|

भक्तपुर : असार १५ तथा राष्ट्रिय धान दिवसको अवसरमा आइतबार भक्तपुरका स–साना विद्यार्थीले रोपाइँ गरेका छन्। भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इङ्गलिस स्कुलका स– कक्षा ४ का विद्यार्थी नियमित पढाइ छाडेर दिनभर रोपाइँमा व्यस्त भएका हुन्। रोपाइँमा एक सय ८ जना विद्यार्थी सहभागी भएको विद्यालयले जनाएको छ।

कमजोर मनसुनका कारण पर्याप्त वर्षा नभएपछि एभरेष्टका विद्यार्थीले मेशिनबाट पानी तानेर रोपाइँ गरेका हुन्। उनीले स्कुल नजिकैको खेतमा बिहानदेखि दिनभर शिक्षक शिक्षिकाको सहयोगमा रोपाइँ गरेका थिए।

यसअघि ती विद्यार्थीले नै रोपाइँका लागि आवश्यक धानको बिउ राखेका थिए। धान गोड्ने, काटने, झार्नेदेखि भित्राउने सबै उनीहरूले नै गर्ने स्कुलले जनाएको छ।

स्कुलकी शिक्षिका एवं धान रोपाइँ कार्यक्रमकी संयोजक कविता पौडेलले रोपाइँका विविध पक्षका बारेमा विद्यार्थीलाई यसअघि कक्षा कोठामा सैद्धान्तिक ज्ञान दिएको बताइन्। उनले भनिन्, ‘धान रोप्ने प्रक्रिया, तरिका, त्यसमा प्रयोग हुने सामानलगायतका विषयमा कक्षामा यसअघिका दिनहरुमा नै जानकारी दिएका थियौं।’  धान रोप्न विद्यार्थी कोदालो, डाँटेलगायतका सामग्री लिएर खेतमा गएका थिए। 

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुले जीवनमै जीवनका विविध पक्षकाबारेमा व्यवहारिक ज्ञान दिन प्रत्येक वर्ष असार १५ का दिन रोपाइँ कार्यक्रम गर्दै आएको जानकारी दिए। खेती किसानबारे बुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष कक्षा चारका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँदै आएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.