बाहिर आए जस्तो सबै बिग्रिसकेको छैन

|

काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी आइतबार डाकिएको छ। पहिलो चरणको जागरण अभियानको प्रतिवेदन बुझ्‍ने, भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन, अवधि सकिएका भ्रातृसंस्थाको समय थप्ने, तत्कालीन विजयकुमार गच्छदार पार्टीसँग भएको एकताको बाँकी काम टुंग्याउनेलगायतका एजेन्डामा छलफल गर्न कांग्रेसको बैठक बस्‍न लागेको हो।

केन्द्रीय समिति बैठकको मिति तय भएपछि कांग्रेसभित्र गुटगत छलफल तीव्र भएको छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला छलफल तथा भेटघाट तीव्र पारेका हुन्। शीर्ष नेताहरू आफूमा शक्ति केन्द्रित गर्नमै व्यस्त छन्।

सभापति देउवाले सातवटा प्रदेश समिति गठनका लागि भागबन्डाको प्रस्ताव गरेको भन्दै पौडेल-सिटौलापक्ष सशंकित बनेको चर्चा छ। यसबीचमा कांग्रेसले विज्ञप्ति नै निकालेर त्यस्तो आशंका नगर्न आग्रह गरेको छ। कांग्रेसको विधानको धारा ७२ को ४ ले पार्टी संगठनको अन्तरिम व्यवस्थाबारे प्रस्ट व्याख्या गरेकको भन्दै आशंका नगर्न आग्रह गरिएको हो।

कांग्रेसको पछिल्लो समयको भद्रगोल, गुटगत राजनीति र आसन्‍न केन्द्रीय समिति बैठकबारे थाहा सञ्चार नेटवर्कका लागि केशव घिमिरेले कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेसँग गरेको कुराकानी :

कांग्रेसभित्र भद्रगोल के हो?
केही व्यवस्थापकीय कमजोरी छन् भन्‍ने देखिएकै छ। यो कुरा पार्टी नेतृत्वले पनि स्वीकार गरेको छ। हामी सबैले स्वीकार गरेका छौं। तर, जसरी सञ्चारमाध्यममा आयो, त्यस्तो भद्रगोल र लथालिङ्ग छैन। केही बढाइँचढाइँ भएको देखिन्छ।

विधानअनुसार नचलेको पार्टीलाई भद्रगोल नभनेर के भन्‍ने?
चुनावमा भोगेको पराजयपछि पार्टी भित्र निराशा छाएको थियो। पार्टीमा केही कमजोरी छन्। जसलाई हामीले सुधार्नुपर्ने छ। विधानअनुसार नचल्नु कमजोरी हो नै। तर, भद्रगोल भन्‍ने शब्द थेग्‍न नसक्ने खालको हुन्छ कि! धेरै निराश र आतंकित हुने स्थिति छैन।

जब पार्टीमा बैठक बस्‍ने चर्चा हुन्छ तब विवाद बाहिर आउँछन् किन?
यो स्वभाविक हो। मान्छेको चासो पनि यही बेला बढेको हुन्छ। कस्ता एजेण्डा आउँछन्? पार्टी कसरी अगाडि बढ्छ। अबको रणनीति के लिन्छ भनेर आउने चासोलाई नकारात्मक रुपमा लिनु हुँदैन।

शक्ति आफूमा केन्द्रित गर्न गुट-उपगुट चलमलाए भन्‍ने बुझ्दा हुन्छ?
यो गुट नामेट नै हुने भन्‍ने हुँदैन। पार्टीमा व्यक्ति भन्दामाथि स्वभाविक रुपमा गुट हुने नै भए। तर, त्यो भन्दामाथि पार्टी छ। गुटउपगुट पनि पार्टीकै हितका लागि हुनुपर्छ। गुटउपगुट वा व्यक्ति जे भने पनि हामी सबै पार्टीको मिसनभित्र पर्नुपर्छ। राष्ट्रिय राजनीतिमा हामी कुनै क्षेत्रमा पनि बहुमतमा छैनौं। यस्तो अवस्थामा गुटले हिस्सा पाउने भन्‍ने भएन। पार्टी कमजोर भएको अवस्थामा गुट बनाएर पार्टीलाई झन् कमजोर बनाउनु हुँदैन।

पार्टी कमजोर भएको बेला गुटगत राजनीति सक्रिय हुन्छ भन्‍न खोज्‍नु भएको हो?
बाहिरी परिवेश हेर्दा यस्तै देखिन्छ। क्षति बेहोरेको परिवारमा जसरी कोलाहल हुन्छ। निर्वाचनमा हारपछि कांग्रेसमा पनि त्यस्तै स्थिति सिर्जना भएको हो। यहाँ पनि एकअर्कालाई दोषी देखाउन खोजियो। कांग्रेसमा पनि कोलाहल बढ्यो। त्यो कोलाहललाई नियन्त्रण गरी, समीक्षामा गरेर शक्तिमा बदलेर हामीले अघि बढ्नुपर्ने थियो। तर, छिटो हुन सकेन। बैठक बस्नै सकेनन्। हामीले ढिलो गर्दा समस्या झन् बल्झिएको हो। नियमावली बन्दैछ। नियमावली बनेपछि पार्टी आन्तरिक र सांठनिक रुपमा सुदृढ र बलियो बनेर जानेछ। अब बस्‍ने केन्द्रीय समितिको बैठकले समस्याको समाधान निकाल्नेछ। 

यसअघि पनि विधान त थियो। तर, पार्टी विधानअनुसार किन नचलेको?
कांग्रेस विधानअनुसार नचलेकै हो। विधान उलंघन भएकै छ। मैले ढाँटे पनि बाहिर यो छर्लङ्ग छ। दुनियाँले पत्याउँदैन। हामीले महासमितिबाट विधान बनाएका छौं। महासमितिबाट समयसापेक्ष बनेको विधानलाई पनि हामीले कुनै कारण देखाएर उल्लंघन गर्दै कार्यान्वयन गरेनौँ भने फेरि हिजोकै क्रियाकलाप दोहोरिन्छन्। 

यसले पार्टीलाई ठीक ठाउँमा पुर्‍याउँदैन। पार्टीको आन्तरिक लोकतन्त्र पनि बलियो हुँदैन। पार्टीलाई संस्थागत हिसाबले अगाडि बढाउन सकिँदैन। हाम्रो 'फोकस' भनेको भर्खरै बनेको विधानलाई अक्षरस: कार्यान्वयनमा केन्द्रित हुनुपर्छ।

विधान कार्यान्वयन नहुनुमा गुटगत राजनीति जिम्मेवार छ?
एकातर्फ विधान कार्यान्वयमा ढिलाइ भए गुटगत राजनीति मौलाउँछ भने अर्कोतर्फ गुटगत राजनीतिले पनि विधान कार्यान्वयनमा समस्या सिर्जना गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.