महानगर प्रमुख चिरीबाबु भन्छन्- अनुमतिबिनाको उद्योग भत्काउँछौँ

|

काठमाडौं : आदर्श निर्माण कम्पनीले कीर्तिपुरका लागि उद्योग सञ्‍चालनको अनुमति लिएर ललितपुर बागडोलको मल पोखरीमा उद्योग सञ्चालन गर्न लागेको पाइएको छ।

कम्पनीले सरकारले अनुमति दिएको स्थान छाडेर ललितपुरमा उद्योग सञ्चालन गर्न लागेको हो। आदर्श निर्माण कम्पनीले सडक पिच गर्नका लागि अलकत्र पकाउनेदेखि गिट्टी बालुवासम्मको काम गर्नेगरी कीर्तिपुरका लागि अनुमति लिएको छ।

आदर्श निर्माण कम्पनीका सञ्चालक हरिप्रसाद पाण्डेले ललितपुरको बागडोल क्षेत्रमै उद्योग सञ्चालन गर्न पाऊँ भनी सर्वोच्च अदालतमा रिट हालेका थिए। उक्त रिट अदालतले खारेज गरिसकेको छ।

त्यस्तै, उद्योग विभाग अनुमति दर्ता शाखाको चलानी नम्बर १३७८ को पत्रमा 'उद्योगले दर्ता प्रमाणपत्रमा तोकिएका सर्तहरू उल्लंघन गरेको देखिँदा औद्योगिक व्यवसाय ऐन २०४९ को दफा २५ बमोजिम कारबाहीका लागि उद्योग मन्त्रालयलाई सिफारिस' गरिसकेको छ। 

 

असार १५ गते आइतबार बागडोल क्षेत्रका स्थानीयले अनुमति लिएकै स्थानमा मात्र उद्योग सञ्चालन गर्न गराउन भनी महानगर प्रमुख चिरीबाबु महर्जनलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

अनुमतिबिनाका स्थानमा उद्योग सञ्चालन गर्न नदिने ललितपुर महानगरपालिकाले जनाएको छ। उद्योग सञ्चालन भएको थाहा पाउनेबित्तिकै त्यसलाई हटाइने महानगर प्रमुख महर्जनको भनाइ छ। 'अनुमति नदिएको स्थानमा कसैले उद्योग चलाउँछ भने महानगरलाई भत्काउने अधिकारसमेत छ' महानगर प्रमुख महर्जनले भने। 

निर्माणाधीन उद्योग सञ्चालन भएमा जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने उनको भनाइ छ। उनले भने, 'नेपाल सरकार जनताको स्वास्थ्यलाई असर गर्ने खालको उद्योग सञ्चालनको लागि अनुमति नदिनुहोस्',  उनले थपे, 'वातावरणलाई प्रतिकूल असर पार्ने उद्योग चलाउनको सरकारले लवी नगरोस्।'

कीर्तिपुरको अनुमतिले ललितपुरमा उद्योग चलाउन दिँदैनौँ

नेपाल सरकारले उद्योग चलाउन अनुमति दिए पनि महानगरले यस स्थानमा उद्योग चलाउन नदिने महर्जनले बताए। उनले भने,' उद्योग चलाउन जहाँ अनुमति पाएको हो त्यहीँ जावस् त्यसमा महानगरले केही अवरोध गर्दैन,' उनले थपे, 'कीर्तिपुरमा अनुमति लिएर ललितपुरमा उद्योग चलाउन दिँदैनौँ।' 

स्थानीयले पटकपटक यहाँ उद्योग सञ्चालन नगर्न सुझाव दिँदा दिँदै पनि कम्पनीले जबरजस्ती उद्योग सञ्चालन गर्न लागेको शीतलबस्ती विकास समाजका अध्यक्ष प्रेमबहादुर छन्त्यालले बताए। उनले भने, 'उद्योग सञ्चालनले वातावरणमा र टोलवासीको स्वास्थ्यमा असर परेको छ।'

विरोध हुँदाहुँदै पनि कम्पनीले जबरजस्ती तरिकाले उद्योग सञ्‍चालन गर्न खोजे टोलवासी प्रतिकारमा उत्रिने पनि उनले बताए। कम्पनीले निजी जग्गाभन्दा उत्तरपट्टिको पोखरीको जग्गा अधिग्रहण गरेको उनको भनाइ छ।

आदर्श निर्माण कम्पनी सञ्चाल हुन थालेपछि कम्पनीका कारण धुलो धुवाँका कारण आफू बिरामी भएर चार महिना अस्पताल बस्‍नुपरेको स्थानीय बलरामप्रसाद शर्माले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.