|

काठमाडौं : शैली थिएटरले द्वन्द्वपीडितहरूको अवस्थालाई चित्रण गर्ने नाटक 'अझै दुख्छ घाउ' मञ्चन गरेको छ। महिला, कानुन र विकास मञ्चले आयोजन गरेको फोटो प्रदर्शनीको उद्घाटन समारोहमा नाटक मञ्चन गरिएको हो।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको पाँच दिनसम्म चल्ने यो कार्यक्रममा नाटक मञ्चनसँगै द्वन्द्व र द्वन्द्व पीडितबारे फोटो प्रदर्शनी, वृतचित्र प्रर्दशन र छलफल चलाइनेछ।

नाटकको कथा नाटकमा राधिका (प्रियंका चौधरी) र उसका बाबु लोकबहादुर (देबेन्द्र बब्लु) कुनै गाउँमा सरल जीवन बाँचिरहेका हुन्छन्। देशमा द्वन्द्व चलिरहेको बेला गाउँमा बस्न गाह्रो हुन्छ। सामाजिक काम गर्न लोकबहादुरलाई गाह्रो पर्छ। उसलाई चन्दा नदिएको नाममा पटकपटक धम्की दिने काम हुन्छ। राधिका पनि स्कुल जान पाउँदिनन्, उसका साथीहरूलाई कार्यक्रममा लगेको नाममा जङ्गल लगेर बन्धुक बोक्न लगाइन्छ।

ऊ भागेर बाँच्छे। यता, उसको बाबु लोकप्रसादलाई भने भौतिक कारबाही गरिन्छ। बाबुलाई खोज्ने क्रममा राधिकालाई प्रशासनले समात्छ र बाबुले बिद्रोहीलाई सहयोग गरेको नाममा जेलमा राखिन्छ। जेलमा उनलाई पटकपटक बलात्कार गरिन्छ। उनको अवस्था कवितामार्फत प्रस्तुत गरिएको छ। केही वर्षपछि देशमा शान्ति स्थापना भएपछि बाबु छोरीको भेट हुन्छ।

बाबुका दुवै खुट्टा काम नगर्ने अवस्थामा बैसाखी टेक्दै आउँछन् भने छोरी राधिका अर्धहोसमा हुन्छिन्। उनीहरू न्याय माग्दै विभिन्न कार्यलय धाउँछन्। अन्त्यमा जब द्वन्द्व व्यवस्थापन आयोगको अध्यक्ष (करिष्मा केसी) सँग भेट हुन्छ। उनले सहयोग गर्ने वाचा गर्दै भन्छिन्, 'किन चुप लागेकी राधिका, मनको कुरा खोल।' मौन रहेकी राधिका झस्कन्छिन् अनि राधिका बेहोस अवस्थामा भन्छिन्, 'म खोल्दिनँ। अब खोल्दिनँ मेरा कपडा। मैले भनेँ त मसँग बम छैन भनेर।'

नाटकले द्वन्द्वका क्रममा मानसिक सन्तुलन गुमाएकी राधिका र तहसनहस भएको उनको परिवारको पीडालाई प्रस्तुत गरेको छ। शैली थिएटरका कार्यक्रम संयोजक नारायण न्यौपानेको लेखन तथा निर्देशनमा तयार गरिएको यस नाटकमा प्रियंका चौधरी, देबेन्द्र बब्लु, सुवास सुवेदी, रोविन तामाङ, करिश्मा केसी, सुरन्जन शर्मा, राज सुवेदी, निर्भिक भट्टराई, रूपक काफ्ले, प्रकृष्ट रेग्मीले अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.