|

बैतडी : मोतीविन्दुका कारण दुईवटै आँखाको ज्योति गुमाएकी बैतडीको दशरथचन्द नगरपालिका ३ दुर्गाभवानीकी ८० वर्षीया खण्डी ओडले नयाँ दृष्टि पाएकी छन्। बुढेसकलामा नयाँ दृष्टि पाएसँगै खण्डी निकै खुसी छेखिन्छिन्। 

गेटा आँखा अस्पताल कैलालीको आयोजना र नेपाल नेत्रज्योति संघ र नेपाल रेडक्रस सोसाइटी बैतडीको समन्वयमा जिल्ला अस्पतालमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो। उक्त शिविरमा आएर खण्डीले आँखाको शल्यक्रिया गराएकी हुन्।

दुबै आँखा नदेख्ने भएर समस्यामा परेकी खण्डी आँखाको दृष्टि फर्किएपछि उनी खुसी लागेको बताइन्। उनले भनिन्,'बुढेसकालमा संसारलाई दोस्रो पटक देख्न पाए।' दुवै आँखाको शल्यक्रियापछि खण्डीले पहिले जस्तै दुवै आँखा देख्न सक्ने भएकी छन्। आँखाको ज्योति फर्केला भनेर सोचेको थिएन् तर बिना पैसा संसारलाई फेरि एकपटक हेर्न पाए उनले थपिन्, 'संसार अन्धकार थियो ज्योति पाए खुसी छु।'

आँखाको  शल्यक्रिया नेत्रविशेषज्ञ तथा गेटा आँखा अस्पतालका निर्देशक डाक्टर सुरेशराज पन्तले गरेका थिए। दुवै आँखा बन्द भएपछि स्थानीयको सल्लाहमा आँखा उनलाई शिविरसम्म ल्याएको हो। शिविरमा २० रुपैंयाँ पर्खाको मात्रै राखिएको थियो। '२० रुपैयाँ तिरेर आँखा देख्ने भए। १० वर्षदेखि एउटा आँखा देख्दैन थिएँ' खण्डीले भनिन्, 'घरको आर्थिक स्थिति कमजोर थियो टाढा गएर शल्यक्रिया गराउन सकिने अवस्था थिएन्।' 

यस्तै शिविरमै आँखाको ज्योति पाएसँगै दोगडाकेदार गाउँपालिका ४ भण्डारीगाडकी माधवी भण्डारीको पनि दंग छिन्। ६७ वर्षीया माधवीको पनि दुवै आँखाको ज्योति गुमेको थियो। दुईदिने शिविरमा एक आँखाले उनले पनि संसार देख्ने भएकी छिन्। बुधवार र बिहीबार सञ्चालन भएको शिविरमा बिहीबार अन्तिम दिन आएकोले एउटा आँखाको मात्रै ज्योति पाएकी हुन्।

एक दिनमा एक आँखाको मात्रै शल्यक्रिया गरिने रहेछ। उनले भनिन् 'एक आँखाले भएपनि संसार देख्न पाएँ', उनले थपिन्, 'घरमा कोही नयाँ मान्छे आउँदा को हुनुहुन्छ भनेर सोध्नुपर्थ्यो। अब ती दिन गए सबैले देख्ने चिन्ने भएकी छु।'  दुबै आँखाको ज्योति गुमेपछि आर्थिक स्थिति कमजोर भएकै कारणले शल्यक्रिया गराउन नपाएका दशरथचन्द नगरपालिका ३ दुर्गाभवानीका ६५ वर्षीय धनबिरे लुहार पनि दुबै आँखाका ज्योति पाएका छन्। 

गुमेको आँखाको ज्योति पुनः पाउने यिनीहरूले केही पात्रहरू मात्रै हुन्। तर जिल्ला अस्पतालमा असार ११ र १२ गते सञ्चालन भएको निशुल्क आँखा शिविरमा ४१५ जनाले उपचार गरिएको थियो। जसमध्ये ७३ जनाको आँखाको शल्यक्रिया गरिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए।

उपचार गराएकामध्ये २२३ महिला र १९२ पुरुष रहेका छन्।  यही तथ्यांकलाई आधार मान्ने हो भने पुरुषभन्दा महिला आँखाको समस्याले ग्रसित छन्।  घराँयसीदेखि हरेक काममा महिलाले बढी सक्रिय हुने भएका कारण बैतडीमा आँखाको समस्या बढी जस्तो महिलामा देखा पर्ने गरेको नेत्रविशेषज्ञ तथा गेटा आँखा अस्पतालका निर्देशक डाक्टर सुरेशराज पन्तको भनाई छ।  

६२ प्रतिशत अन्धोपन मोतिविन्दुकै कारणले हुने गरेको छ। आँखाको समस्या ५० भन्दा बढी उमेर समूहका नागरिकमा बढी रहेको समेत उनले बताए। २० रुपैयाँ पर्चाको मात्रै शुल्क राखेर यसअघि बैतडीका अन्य स्थानीय तहमा पनि आँखा शिविर सञ्चालन गरिएका थिए।  

जिल्ला अस्पताल बैतडी, गाँजरी, कुँलाउ, श्रीकोट र पाटनमा सम्पन्न निःशुल्क आँखा शिविरबाट दुई हजार ३८६ जनाले सेवा लिएका हुन्। जसमध्ये ३०८ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएकोे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.