पर्यटकसँगै आम्दानी २० प्रतिशतले बृद्धि

|

भक्तपुर : आन्तरिक आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको पर्यटन उद्योगको प्रवर्द्धन का लागि भक्तपुर नगरपालिकाले आगामी वर्ष विशेष कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ। नगरपालिकाको पाँचौं नगरसभाले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पारित गर्दै पर्यटन उद्योगको प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीति लिएको हो।

नीतिमा भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर महोत्सवको आयोजना गर्ने उल्लेख गरिएको छ। त्यसका लागि नगरपालिकाले १ करोड बजेट समेत विनियोजन गरेको छ। पर्यटन पूर्वाधार विकासका लागि ४ करोड ८६ लाख ९० हजार बजेट व्यवस्था गरेको छ। सम्पदा संरक्षण तथा विकास निर्माणको लागि ७२ करोड ९१ लाख १० हजार अर्थात कुल बजेटको २४.२१ प्रतिशत विनियोजन गरेको छ।

नगरपालिकाले भक्तपुर आउने पर्यटकको सुविधाको लागि पर्यटकीय क्षेत्रहरूमा स्तरीय शौचालय, हरियाली प्रवर्द्धनलगायतका कार्यहरू क्रमशः गर्दै लाने, परम्परागत गाइजात्रा मार्गलाई पर्यटन पैदल मार्गको रुपमा विकास गर्न आवश्यक पूर्वाधार तयार गर्ने छ।

 नगरपालिकाले पर्यटकको बसाई लम्ब्याउनका लागि साँझको समयमा ठाउँ ठाउँमा सांस्कृतिक गतिविधिहरू सञ्चालनको व्यवस्था मिलाइनेछ।  नगरले सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना गर्ने, पर्यटक प्रहरीको प्रभावकारी परिचालन गरी भक्तपुरलाई सुरक्षित पर्यटकीयस्थल बनाउन पहल गर्ने नीति लिएको छ।

त्यसैगरी भक्तपुरका मौलिक उत्पादनहरू कालो टोपी, जुजु धौ, हाकुपतासी, ताइच्यून चिउरा जस्ता घरेलु तथा साना उद्योगलाई वातावरणमैत्री ढंगबाट प्रोत्साहित गर्न विभिन्न गतिविधि अगाडि बढाउने, स्थानीय युवालाई चिनियाँ, जापानी, अंग्रेजी, फ्रान्सेली, स्पेनिस भाषालगायत विदेशी भाषाहरूको प्रशिक्षण दिलाउन प्राेत्साहित गर्ने छ।

 नगरवासीलाई होम स्टे संचालनसम्बन्धी तालिम दिने, भक्तपुरको जीवनशैली, रहनसहन र संस्कृति झल्किने सांस्कृतिक संग्रहालयको व्यवस्था गर्ने, पर्यटकको सुविधाको लागि उपयुक्त स्थानमा पर्यटक बसपार्कको व्यवस्था गर्ने, सहकारी र स्थानीय जनताको सहभागितामा गुणस्तरीय पर्यटकीय होटल संचालन गर्न सहकारी संस्थालाई उत्साहित गर्ने नीति समेत भक्तपुर नगरपालिकाले लिएको छ। 

पर्यटन उद्योगलाई टेवा पुर्‍याउन भक्तपुर नगरपालिकाले सम्पदा र संस्कृति संरक्षणमा समेत विशेष जोड दिएको छ। पारित नीति तथा कार्यक्रममा भक्तपुर दरवार क्षेत्र वरिपरिको ऐतिहासिक ९९ चोक तथा जगनाथ मन्दिर क्षेत्रको उत्खननको अध्ययन कार्यलाई अगाडि बढाउने याेजना रहेकाे छ। 

गाइजात्रामा प्रस्तुत हुने घिन्ताङ्घिसी, परम्परागत र आधुनिक विधाका नृत्य, नाटक तथा ख्याली र कुनै पनि सांस्कृतिक विधालाई प्रतियोगितात्मक मूल्यांकन गरी पुरस्कारको व्यवस्था गर्ने, परम्परागत बाजा तथा विभिन्न सांस्कृतिक विधाहरूमा जोडदिएकाे छ।  

सांस्कृतिक विधाहरू नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण दिने टोलीलाई मूल्यांकनको आधारमा सहयोग गर्ने, सांस्कृतिक, पुरातात्विक महत्व बोकेका पाटी-पौवा, ढुंगेधारा, पोखरी, इनार, सत्तल, द्योछें लगायतका सम्पदाको संरक्षणलाई निरन्तरता दिने याेजना छ। ती सम्पदाहरू पुनर्निर्माण वा जीर्णोद्धार गर्दा अध्ययन अनुसन्धानको साथै मौलिक शैलीलाई जोड दिने, सम्पदा संरक्षित क्षेत्रको निश्चित सीमा तोकी सांस्कृतिक क्षेत्र घोषणा गर्ने नीति समेत लिएको छ।

पर्यटकसँगै आम्दानी २० प्रतिशतले बृद्धि

भक्तपुरमा आउने पर्यटकको संख्या यसवर्ष २० प्रतिशतले बृद्धि भएको छ। भक्तपुर नगरपालिकाका भित्र रहेको सम्पदाको अवलोकनका लागि चालु वर्षको जेठ मसान्तसम्म दक्षिण एसियाली राष्ट्र तथा चीनबाट ९६ हजार ५४० र अन्य राष्ट्रबाट एक लाख २९ हजार ८३० गरी कुल २ लाख ४६ हजार ४३० बाह्य पर्यटक भक्तपुर आगमन भइसकेको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ।

गत आर्थिक वर्ष २०७४/०७५ मा भक्तपुरमा दक्षिण एसियाली राष्ट्र तथा चीनबाट ९९ हजार ९८० जना र अन्य राष्ट्रका एक लाख २७ हजार ६३४ गरी कुल दुई लाख २७ हजार ६१४ बाह्य पर्यटक आएका थिए। पर्यटकको आगमनसँगै भक्तपुर नगरपालिकाको आम्दानी पनि बृद्धि भएको छ।

नगरपालिकाले चालु आवको जेठसम्म २६ करोड २८ हजार आम्दानी गरेको छ। जसमध्ये दक्षिण एसियाली राष्ट्र र चीनका पर्यटकबाट ५ करोड ४८ लाख ८ हजार ५०० र अन्य राष्ट्रका पर्यटकबाट २० करोड ५२ लाख १९ हजार ५०० रुपैयाँ रहेको छ।

गत वर्ष भक्तपुर नगरपालिकाले दक्षिण एसियाली राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ९९ लाख ९० हजार र अन्य राष्ट्रका पर्यटकबाट १९ करोड १४ लाख ५१ हजार गरी कुल २४ करोड १४ लाख ४१ हजार आम्दानी गरेको थियो। नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रति पर्यटक ५०० र अन्य राष्ट्रका पर्यटकबाट प्रति पर्यटक एक हजार ५०० पर्यटन शुल्क संकलन गर्दै आएको छ। 

भक्तपुर आउने पर्यटकमध्ये सबैभन्दा बढी चीनका छन भने त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशका पर्यटक आएको केन्द्रले जानकारी दिएको छ।नगरपालिकाले पर्यटकसँग सेवा शुल्क उठाउन नगरका १४ स्थानमा काउन्टर स्थापना गरेको छ। 

पर्यटकलाई लक्षित गरी निरन्तर कार्य

भक्तपुर नगरपालिकाले पर्यटकलाई लक्षित गरी निरन्तररुपमा योजनाहरू सञ्चालन गर्दै आएको जनाएको छ। पर्यटकलाई लक्षित गरेर नै नपाले भूकम्पले क्षति गरेका सम्पदाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर स्थानीय जनसहभागितामा पुनर्निर्माण गरिरहेको नगरप्रमुख सुनिल प्रजापतिले बताए। उनले भक्तपुर नगर अवलोकनका आउने पर्यटकलाई सहज गर्न नपाले च्याम्हासिंहदेखि भार्वाचोसम्मको नगरको प्रमुख बाटोमा ढुंगा विछ्याउने कार्य भइरहेको बताए। 

उनले दरवार स्क्वायरमा हरियाली प्रवर्द्धन गर्न विभिन्न जातका फूल र हरियाली हुने विरुवाहरू भएको गमला राख्ने कार्य शुरु गरिएको, सम्पदा क्षेत्रहरू दरवारस्क्वायर र टौमढी लगायतका ठाउँमा रात्रीकालीन बत्तीको व्यवस्था गरेको जानकारी दिए।

प्रमुख प्रजापतिले भने, ‘पर्यटकिय नगरी भक्तपुरलाई साँस्कृतिक केन्द्र बनाउने योजनाका साथ नपा अघि बढेको छ।’

नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी प्रमुख प्रजापतिले पर्यटकको आवश्यकता र माग बमोजिम सरोकारवालासँग आवश्यक छलफल गरी पर्यटन प्रवर्द्धन योजना अघि सार्ने तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘पर्यटनको सम्बन्धमा पनि व्यवसायीसँग एक चरणको छलफल भइसकेको छ। पर्यटकलाई कसरी उनीहरूको माग बमोजिम सन्तुष्ट दिन सकिन्छ। त्यो अनुसारको योजना ल्याउने तयारी भइरहेको छ‍।’

पर्यटकका गुनासा कस्ता ?

भक्तपुर अवलोकनका लागि पर्यटकहरुले मुख्य गरी हकरले दुःख दिएको गुनासो गर्ने गरेको पर्यटक प्रहरी पोष्ट भक्तपुरका प्रमुख रस्मिला पैजुले बताए। त्यसैगरी जथाभावी सवारी पार्किङ र हर्न बजाउँदा सम्पदा अवलोकनमा कठिनाई हुने गरेको र बाटोमा हिँडिरहँदा त्रसित हुनुपरेको गुनासो आउने गरेको नगरपालिकाको पर्यटन सूचना केन्द्रका सहायक सूचना अधिकारी मुरज डिडियाले जानकारी दिए। 

क्युरियो सामान बिक्री गर्ने हकरले पर्यटकलाई सामान भिडाउन जबरजस्ती गर्ने, पिछा लागेर हैरान गर्ने त्यसले गर्दा अवलोकनमा बाधा पुगेको गुनासो गर्ने गरेको पैंजुले जानकारी दिए। त्यस्तो अवस्थामा पर्यटक प्रहरीले सहजीकरण गरिदिने र हकरलाई पर्यटकलाई दुःख नदिन सम्झाई बुझाई गर्ने गरेको बताए। व्यासीस्थित पर्यटक प्रहरी पोष्टले भक्तपुरका सम्पदास्थलमा गस्ती गरेर पर्यटकलाई आवश्यक सहयोग दिँदै आएको छ।

‘पर्यटकको सामान चोरी भए, बाटो बिर्सिएर अन्यत्र गएको अवस्थामा प्रहरीले सहजीकरण गर्ने कार्य गर्दै आएका छौं’, पर्यटक प्रहरी प्रमुख पैंजुले भने, ‘कोही हकरले पर्यटकलाई समस्या पुर्‍याएको खण्डमा, पर्यटकमाथि कसैले नराम्रो व्यवहार गरेमा हामीले सहजीकरण गर्ने हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.