यस वर्ष पनि डुंगाकै भर

|

रौतहट : ठेक्का सम्झौता परेको २ वर्ष बित्दा पनि निर्माण कम्पनीले अझै पनि पुलको काम अधुरै राखेको छ। रौतहटको गौर नगरपालिका र इशनाथ नगरपालिका बीचमा पर्ने लाल बकैया नदीमा यो वर्ष पनि निर्माणाधीन पुल अधुरै रहेको हो।

गत भदौ ९ गते सोही ठाउमा डुंगा पल्टिँदा ५ जनाको ज्यान गएपछि पुल निर्माण कार्य यसै वर्ष सकिने ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सनले प्रतिबद्धता जनाएको भएता पनि काम भने अधुरै रहेको छ। लाल बकैया नदीमा निर्माणाधिन पुल अलपत्र अवस्थामा रहदा यसपाली यममा स्थानीय बासिन्दाहरू जोखिमपूर्ण डुंगाकै भरमा वारिपारि बाध्य भएका छन। 

२०७१ असार २९ गते १४ करोड ९३ लाखमा पप्पु कन्ट्रक्सनले ठेक्का सकार गरेर २०७४ साल असार २५ गते भित्र निर्माण कार्य पुरा गर्न लिखित सम्झौता तात्कालीन संचालक हरिनारायण रौनियारले गरेका थिए। पक्की पुल बनाउने लिखित सम्झौता गरेर निर्माण कार्य सुरु गरे पनि तीन वर्षको कार्य पाँच वर्ष वितिसक्दा पनि अहिले सम्म पुलको कार्य ५० प्रतिशतसम्म मात्रै भएको गौर नगरपालिका ४ का अध्यक्ष भुनेश्वर कुमार साहले बताए। 

गौर नगरपालिका र इशनाथ नगरपालिकाका बासिन्दालाई सहज रुपमा सदरमुकाम गौरसम्म आउनका लागि गौर नगरपालिका ४ टिकुलियाघाटमा पुल निर्माण थालनी गरिएको थियो। लाल बकैया नदीमा विगत पाँच वर्षदेखि पप्पु कन्ट्रक्सनद्बारा निर्माणाधीन पुलले गति नलिँदा यसपालीको वर्षा याममा जोखिमपूर्ण डुंगाकै भरमा वारिपारि गर्नु पर्ने अवस्था आएको वाड अध्यक्ष साहले बताए।  

पप्पु कन्ट्रक्सनद्धारा निर्धारित समयमा पुलको निर्माण कार्य पूरा नगर्दा गत वर्षको भदौं ९ गते डुंगा दुर्घटनमा परेर ५ जनाको ज्यान गएकाे थियाे। पुलको अभावमा खोला पारी रहेका खेतमा खेती किसानी गर्ने क्रममा डुंगाकै सहारामा वारिपारि गर्न बाध्यता रहँदा सोही क्रममा डुंगा पुलको पिलरमा ठोक्किएर डुंगा र्दुघटना भएको थियो।

दुर्घटनामा पाँच जनाको ज्यान गए पनि न कन्ट्रक्सन पाठ सिके नत राज्यले त्यतिकै अलपत्र अवस्थामा पुल रहँदा स्थानीयको चिन्ता हुनु स्वाभाविकै रहेको वाड अध्यक्ष साहले बताए। कार्य सम्पन्न हुँदा सडक डिभिजन कार्यालयबाट ५ करोड रुपैयाँ भुक्तानी लगेको देखिन्छ। तर समयमा उक्त पुल निर्माण नहुँदा वारिपारि गर्ने स्थानीय बासिन्दा बाध्यताबस डुंगाको सवारी गर्नुपर्दा दुर्घटना भएकोमा सोका सम्पूर्ण दोषी पप्पु कन्ट्रक्सन नै रहेको वडाध्यक्ष साहले आरोप लगाए।

तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाद्बारा शिलान्यास गरेको सो पुल निर्धारित समयमा पुरा गर्न निर्देशन दिदै गौरबाट सिमावर्ती पश्चिमी क्षेत्रलाई जोड्न एक मात्र सडकमा पर्ने नदीमा निर्माण हुन लाग्दा स्थानीय बासिन्दा त्यस वेला निकै हर्षित थिए। तर गत भर्दौ ९ गते साँझ डुंगामा बसेर खोला तर्ने क्रममा पानीको भेलमा परेर निर्माणाधीन पुलको पिलरमा ठोक्किएर दुर्घटना हुँदा चार महिला सहित ५ जनाको मृत्यु भएको थियो।

सडक डिभिजन कार्यालय चन्द्रपुरबाट पटक पटक सम्बद्ध निर्माण कम्पनीलाई पत्राचार गर्दा समेत पुल बनाउने गति नलिएको सो कार्यालयका डिभिजन प्रमुख दरोगा साहले बताएका छन।

२०७५ असार मसान्त पछि म्याद पनि थपिएको छैन, म्याद थप गर्नका लागि पप्पु कन्ट्रक्सनले पत्र हामीलाई दिए पनि पुल आवश्यक कारवाही गर्न क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालयमा पत्र पठाइएको जानकारी दिँदै प्रमुख साहले निर्धारित समय भन्दा निकै समय वितिसक्दा समेत निर्माण कार्य पूरा गर्नेतर्फ प्रतिबद्धता जनाए पनि सो अनुसारको काम नगर्दा पुल अलपत्र अवस्थामा रहेको गुनासो गरे।

सदरमुकाम गौरबाट इशनाथ, राजपुर र परोहा नगरपालिकाको गाउँतर्फ जानका लागि स्थानीय यात्रु एवं खोलापारि खेती किसानी गर्नेहरू बर्षा याममा डुंगाको सवारी एवं हिउद याममा बासको लचकाको भर पर्नु परेको स्थानीय राजकुमार ठाकुरले बताए। 

२०७४ असारमा पुलको म्याद सकिए पछि एक वर्षको म्याद थप गरियो तर २०७५ असार पछि म्याद थप नहुँदा पुलको काम पनि भएको छैन। निर्माण कन्ट्रक्सनको चरम लापरवाहीका कारण निर्धारित समयमा पुल निर्माण हुन नसकेको सोही कारणबाट डुंगा दुर्घटनामा परी अनाहकमा पाँच जनाको ज्यान जाँदा समेत नेपाल सरकार गम्भीर नभएको ठाकुरले आक्रोस व्यक्त गरे। 

२०७५ भदौं ९ गते साँझ डुंगा दुर्घटनामा परी गौर नगरपालिका ४ की ४५ वर्षीया इन्दुदेवी पटेल, ६४ वर्षीया शान्तिदेवी साह, १० वर्षीया उष्मा कुमारी पटेल, सहचालक ओमप्रकाश चन्द्रवंशी र इशनाथ नगरपालिका औरैयाकी ४५ वर्षीया रुनादेवी पटेलको ज्यान गएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.