए। उक्त वार्ता सहमति नजिक पुगेको भए पनि औपचारिक निर्णय नहुँदा विपक्षीको अवरोध कायमै रहेको हो।

सरकारले अब निर्णायक वार्ता गर्ने जनाएको छ। ‘अर्का पटक आह्वान गरिएको सदन अवरुद्ध हुँदैन’ आर्थिक मामिला तथा योजना मन्त्री बोहराले भने, ‘हामी गहन छलफलमा छौँ। निष्कर्ष चाँडै निस्कन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.