|

सुर्खेत : पिकनिक खान जाने आजभोलि प्रचलन के गाउँ के शहर प्राय सबैतिर बढ्दै गएको छ।

पिकनिक खानको लागि कित ताल तलैयातिर, कि नदी किनारतिर उति नभए जंगल साइडतिर वा पार्कतिर जाने प्रचलन रहेको छ। तर सुर्खेतको बराहाताल गाउँपालिका ९ का महिलाहरू पिकिनिक खाने भनेर स्वास्थ्यचौकी लेखगाउँतिर लागिरहेका थिए। महिलाका साथमा केही पुरुषहरू पनि पिकनिका लागि भन्दै स्वास्थ्यचौकीतिर लागिरहेका थिए।

कतिपयले त कस्तो अचम्म भो पिकनिक खान पनि कोही स्वास्थ्य चौकीतिर जान्छ भनेर प्रश्न पनि गरिरहेका देखिन्थेँ। तर यो स्वास्थ्य चौकीमा हुन लागेको पिकनिक अन्य सामान्य  पिकनिक जस्तै मस्ती गर्न र रमाइलो गर्नको लागि मात्र आयोजना गरिएको पिकनिक थिएन। सामाजिक व्यवहार परिवर्तन गर्ने उद्देश्यका साथ सो पिकनिकको आयोजना लेखगाउँ स्वास्थ्य चौकीले गरेको थियो।

ब्रेक थ्रू एक्सन परियाजनाको सहयोगमा भइरहेको पिकनिकमा आम नागरिक सहभागी नभएर गर्भवती महिला, गर्भवतीका श्रीमान, सासुआमा र सो क्षेत्रका महिला स्वंयसेवीकाहरू पिकनिकमा सहभागी भइरहेका थिए। महिला स्वास्थ्य  तथा आय आर्जनलाई ध्यान राखेर आमा समूह सबैतिर गठन गरिएको छ। तर ब्रेक थ्रु परियोजनाअन्तर्गत गर्भवती महिलाको गर्भवती महिला समूह गठन गरिएको छ। समूहमा गर्भवती महिला मात्र हुने गर्दछन्।

हरेक महिनाको एक गते अनिवार्य गर्भवती समूहको बैठक बस्ने गर्दछ। बैठकमा एक अर्काका स्वास्थ्य समस्या, अनुभव आदान प्रदान तथा खानेकुराका बारेमा पनि अनुभव आदान -प्रदान र समस्याका समाधानका विषयमा छलफल हुने गरेको गरेको गर्भवती समूहकी अध्यक्ष दिलसरा दर्लामीले बताइन्। उनले भनिन् ‘यो बैठकले हामीलाई धेरै सहयोग भएको छ। घरमा पनि पहिले भन्दा राम्रो स्याहार र आराम गर्न पाइरहेका छौं। घरका मान्छेले पनि बुुझेकाले सजिलो भएको छ।’

गर्भवती समूहको मासिक बैठकमा गर्भवतीले कि त श्रीमान कित सासुआमालाई पनि अनिवार्य ल्याउनु पर्ने नियम रहेको छ। गर्भवती महिलाको स्याहार सुसार गर्न र खानपिनमा ध्यान पुर्‍याउनका लागि श्रीमान वा सासुआमाले पनि गर्भाअवस्थाका समस्याबारे बझ्नुपर्ने अवस्था रहेको भन्दै उनीहरूलाई गर्भवतीको बैठकमा बोलाइने गरिएको हो। साथै सुत्केरी हुनु भन्दा पहिलेको पूर्व तयारीको बारेमा पनि छलफल हुनका साथै पूर्व तयारीकालागि प्रेरित गर्ने गरिन्छ।

गर्भवती दुर्गा विकका श्रीमान चन्द्र विक पनि गर्भवती समूहको बैठकमा श्रीमतीसँगै जाने गरेका छन्। गर्भवती समूहको बैठकमा आएर धेरै कुरा बुझेको विकको भनाई छ। ‘गर्भावस्था बारेमा मैले धेरै कुरा बुझ्ने मौका पाए’, उनले भने, ‘सबै श्रीमानले यस्तो कुरा बुझ्न सके धेरै राम्रो हुन्थ्यो होला।’ बैठकमा महिला स्वंसेविका पनि आएका हुन्छन र उनीहरू पनि एक अर्काका कार्य अनुभव र स्वास्थ्य शिक्षा आदानप्रदान गर्ने गर्दछन र गर्भवतीलाई पनि नजिकबाट चिन्ने मौका गर्दछन्। 

यो गर्भवती समूहमा जो गर्भवती भएको कम अवधिको महिला छ उनलाई समूहको अध्यक्ष चुनिन्छ भने सुत्केरी भएर जानेलाई गर्भवती समूहबाट बिदाई गरिन्छ। साथै नयाँ गर्भवतीलाई समूहमा स्वागत गर्ने गरिन्छ। यसको सहजीकरण परियोजनाको सहकार्यमा स्वास्थ्य संस्थाले गर्ने गरेको ब्रेक थ्रू एक्सन की कार्यक्रम संयोजक जया बुढाथाकीले जानकारी दिइन्।

त्यो ठाउँमा पहिले गर्भवती समूह गठन भएको थिएन। स्वास्थ्य-शिक्षा पनि पहिले आदान-प्रदान हुँदैनथ्यो। गएको फागुनमा बराहाताल गाउँपालिका ९ मा नै एकजना सुत्कुेरी आमाको मृत्यु भएको थियो।

शिशु टुहुरो हुनुपर्ने अवस्था आयो। त्यो घटना पनि सो ठाउँका गर्भवती महिला समूहमा बस्न थालेका हुन्। जसले अहिले गर्भवती भएदेखि सुत्केरी भइसकेपछि पनि स्वास्थ्यमा आउन सक्ने समस्या, पोषण, तथा हेरचाह र सुसारका कुरामा छलफल हुने गरेको छ। साथै गर्भवती आकस्मिक कोष निर्माण गरी बचत गर्न पनि गर्भवती समुहले शुरुवात गरेको छ। जसले भविष्यमा हुने भवितव्यमा सहयोग पुग्ने उनीहरूको विश्वास रहेको छ।

बराहाताल गाउँपालिका  ९ की गर्भवती महिलाले अञ्जु नेपालीले अहिलेसम्म ३ पटक स्वास्थ्य संस्थामा जाँच गराइसकेकी छन्।  पहिलो पटक गर्भवती भएको ३ महिना पुरा भएपछि स्वास्थ्य संस्थामा जाँच गराएकी अञ्जुले स्वास्थ्य संस्थाबाट लामखुट्टे बाट बच्नका लागि झुल, आइरन चक्की, जुकाको औषधि, टीटी सुई र आवश्यक सरसल्लाह पाएको बताइन्। 

‘स्वास्थ्य संस्थामा पटक पटक गर्भावस्थामा जाँच गराउदा गर्भमा रहेको शिशु र गर्भवतीको दुवैको स्वास्थ्यमा समस्या नआउने रहेछ,’ उनले भनिन् ‘अनि यो गर्भवती समुहमा आएर अनुभव साटासाट गर्दा त झन तनाव पनि कम हुने, अहिले धेरै फाइदा भएको मलाई लागेको छ।’ अञ्जु जस्तै उसो त अरु गर्भवतीलाई पनि गर्भवती समूहमा बसेर फाइदा भएको महसुस भएको छ।

गर्भवती समूहकी अध्यक्ष दिसलसरा दर्लामीले महिनामा एक पटक हुने बैठकले गर्भवतीले भोग्नु परेका समस्या, अवस्थाका बारेमा समीक्षा र अनुभव आदान-दान गर्ने गरेको बताइन्। ‘एक दिन भए पनि घर बाहिर आफूजस्तै दिदीबहिनी संँग भेटघाट गरेर एक अर्काका कुराकानी सुन्ने र सुनाउने गर्दा मनको बोझ हल्का हुन्छ’, उनले भनिन्, 'रमाइलो पनि हुन्छ। पौष्टिक आहारका कुरा पनि हुन्छन्। धेरै फाइदा भएको जस्तो लाग्छ मलाई त।’

गाउँपालिकाले पनि यो ब्रेकथ्रू ले संञ्चालन गरेको कार्यक्रम प्रभावकारी लागेको छ। यो कार्यक्रमको प्रभावकारिता देखेर नै बराहताल गाउँपालिकाले आगामी बजेटमा केही रकम विनियोजन गर्ने गरी तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक शाखा प्रमुख राजु बस्नेतले जानकारी दिए।

हामीले अन्य उपाय भन्दा यो गर्भवती महिलाको पिकनिक कार्यक्रम प्रभावकारी लागेको छ’, बस्नेतले भने, ‘यो पिकनिक स्वास्थ्य पिकनिक हो। यसमा गर्भवतीका समस्या पहिचान र निराकरण हुन्छन्।’ 

लेखगाउँ स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेव अधिकृत रामप्रसाद भण्डारीले गर्भवती समूहमार्फत गरीएका यी कार्यक्रमले गर्भवती महिलामा धेरै परिवर्तन आएको र सरकारको स्वस्थ शिशु जन्माउने उद्देश्य पूरा हुने बताए।

पिकनिकमा लुकेको स्वस्थ स्वास्थ्यले गर्भवतीको परिवार अनि समाजमा खुसी संचार गराउने भण्डारीको विश्वास रहेको छ। कर्णाली प्रदेशको सामाजिक मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यलयबाट पनि सो कार्यक्रमको अनुगमन गरिएको थियो।

जिल्ला स्वास्थ्य कार्यालयका वसन्त श्रेष्ठले कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिए। त्यस्तै ब्रेक थ्रू एक्सनका कार्यक्रम विज्ञ थानेश्वर कोइरालाले सामाजिक व्यवहार परिवर्तन नगरी सामाजिक विकास असम्भव रहेकोले सो कार्यक्रम संचालन गरिएको जानकार दिए। यो कार्यक्रममार्फत कर्णालीको कम्जोर स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.