|

काठमा‌‌डौं : आईसीसी टी—ट्वेन्टी विश्वकप क्रिकेटको एसिया फाइनलका लागि नेपाली टोलीको घोषणा गरिएको छ। कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको  हो।

नेपाली टोलीमा कप्तान पारससहीत अविनास बोहरा, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित नारायण राजबंशी, पवन शर्राफ, प्रदीप ऐरी, रोहीत कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी रहेका छन्। कुशल भुर्तेल, जितेन्द्र मुखीया, सुशन भारी र मोहम्मद आरिफ शेख बैकल्पिक खेलाडीको सूचिमा रहेका छन्।

आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट कमिटीले बन्द प्रशिक्षणमा रहेका २५ जना खेलाडीबाट १४ जनाको टोली तयार पारेको हो। नेपाली टोलीले सिंगापुर पुग्नुअघि मलेसिया विरुद्ध दुई वटा टी—ट्वेन्टी म्याच खेल्नेछ। जुलाई ९ मा मलेसिया प्रस्थान गर्ने नेपाली टोलीले जुलाई १३ र १४ मा किनरारा ओभल मैदानमा मलेसिया विरुद्ध खेल्नेछ।

नेपाली टोली त्यतैबाट जुलाई २० मा मलेसिया प्रस्थान गर्नेछ। आईसीसी टी—ट्वेन्टी विश्वकप क्रिकेटको एसिया फाइनल सिंगापुरमा जुलाई २२ देखि २८ तारिखसम्म हुनेछ। यसलाई सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा लिईएको छ। एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन्।

नेपालले जुलाई २३ मा कतारविरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्नेछ। यस्तैगरी दोस्रो खेल मलेसियासंग जुलाई २४ मा कुवेतविरुद्ध जुलाई २७ मा र सिंगापुरविरुद्ध जुलाई २८ मा खेल्नेछ। प्रतियोगिताको शिर्ष स्थानमा रहने टोलीले विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.