पहिले कलाकार महिनौं खटिन्थे, अहिले अल्छी भए

|

काठमाडौं : जब तपाईं कुनै कामबारे सोच्नुहुन्छ। समयको कुनै कालखण्डमा त्यो दिशामा पुग्ने निश्चित छ। यसैको उदाहरण हुन्,  नेपाली चलचित्रका सफल निर्माता सन्तोष सेन।  प्रेम गीत-३ निर्देशन तयारीमा रहेका सेनले चलचित्रमा लाग्छु भन्‍ने कहिल्यै सोचेका थिएनन्। 

कतिपय घटनाहरू काम गर्दै जाँदा घट्दै जाने रहेछन्। यो चलचित्रबाट उनी निर्देशनमा डेब्यु गर्दै छन्। चलचित्र निर्देशन गर्न उनी जति उत्साहित छन्। उस्तै चुनौती पनि रहेको बताउँछन्।

उनी अहिलेका चर्चित निर्माता हुन्। निर्देशनमा उनको काम कस्तो होला, हलसम्म पुगेपछि थाहा हुनेछ। 'चलचित्र निर्माण गर्न आएको थिएँ', उनी भन्छन्, 'कामले काम सिकायो। निर्देशन पनि गर्दै छु।'

उनी नेपाली चलचित्रको दुनियाँमा चंखे शंखे पंखे' बाट चलचित्र क्षेत्रमा निर्माताका रूपमा उदाएका हुन्। उनको पहिलो चलचित्र नेपाली दर्शकले मन पराएनन्। फ्लप भयो। तर हार मानेनन्। दोस्रो फिल्म प्रेम गीत बनाए। जसले आफ्नो लगानी त उठाएन तर विश्वास चाहिँ जगाइदियो।

दर्शकले उनलाई पत्याए। उनी भन्छन्, 'फ्लप फिल्मले हिट फिल्म बनाउन अभिप्रेरित गर्‍यो। हिट फिल्मले आफूलाई चलचित्रमा भएको विरुद्धमा काम गर्न।' उनले मेरी मामु, प्रेम गीत २ पनि निर्माण गरे। अहिले उनी प्रेम गीत ३  निर्माण तयारीमा छन्।

यति सजिलै चलचित्र सफल निर्माता भएका होइनन् उनी। अनेकन हण्डर र ठक्कर खाएका छन्।चंखे शंखे पंखे' भन्दा पहिले चलचित्र निर्माण गर्न केही निर्देशकसँग मिलेर लगानी गरिसकेका थिए। तर निर्देशकले धोका दिएपछि उनी अलग्गिए। त्यसपछि उनलाई नेपाली चलचित्र कुरूप लागेको थियो। तर, सधैँ कुरूप छ भनेर अरूलाई धारे हात लाउनुभन्दा आफूले सुधार थाल्नुपर्छ भन्‍ने हिम्मतका साथ चलचित्र क्षेत्रमा हात हालेको बताउँछन्।

चलचित्र एक रहर

बच्चैदेखि उनी नेपाली चलचित्र हेर्थे। बुवालाई छोरो लाहुरे भएको हेर्ने रहर। बुवाको रहर पूरा गर्न पनि लागेका होइनन्। भारतीय सैनिकमा भर्ती भए। १० महिना सैनिकको तालिम लिए। तर मन खुसी भएन। लगत्तै सिंगापुर लागे। सिंगापुरपछि उनी ब्रुनाई हान्‍निए। ब्रुनाईमा १० वर्ष बस्दा अधिकांश नेपाली फिल्म हेरे। उनी भन्छन्, 'खोई किन किन मलाई नेपाली फिल्ममा असाध्यै लगाव बढ्दै गयो।' विदेश बसाई सकाएर उनी नेपाल आए। नेपाल फर्केपछि चलचित्रमा हात हाले। तर सफल हुन सकेनन्। एउटा असफलताले हार मानेनन्।

चलचित्र नबुझी नआउन्

अहिले नेपाली चलचित्र स्तरीय बन्दै गएका छन्। तर चलचित्र क्षेत्र पूर्ण व्यावसायिक बनिसकेका छैन। कला क्षेत्रमा लाग्नेको ग्राफ भने उकालो लागेको लाग्यै।  चलचित्र बनाएर चर्चामा आउने लोभ उस्तै छ मान्छेमा। रंगीन क्षेत्रको कुरूप अनुहार नबुझी कसैलाई यो क्षेत्रमा नआउनु नै राम्रो हुने उनी बताउँछन्।

उनी भन्छन्, 'चलचित्रको ज्ञान नभई यस क्षेत्रमा लगानी गर्नु बालुवामा पानी हालेसरह हो।' बरु चलचित्रमा लामो समय काम गरेकाहरुसँग सल्लाह लिन सुझाउँछन् उनी।

प्रेम गीत ३ को चर्चा

ग्राउण्डमा जानु पहिले नै यसको चर्चा सुरु भइसकेको छ। विशेषत: यो चलचित्रका लागि नायिकाको खोजीले यसको चर्चा उचाईमा छ। अभिनय कला भएका धेरै व्यक्ति समाजमा छन्। नयाँ अनुहारको खोजीका लागि यो अभियान चलाएको उनी बताउँछन्। कतिपय कला क्षेत्रका मान्छेहरूले यो कामलाई चर्चाको लोभ भने। तर, यो कुरामा उनी स्पष्ट रहेको बताउँछन् उनी।

'सबैको आ-आफ्नो काम गर्ने तरिका हुन्छ। मैले देश-विदेशका नेपालीको अभिनय कलालाई बाहिर ल्याउन ओपन अडिसन गरेको हुँ', उनले सुनाए, 'प्रेम गीत ३ का लागि २७१४ जनाले फरम भरेका थिए। जहाँबाट २५ जना छानिएका छन्।

सेनका अनुसार छानिएका २५ जना सुन्दर र  क्षमतावान छन्। चलचित्रको कथा अनुसार पात्र मिल्ने नायिका छानिएको छ। अब प्रेम गीत-३ मा क्रिष्टिना गुरुङले मुख्य कलाकारकारुपमा अभिनय गर्नेछिन्। उनी भन्छन्, 'चलचित्रमा अभिनय गर्न शारीरिक बनावट मात्र होइन, पात्रलाई मिल्ने कलाकारको चयन पनि प्रमुख हो।'

सफल निर्माताको छवि

सुरुमै सेन बोलिहाले, 'चलचित्रबाट नाफा कमाउन कथा, प्रमोशन र इमान्दारी आवश्यक छ।' यसैलाई उनले आफ्नो विशेषता ठानेका छन्। प्रविधिको विकासले मात्र चलचित्र क्षेत्रलाई पनि टेवा पुगेको छ।

चलचित्रको सम्पूर्ण काम प्रविधिको आडमा सहज भएका छन्। चलचित्रमा प्राविधिक पाटोको अहम भूमिका भए पनि चलचित्रका आधारभूत आवश्यकता भने व्यक्ति केन्द्रित हुने बताउँछन् सेन।

उनी भन्छन्, 'पहिले कलाकारहरू महिनौँ मिहिनेत गर्थे। तर, अहिले प्रविधिले यति सहज बनाइदिएको छ कि कलाकारमा मिहिनेत गर्ने बानी नै गयो।' यो त एउटा पक्ष हो। चलचित्रको नेतृत्वकर्ता निर्माता-निर्देशकले पनि इमान्दारी देखाउन जरुरी छ। नेपाली चलचित्रमा पारिश्रमिक बेलैमा नदिने, निर्देशक-निर्माताले कलाकारलाई हेप्‍ने, कलाकारले अग्रजको सम्मान नगर्ने र जुनियरलाई सहयोग नगर्ने  जस्ता समस्या हट्नुपर्ने उनी बताउँछन्।

'जबसम्म हामी हरेक कुराले सम्पन्‍न हुदैनौँ, तबसम्म कुनै पनि क्षेत्र सम्पन्‍न हुँदैन', उनी भन्छन्, 'झन् चलचित्र क्षेत्रका हरेक काम पारदर्शी हुनु जरुरी छ। चलचित्र क्षेत्रका हरेक मान्छे सफल बन्‍न इमान्दार र लगनशील हुनुपर्छ।'

सोचाई बदलौँ

देशमा राजनीतिक परिवर्तन भए। परिवर्तनका केही अंश चलचित्रमा पनि देखियो। चलचित्रको ट्रेण्ड बदलियो। चलचित्रमा फरकफरक विषयवस्तु, फरकफरक स्वाद दिन थालियो। चलचित्रमा आञ्चलिकताको प्रयोगले विभिन्‍न भाषाको संरक्षणमा टेवा पुगिरहेको छ। नेपाली चलचित्रमा क्षमतावान कलाकार छन्।

उनीहरूको लगनशीलता र इमान्दारीको कदर गर्नुपर्छ। सबै कुरा सुखद हुँदाहुँदै पनि रंग दुनियाँलाई हेर्ने आमदृष्टि भने फेरिन सकेन। चलचित्र क्षेत्रमा आबद्ध परिवारका सदस्यमा पनि यो समस्या उस्तै छ। 

यो समस्या आफ्नै परिवारमासमेत रहेको सेन बताउँछन्। उनको परिवारमा पनि रंग दुनियाँलाई उचित मान्दैनन्। तर, सेनले परिवारलाई चलचित्र क्षेत्र कुरूप छैन भनी प्रमाणित गर्न संघर्ष गरिरहेको बताए। उनी भन्छन्, 'चलचित्र क्षेत्र कुरूप छैन भन्‍न प्रमाणित गर्न पनि संघर्ष जारी छ।'  सुधारको कदम आफूबाट चाले एक दिन अवश्य सफल हुन्छ। उनी आशावादी देखिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.