|
च्यतिएको टेन्डर

नवलपरासी : गत असार ५ गते दिउँसो २ बजेका लागि बर्दघाट नगरपालिकाले विभिन्न ६ विकास योजनाका लागि आव्हान गरिएको शिलबन्दी बोलपत्र खोल्ने तयारी गरिँदै थियो। त्यसको २ घण्टा अगाडि अर्थान् १२ बजेतिर कार्यालयमै प्रवेश गरेर एक युवकले टेण्डरका फाइल च्यातिदिए।

ती युवाले योजना प्रमुख पुस्कर काफ्ले टेन्डरका फाइलको काम अगाडि बढाउँदै गर्दा उनको हातमा रहेका फाइल खोसेर र बाँकी फाइल टेवल मूनिबाट झिकेर धमाधम च्यातिदिए र उनी नगरपालिका कार्यालयबाट बाहिरिए।

नत पालिकाका कर्मचारीले फाइल बचाउने प्रयास गरे नत फाइल च्यात्ने युवकलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडि बढाउन सक्यो। फाइल च्यातेका युवक निर्धक्क नगरपालिका परिसरबाट बाहिरिएको कार्यालयमा आएका सेवाग्राहीले समेत देखेका थिए।

युवकले नगरपालिकाको योजना शाखामा जे जति हर्कत गरे सबै सिसिटिभिमा रेकर्ड भएको थियो। घटनालगत्तै नगर प्रमुखको कार्यकक्षमा सिसिटिभिको भिडियो हेरियो त्यहाँ फाइल च्यात्ने युवकको अनुहार प्रष्ट देखिएको थियो।

तर, सिसिटिभी हेरिसकेपछि पनि नगरपालिकाले व्यक्तिको नाम किटान गरेर उल्लेख गर्न सकेन। टेण्डरको फाइल च्यातिएपछि आक्रोशित बनेका केही टेण्डर पेस गरेका कम्पनी र सप्लायर्सका संचालकले कर्मचारीकै मिलेमोतोमा फाइल च्यातिएको आशंका व्यक्त गरे।

टेण्डर फाइल च्यातिएपछि नगरपालिकामा पुगेको ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले घटनास्थलको मुचुल्का तयार पार्ने काम गर्‍यो। नगरपालिकाको आकस्मिक बैठक बस्यो र युवकको नाम उल्लेख नगरी सिसिटिभी फुटेज इलाका प्रहरी कार्यालय बर्दघाटलाई बुझाएर दोषीको खोजी गरी कारबाही गर्नका लागि पत्राचार गरियो। बैठकले च्यातिएका टेण्डर रद्ध गर्ने निर्णयसमेत गर्‍यो।

सिसिटिभि फुटेज अध्ययन गरेर ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले टेण्डर च्यात्ने कार्यमा दोषी रहेको भन्दै असार १० गते बर्दघाट नगरपालिका-४ बर्दघाट बजार बस्ने सविन थापा क्षेत्रीलाई आफ्नै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठायो।

पक्राउ परेका क्षेत्रीलाई कार्यालयमा कर्मचारीलाई अभद्र व्यवहारअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी कारबाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरिक्षक लालमणी आचार्यले जानकारी गराए।

च्यातिएको टेन्डर


असार १० गते पक्राउ परेका क्षेत्री १३ गते जिल्ला प्रशासन कार्यालयमा १० हजार धरौटी तिरेर रिहा भएका छन्। क्षेत्री रिहा भए पनि मुद्दा प्रकृया भने जारी रहेको प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद मरासीनीले बताए। मुद्दा प्रकृयामै रहेकोले यस विषयमा थप बोल्न नमिल्ने भन्दै प्रमुख जिल्ला अधिकारी मरासिनीले दोषी ठहर भए कानुनबमोजिम कारबाहीको भागिदार हुने बताए।

नगरपालिकाको टेण्डर च्यातिएपछि ५ वटा योजना यो आर्थिक वर्षमा सम्पन्न हुने सम्भावना टरेको छ। योजना शाखा प्रमुख काफ्लेले ५ वटा टेण्डर च्यातिएर रद्द हुँदा १ करोड ३२ लाख ९७ हजार ६२ रुपैयाँ १२ पैसा बराबरको रकम फ्रिज हुने बताए।

रद्द भएका योजनामा सिसहानिया चिसापानी सडक कालोपत्रे, स्थानीय पूर्वाधार सामुदायिक कार्यक्रम अन्तर्गतको ३२ लाख ५४ हजार ४ सय ९६, वडा नम्बर १४ र ७ को बोर्डरदेखि माकर हेल्थ पोष्टसम्मको बाटो कालोपत्रे, प्रदेश समपूरक पूवार्धार विकासअन्तर्गतको १९ लाख ६९ हजार ७ सय २९ रुपैयाँ ६३ पैसा, हुलाकी बाटो जमुनिया बजारदेखि १३ नम्बर वडा कार्यालय जाने बाटो कालोपत्रे, प्रदेश समपूरक पूर्वाधार विकासअन्तर्गतको  ३० लाख २३ हजार ३ सय ७९ रुपैया ५ पैसा रहेको छ।

त्यसैगरी, जमुनिया लेवडा कालोपत्रे सडक वार्षिक योजना पूर्वाधार विकास कार्यक्रम अनुदान अन्तर्गतको २७ लाख ८७ हजार ५ सय ४६ र समर्सिवल पाइप खरिद तथा जडान वार्षिक योजना आर्थिक विकासअन्तर्गतको २२ लाख ६१ हजार ९ सय ११ रुपैयाँ ४४ पैसा रहेका छन्। टेण्डर रद्द हुँदा पुनः टेण्डर प्रकाशन गर्न र प्रकृयामा लैजाने समय नभएकोले फ्रिज हुने देखिएको उनले बताए।


सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.